• २०८१ बैशाख २३ आइतबार

पत्रकार नेपालको पहिलो उपन्यास ‘पीपला’ लोकार्पण

काठमाडौँ ।

शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रममा पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक गरिएको छ । साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा उपन्याास पीपलाको विमोचन गर्नुभएको थियो ।

उपन्यासमाथि टिप्पणी गर्दै उहाँहरूले सरल भाषामा उत्कृष्ट बिम्बको प्रयोगले पुस्तक अब्बल रहेको बताउनुभयो । लेखक नेपालले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेट्नुभएको छ । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त पुस्तक २८ अध्यायसहित २२९ पेजको छ । लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे । पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताए ।