कही अनकही

काठमाडौं, १० माघ २०७९ ।
साहित्यकार शंकर लामिछानेको ४७ औं स्मृति दिवस मनाइएको छ । शंकर लामिछाने प्रतिष्ठानले मंगलबार बिहान प्रशिद्ध निबन्धकार शंकर लामिछानेको ४७ औं स्मृति दिवसको अवसर पारेर ‘नेपाली निबन्ध साहित्यमा शंकर लामिछाने’ विषयक परिचर्चा कार्यक्रमको आयोजना गर्दै स्मृति दिवस मनाइएको हो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व र डा. रामदयाल राकेशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई प्रमोद प्रधान, श्रीओम श्रेष्ठ रोदन, प्रतीक ढकाल र लामिछानेको परिवारका प्रतिनिधि संगीता शर्माले विशेष सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामदयाल राकेशले साहित्यकार शंकर लामिछाने प्रति श्रद्धानजलि ब्यक्तगर्दै उहाँलाई एकैपटक मात्र देख्न पाएको सुनाउनु भयो । शंकर लामिछानेको बारेमा आफूले अनुसन्धान गरेर लेख तयार गरेको पनि उहाँले बताउनु भयो । नेपाली साहित्यमा लामिछानेको योगदान उल्लेख्य रहेको बताउँदै अहिले साहित्यमा इमान्दारिता नरहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार प्रमोद प्रधानले शंकर लामिछानेको प्रवेशले नेपाली साहित्यमा हराउन लागेको बौद्धिकताको पुनःप्रादुर्भाव भएको बताउनु भयो । व्यक्तिपरक निबन्ध लेखनमा लामिछानेको योगदान उत्कृष्ट रहेको भन्दै प्रधानले मदन पुरस्कार प्राप्तगर्ने पहिलो निबन्ध कृति लामिछानेको ‘एब्स्ट्याक्ट चिन्तन प्याज’ रहेको बताउनु भयो । लामिछानेले थोरै कृति लेखे पनि नेपाली साहित्यमा उत्कृष्ट कृति दिएर ठूलो गुनलगाएको उहाँले बताउनु भयो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पहिलो पटक पढ्दा शंकर लामिछानेका निबन्ध के लेख्याहोला ? भन्ने लाग्ने तर दुई–चार पटक पढेपछि स्पष्ट हुने बताउनु भयो । समाजले साहित्यकारहरुप्रति हेर्ने दृष्टिकोणलाई बदल्ने, लेखेका रचनाको मूल्य तोकेर बेच्ने, महत्वपूर्ण र कलात्मक लेखनमा परिवर्तन ल्याउने काम लामिछानेले गरेको उहाँले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले समाजलाई आधुनिक बनाउने काममा शंकर लामिछानेको भूमिका ठूलो रहेको बताउनु भयो । लामिछानेले निबन्धको माध्यमबाट नेपाली साहित्यमा अर्को सगरमाथा निर्माण गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा थोरै तर विशिष्ट साहित्यकारहरुको सहभागिता रहेको थियो ।साहित्यकार लामिछानेको जन्म वि.सं. १९८४ साल चैत ५ गते भएको थियो भने उनको निधन २०३२ साल माघ १० गते भएको थियो । लामिछानेका एब्स्ट्याक्ट चिन्तन प्याज निबन्धसंग्रह, गौथलीको गुँड कथासंग्रह लगायतका कृति चर्चित छन् । लामिछानेले २०२४ सालमा मदन पुरस्कार पाउनु भएको थियो ।