• २०८१ फागुन ६ मङ्गलबार

हाम्रो स्वाभिमान ट्रस्ट दिल्लीले चार प्रतिभा पुरस्कृत गर्ने

भारतको नयाँ दिल्लीमा सक्रिय नेपाली संस्था हाम्रो स्वाभिमान ट्रस्टले भारतीय नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने चार प्रतिभालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । सो घोषणा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा गरिएको हो ।

ट्रस्टले घोषणा गरेअनुसार राष्ट्रिय नेपाली साहित्य सम्मान धर्मराज थापा (नयाँ दिल्ली) लाई, राष्ट्रिय नेपाली साहित्य पुरस्कार (पत्रकारिता) विष्णुबहादुर गुरुङ (नयाँ दिल्ली), राष्ट्रिय नेपाली साहित्य पुरस्कार पद्य उदय ठाकुर (देहरादून) तथा राष्ट्रिय नेपाली साहित्य पुरस्कार (गद्य) राजु प्रधान (दार्जिलिङ) लाई प्रदान गरिनेछ ।

स्मरणीय छ, हाम्रो स्वाभिमान ट्रस्ट प्रेम क्षेत्री तथा नारायण श्रेष्ठले सुरु गरेका थिए र सन् २०१३ मा दिल्लीमा “भारतीय गोरखाली नेपालीभाषीहरुको आफ्नो भाषा, संस्कृति र कलाप्रति सम्मान गर्न प्रेरित गर्न तथा आपसमा एकता र सद्भावना राख्ने” उद्देश्यसहित दर्ता भएको थियो र त्यसयता निरन्तर नेपाली भाषा–संस्कृतिको क्षेत्रमा विविध काम गर्दै आइरहेको छ ।

विशेष गरी साहित्य, संस्कृतिका क्षेत्रमा भानु जयन्ती, २०१४ देखि टस्ष्टले हरितालिका तीजको दिन नयाँ दिल्लीको टालकटोरा स्टेडियममा भव्य कार्यक्रमको आयोजना गर्दै आएको छ । यी घोषणा गरिएका सम्मानहरू आगामी हरितालिका तीजका दिनको समर्पण गरिने कुरा ट्रस्टका प्रेम क्षेत्रीले बताए ।