• २०८१ चैत ६ बिहीबार

बुझाई

लता के सी

लता के सी

कत्ति हेप्न सकेकी, म बुढी केही गर्न सक्दिँन भन्ने ठानेकी होली ? आमाको कर्कशासंगै भाउजूको आर्तनादपनि सुनेँ । म माइतीघरको मूल गेटमै पुगेकी थिएँ । महाभारतको रणभूमिमा छिरूँ या फिरूँ ? दोधारमा थिएँ । दाइ बाहिरबाट गेटमै भेटिनु भयो । मेरो अनुहार पढनु भयो र भन्नु भयो, सासूबुहारी सधैँ यस्तै हुन् । हिँड, भित्र जाऔँ ।

आमाले अनुहार उज्यालो पार्नु भयो । मैले लगेको कोसेली खोल्दै भन्नु भयो, लु कान्छी यो स्याउ काटेर ले । भोक लागेको छ । रक्तचाप भएकी बुढी चाडै मरोस् भनेर होला, तेरी भाउजूले तरकारीमा नुन खन्याइछे । म भान्छातिर जाँदै थिएँ, भाउजू दाइसंग भन्दै थिइन्, कि छुट्टै बसौँ कि आमालाई बृद्धाश्रममा राखौँ । अब संगै बस्न सकिन्न । आमा खुसी भएको बेला पारेर सम्झाएँ, आमा, घरकी बुहारीलाई माया र सम्मान दिँदा घरको संस्कार राम्रो बस्ने थियो ।

आमा रनक्क तात्नु भयो, लुगा धोइ भने साबुनै राख्छे । खानेकुरो दिई भने मुखमा हाल्न सकिँदैन । बिरामी भयो कि मार्नलाई दबाई मात्रै ख्वाउछे । चोकमा छिल्लिन चिटिक्क परेर किनमेल जान्छे । यस्ती चण्डाल्नीलाई के को माया ? के को सम्मान ? आमाको बुहारीप्रतिको सोचले म आक्रोसित भएँ र ठूलै स्वरमा भनेँ, आमा एकछिन आएर आमाको अनुहार चाट्ने छोरी के काम ? सधैँ खटने बुहारीलाई छोरी झैँ माया गरे पो सुख हुन्छ ।


लता के सी. तीनकुने , काठमाडौं ।