• २०८१ कातिर्क २४ शनिवार

भीमदर्शन रोका स्मृति सम्मान घोषणा

भीमदर्शन रोका स्मृति कोषले विभिन्न सम्मानको घोषणा गरेको छ। कोषका अनुसार बालकृष्ण भट्टराई (रूपन्देही), बैकुण्ठनारायण सुवाल (काठमाडौँ) र सामाजिक कार्यमा संलग्न संस्था नेपाल स्नेही काख (ललितपुर) लाई सम्मान गर्ने निर्णय गरेको छ । कोषले बालकृष्ण भट्टराईलाई आदर्श गुरु सम्मान, बैकुण्ठनारायण सुवाललाई भीमदर्शन रोका स्मृति सम्मान र नेपाल स्नेही काखलाई भीमदर्शन रोका समाजसेवा सम्मान समर्पण गर्ने जनाएको छ ।

बालकृष्ण भट्टराई र बैकुण्ठनारायण सुवाललाई उहाँहरूले शिक्षाका क्षेत्रमा गर्नुभएको योगदानका निम्ति र नेपाल स्नेही काखलाई मानसिक सन्तुलन गुमाएका अभिभावकविहीन विशेषतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्याहार, उपचार एवम् आश्रय प्रदान गरी मानवसेवा जस्तो पवित्र कार्यका लागि सम्मान गर्न लागिएको कोषले जनाएको छ । यी तीनै सम्मानमा जनही पचास हजार रुपैयाँ रहेको छ ।

कोषका उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव ई. दीपेन्द्रनाथ शर्माको संयोजकत्वमा गठित अनिलमान महर्जन र ई. बिजेन्द्र पसछें सदस्य रहनुभएको व्यक्तित्व तथा संस्था मूल्याङ्कन समितिको सिफारिसमा सो निर्णय गरिएको कोषले जनाएको छ ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्व विद्यार्थीहरूद्वारा आफ्ना गुरु भीमदर्शन रोकाको सम्मानमा स्थापित कोषले शिक्षा, साहित्य, कला, संस्कृति, समाजसेवा लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । भीमदर्शन रोका नेपाली आधुनिक मुक्तकका प्रवर्तक, लोकप्रिय कवि एवम् आदर्श गुरु हुनुहुन्थयो । यी सम्मान आगामी फागुन ११ गते शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा समर्पण गरिने कोषले जनाएको छ ।