समाचार

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना सम्पन्न भएको एक कार्यक्रममा शिक्षासेवी श्री ज्ञानहरि पौडेलको शिक्षासम्बन्धी कृति ‘खूरभूमि ज्ञानचक्षु’को सार्वजनिक गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीको प्रमुख आतिथ्यमा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरिएको थियो ।
पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि श्री अधिकारीले भन्नुभयो- ‘लामो समयसम्म शैक्षिक क्षेत्रमा समर्पित भई आफ्नै नगरपालिकाभित्र बसोबास गरिरहनुभएका श्री पौडेलले प्राप्त गरेका ज्ञान र अनुभवहरुको सँगालो यस कृतिले पक्कै पनि शैक्षिक जगत्मा सकारात्मक प्रभाव पार्नेछ ।’ यसैगरी उपप्रमुख अनिता लामाले पनि शैक्षिक क्षेत्रमा नयाँ जागरण ल्याउन नगरपालिका लागिपरेको यस अवसरमा यस कृतिको महत्व अझ बढी रहने कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा कृति लेखनको अन्तर्वस्तु उल्लेख गर्दै लेखकले ‘शैक्षिक क्षेत्रमा नै आधा शताब्दी काम गरेको र अहिले पनि गरिरहेको हुँदा बाँकी जीवन पनि शैक्षिक क्षेत्रमा लगाउने इच्छा व्यक्त गर्नु भएको थियो । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त लोकार्पण समारोहमा पन्तले भन्नुभयो- खासगरी साहित्यिक कृतिहरु प्रकाशन गर्ने प्रतिष्ठानको परम्परा भए पनि शैक्षिक क्षेत्रका लागि अत्यन्त उपयोगी प्रस्तुत कृति भएकोले प्रकाशन गर्ने निर्णय गरिएको कुरा उल्लेख गर्नुभयो । सो अवसरमा शिक्षा विभाग प्रमुख ललीतविक्रम सिंह, वरिष्ठ पत्रकार श्रीहरि लम्साल र बिन्दु खनालले पनि बोल्नुभएको थियो ।