• २०८१ भाद्र २४ सोमबार

किराँत लोहोरुङ राई भाषाको पाठ्यपुस्तक लोकार्पण

काठमाडौँ ।

किराँत लोहोरुङ राई भाषाको ‘लोहोरुङ’ कक्षा १ र २ को पाठ्यपुस्तक सार्वजनिक भएको छ । स्थानीय भाषाअन्तर्गत विद्यालय तहमा मातृभाषा पठनपाठनका लागि तयार गरिएको हो । किरात लोहोरुङ राई समाजले काठमाडौंमा आयोजना गरेको समारोहमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बिना लोहोरुङ राई, भाषाशास्त्री तारामणि राई, समाजका अध्यक्ष नइन्द्र लोहरुङ राईले पुस्तक सार्वजनिक गरेका हुन् ।

संखुवासभाको खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाका विभिन्न वडामा लोहोरुङ भाषाको पाठ्यपुस्तक लागू हुनेछ । पछिल्लो तथ्यांकअनुसार लोहोरुङ भाषा बोल्नेको संख्या ३ हजार ८ सय ८४ जना रहेको छ । पाठ्यपुस्तक निर्माण प्राज्ञिक परामर्शदाता भाषाशास्त्री तारामणि राईले शिक्षा मन्त्रालय पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मापदण्डअनुसार तयार पारिएको बताए । समाजका संस्थापक अध्यक्ष डम्मर लोहोरुङ राईले पहिचानको प्रमुख आधार मातृभाषा भएकाले समुदाय जागरुक भएर स्थानीय विद्यालयमा पाठ्यपुस्तकलाई पठनपाठन गर्न सकारात्मक पहल गर्नुपर्ने बताए ।

लोहोरुङ भाषा पाठ्यपुस्तक निर्माण समितिका संयोजक चित्रबहादुर राई र पाठ्यपुस्तकका लेखन दिवस लोहोरुङ राई तथा सम्पादन कार्य मानवशास्त्री सुजीन्द्र लोहोरुङ राई, गजेन्द्र लोहोरुङ राई, सन्तवीर लोहोरुङ राईलगायतले गरेका हुन् ।