• २०८१ कातिर्क २५ आइतबार

आमा

बसन्त चौधरी

बसन्त चौधरी

तिमीभन्दा
प्रिय र अनमोल
केही छैन यो ब्रह्माण्डमा
तिमीले नै दिएको यो जीवन
तिमी भएर नै रहेको छ प्राण
आमा रहेर नै
बाँचेको छ जगत्को अस्तित्व
प्रिय छ संसार
चलेको छ सृष्टि !

प्रारम्भदेखि अनन्तसम्म
आमा ! सर्वनाम स्नेही र ममत्व
अर्पण गर्ने अर्कों कुनै शब्द छैन

मेरी आमा !
अद्वितीय मेरा लागि
आज स्मृति भयौ र
छोडी गयौ
स्मृतिको भण्डारमा
अनमोल रत्नरूपी
वैभव बनेर सञ्चित छौ
आइरहन्छ तिम्रो तस्बिर आँखामा
सुमसुम्याइरहन्छ स्नेहले मेरो शिर
स्मृति बनेर
र झरिरहन्छ आँसु
माया भएर !

आमा !
तिमी छैनौ तर
तिम्रो आदर्श मेरो पुँजी बनेर
ऐश्वर्य थपिरहन्छ मेरो जीवनमा
आमा !
तिमी फर्किन्नौ तर
तिम्रो प्रेमिल स्मृति
बाँचिरहन्छ मसँगै
हृदयको स्पन्दन बनेर
मेरो निश्वासले सदा गरिरहन्छ वन्दना
तिमी र तिम्रो स्नेहको

आमाविनाको जीवनको यो यात्राबाट
तिम्रो स्नेहको अभावरूपी
नयनका सागरबाट
तिमीलाई शतशत वन्दना
यो स्नेहको तारबाट
तिमीलाई धेरैधेरै सम्झना !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)