• २०८१ बैशाख १४ शुक्रबार

लेखक रवीन्द्र माकाजूको सफलताका कथाहरू लोकार्पण

अग्रज साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५ औं कृति सफलताका कथाहरू शनिवार पोखरामा एक समारोहका बिच लोकार्पण गरिएको छ ।कृतिको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले जीवनी लेखनमा सत्य र तथ्यका लागि ध्यान दिनुपर्नेमा जोड दिए । उनले कृति लेखन, प्रकाशन, लोकार्पणलगायतका सन्दर्भ परिवेश र स्थान चयनले पनि जीवनमा सकारात्मक तथा नकरात्मक उर्जाका लागि प्रेरित गर्ने भएकाले त्यसमासमेत ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

शिक्षासेवी प्रा.डा. रामचन्द्र पोखरेलले माकाजूको लेखन विषयको सार्थकता केन्द्रित रहने गरेकोमा आफूलाई खुसी लागेको बताए । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले माकाजूको बहुआयामिकताको स्मरण गर्दै उनलाई होलटाइमर अभियन्ताका रूपमा चिनाए । कृतिका स्रष्टा रवीन्द्र माकाजूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ३१ जना स्रष्टाका सफलताका कथालाई कृतिमा समावेश गरेको बताए । उनले जीवित स्रष्टाको जीवनी लेख्नु भनेको चुनौतीपूर्ण रहे तापनि यसको छुट्टै सुखानुभूति रहेको बताए ।

कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयकी ब्रह्मकुमारी परिणिता, जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, बुद्ध अनुयायी मिन गुरु, अनेसास कास्की संस्थापक उपाध्यक्ष देवेन्द्र के.सी.लगायतले बोलेका थिए ।सोही समारोहबीच लेखक माकाजूले ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयलाई सहयोग हस्तान्तरणसमेत गरेका थिए । अनेसास गण्डकीका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव असफल गौतमले गरेका थिए ।