• २०८१ भाद्र २५ मङ्गलबार

किन ओरालो लाग्यो नेपाली वामपन्थ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ  (विमल निभा)ले घटनाक्रम जे भएपनि पुरै वामपन्थ ओरालो लागे भन्ने भाष्य सबै अर्थमा नमिल्ने धारणा राख्दै नयाँ ढङ्गले जागृत हुने आशा र अपेक्षा जीवितै रहेको बताउनुभयो । त्यसै गरी संविधान सभासदस्य तथा नेपाल वैकल्पिक अध्ययन समाजका अध्यक्ष हरि रोकाले “किन ओरालो लाग्यो नेपाली वामपन्थ !“ विषयक कार्यपत्र प्रस्तुत गर्दै अनुमानित तथ्य, वामपन्थ र उदारवादको पहिचानमा समस्या भएकाले नै नेपाली वामपन्थ ओरालो लागेको हो भन्नुभयो ।

यस कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले अबको क्रान्ति पुँजीवादका विरुद्ध विज्ञान र प्रविधिलाई आत्मसात् गरेर मात्रै अघि बढ्न सकिने बताउनुभयो । यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नवउदारवादी अर्थनीतिबाट वामपन्थको हित हुँदैन । बरु आर्थिक र नैतिक पक्षमाथि व्यापक बहस गर्दै नयाँनयाँ मुद्दाको संवोधन गर्न सक्ने ज्ञान र उत्पादनको पक्षमा वामपन्थ पुग्न सक्नुपर्छ भन्नुभयो । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य रचना खड्गाले जनवादी केन्द्रीयता भित्र मात्रै सबै समाधान छ भनेर खोज्नु नै वामपन्थ ओरालो लाग्नु हो । उत्पन्न भएका मुद्दालाई जनताबाट अनुमोदित गर्नसके मात्रै वामपन्थको हित हुने बताउनुभयो ।त्यस्तै राजनीतिक विश्लेषक विनोद लोहनीले भूराजनीतिक अवस्था र वस्तुगत परिस्थितिलाई सटीक ढङ्गले विश्लेषण गर्दै वामपन्थलाई प्रशस्त अघि बढाउन सकिने बताउनुभयो ।

लेखक, पूर्व सांसद तथा वैकल्पिक अध्ययन समाजका महासचिव नारायण ढकालले कार्यक्रम सञ्चालन गर्ने क्रममा ओरालो लागेको वामपन्थलाई उकास्न विचार र दृष्टिकोण प्रस्ट पार्दै जनताका चाहना अनुरूप काम गर्नुपर्ने बताउनुभयो ।