• २०८१ कातिर्क २३ शुक्रबार

राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि २० कविता छनौट

मकवानपुर, असोज ।

प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजना गरिने राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएको छ । उत्कृष्ट २० कविताका साथै कविहरुको समेत नामावली सार्वजनिक गरिएको हो ।

असोज ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिराहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख, भक्तपुर, तनहुँ, काठमाडौँ, धादिङ, रौतहट, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका १÷१, गोरखाका २ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेका प्रदेश युवा परिषद्का कार्यालय प्रमुख शारदाकुमारी मैनालीले जारी गरेको सूचनामा उल्लेख छ ।

उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा– ४ मा हुने प्रतियोगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने छ ।

यसैगरी कविता वाचनको अवसरमा ‘नयाँ पुस्तामा कविता क्रेज’ विषयक बहस कार्यक्रम गरिनेछ । यसका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्र समेत हुने साहित्य संगम मकवानपुर अध्यक्ष डी बी बर्तौलाले बताए । मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू प्रदर्शनीमा राखिने समेत बर्तौलाले जानकारी दिए ।