• २०८१ माघ २७ आइतबार

टेक बलम्पाकीले गाए प्रकाश सुवेदीको गजल

गीतकार प्रकाश सुवेदीको शब्द सृजनामा तयार पारिएको ‘एउटै छानो एउटै मानो गरौँ हुँदैन र’ बोलको गजलको लिरिकल भिडियो यहि पुस २८ गते सृजना र सेरोफेरो Youtube Channel मार्फत सार्वजनिक भएको छ । चर्चित सङगीतकार लक्ष्मण शेषले सङ्गीत भरेको गजलमा टेक बलम्पाकीको स्वर र दिनेश सुनामको सङ्गीत संयोजन रहेको छ ।

ग्रामिण परिवेशमा प्रयोगमा आउने घरयाँसी सामान माना, पाथी, छानो लगाएतलाई बिम्बात्मक रूपमा प्रयोग गर्दै आफ्नी प्रेमिकालाई अनुरोधात्मक शैलीमा अब घरजम गरेर सँगै बसौँ भन्ने भाव सहित आह्वान गरिएको गजलका शब्द अत्यन्तै सरल छन् । गीत र गजलका शब्द र शैलीमा सरलपन र भावपक्ष गहन हुनुपर्छ भन्ने मान्यता राख्ने प्रकाश पछिल्लो समयका चर्चित गीतकार हुन्न् । गजलमा प्रेमले दिलाउने सांसारिक सुखलाई जोड दिँदै नरनारी ढुङ्गा र माटो जस्तै एक अर्काका अभिन्न सहयात्री र संरक्षक हुन्भन्ने खालको भाव समेटिएको छ । गजल मार्फत आखिर प्रेम नै भै सकेपछि लजाउनुको कुनै अर्थ हुँदैन र प्रेम गर्नेहरुले महासागर तर्न सक्नुपर्छ भनिएको छ । सर्रसर्ति सुन्दा निकै सरल र जो सुकैले बुझ्न सक्ने गजलको सन्देश र भाव भने निकै गहन छ । नारायण राजआचार्यले ध्वनि सम्पादन गरेको गजलको लिरिकल भिडियो वल्र्ड कभर मिडियाका सम्पादक लोकेश भाटले तयार पारेका हुन् ।

२०६१ सालदेखि औपचारिक रूपमा गीत लेखन यात्रा थालेका प्रकाशले यस भन्दा अगाडि बालमनोविज्ञान, देशप्रेम, सामाजिक सन्देश, पर्यटन, मायाप्रेम लगाएतका विषयमा गीत लेखिसकेका छन् । सर्जकहरुले आत्मरतिको लागि मात्र लेख्ने नभई कलमलाई हतियार र लेखनलाई पेशा बनाउन सक्नुपर्छ भन्ने मान्यता राख्ने प्रकाशका टुक्रिएको देश हैन, जतिमाया लाग्छ मामूको, आऊ न सानू मीठा मीठाप्रितको बात गरम्, नभेट्दा त मन यति मिल्छ, तिमीलाई यति सम्झिएछु, पनौती सुन्दर पनौती, मैले त खोजेको यस्तै घर हो, मनका कुरा तिमीलाई बताउन पाए, सन्ततीले धिक्कार्लान फेरि, आहाकति सुन्दर ठाउँ, मेरो विश्व मेरो घर, हुन्छ हुन्छ भन्दाभन्दै टार्यौ सान्नानी, सिप सिकौँ दक्ष बनौँ लगाएतका गीतहरु चर्चामा छन् । गीतमार्फत समाजलाई केही न केही शिक्षा दिनुपर्छ सोच भएका प्रकाशका कुनै गीत पनि उत्ताउला र भड्किला हुँदैनन् । सूक्ष्म विषयबस्तुको उठान, गहन अनुसन्धान, सरल लेखन शैली प्रकाशका वैयक्तिक विशेषता हुन् ।

एउटै छानो एउटै मानो गरौँ हुँदैन र ?
सँगै बसी माना पाथी भरौँ हुँदैन र ?

मायाले नै जोडाउँछ सुख जति संसारका
बस्तीभरि यस्तै सन्देश छरौँ हुँदैन र ?

माटाको भर ढुङ्गा भन्छन् ढुङ्गाको भर माटो
हामी पनि त्यस्तै भर परौँ हुँदैन र ?

केलाई अब डराउनु केलाई लजाउनु
मायाको यो महासागर तरौँ हुँदैन र ?

तिमीलाई आउन टाढा मलाई धाउन टाढा
अलिअलि गर्दै नजिक सरौँ हुँदैन र ?