समाचार

भरतपुर, २०८० पुस ।
काभ्रे, पनौती नगरपालिकाका स्रस्टा सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रहझको विमर्श गरिएको छ । अक्षर समूह चितवनले सम्पूर्ण किताब नारायणगढमा शनिबार आयोजना गरेको कार्यक्रममा कृतिमाथि सुरेन्द्र अस्तफल र अविरल यात्रीले समीक्षात्मक टिप्पणी राखेका थिए ।
वक्ता सुरेन्द्र अस्तफलले उनका कथाहरू विविध भावका भएको बताए । जम्मा ११ वटा कथा रहेको यो सङ्ग्रहमा राजनीति, समाज, वैदेशिक रोजगारी र प्रेमजस्ता विषय वस्तु भएको चर्चा गरे । शीर्षक कथा सत्यसग्रह राजनीतिक कथा भएको र त्यसमा २०४२ सालको घटना आएको कुरा गर्दै त्यसमा नारी पात्रलाई केन्द्रमा राखिएको बताए ।
त्यस्तै अर्का वक्ता अविरल यात्रीले ती कथामा स्थानीय रङको प्रयोग भएको बताए । केही पात्र उनलाई अस्वाभाविक लागेको पनि अविरलले बताए । लेखकको भाषा र भावमा पनि सुधार गर्नुपर्ने विचार पोखे । उक्त कार्यक्रममा कथाकारहरू शान्ति शर्मा र टीकाराम रेग्मी, कवि रेशम विरही, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथिका रुपमा रहेका चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले कथाकार सूर्यप्रसाद लाकोजुको लेखन क्षमताका बारेमा थप प्रकाश पारे । त्यस्तै लेखकको मातृभाषा नेवारी भएर पनि नेपाली भाषाको सेवा गरेकोमा प्रशंसा पनि गरे । कार्यक्रममा पनौतीका अर्का स्रष्टा रामसुन्दर देउजाले लेखक सूर्य लाकोजुका बारेमा जानकारी दिएका थिए ।कार्यक्रमको अध्यक्षता अक्षर समूहका सदस्य उदय अधिकारीले गरेका थिए भने सहजीकरण समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए ।