• २०८१ चैत १२ बुधबार

विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’ कथासङ्ग्रह प्रकाशित

काठमाडौँ ।

साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्युु’ प्रकाशित गरिएको छ । कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन् । भण्डारीले कथामार्फत युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् ।

नेपाली युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य मात्र नभएर युद्धपछिको साहित्यमा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युुद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ‘ट्रमा’ र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् ।

चालीसको दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दशकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित भइसकेका छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास हुन् । कथासङ्ग्रह ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो । १९२ पृष्ठ रहेको कृतिको मूल्य ३५० रुपैयाँ राखिएको छ ।