वसन्तवेला

मनिषा आचार्यद्वारा लिखित ‘छोरी’ उपन्यास राजधानीमा लोकार्पण भएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ उपन्यास ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले संयुक्त रुपमा विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा बोल्दै पम्फा भुसालले सानो उमेरमा ठूलो चुनौती लिएकोमा उपन्यासकी लेखक मनिषा आचार्यलाई बधाई तथा शुभकामना दिएकी थिइन । भुसालले भनिन, ‘समाजमा अझै पनि नारी माथि विभेद कायम रहेको र राजनीति र साहित्यको माध्यमबाट यस्ता विषय उठान गरेको खण्डमा विभेद अन्त्यका लागि केही सहयोग पुग्नेछ ।’
‘छोरीको समस्या भनेको राष्ट्रको समस्या हो भनेर अघि बढ्नुपर्छ । तब मात्र समाज अगाडि बढ्छ ।’ उनले भनिन् । सन्तोष परियार र विमला तुम्खेवाले विमोचित छोरी पुस्तकमाथि टिप्पणी गरेका थिए । सन्तोषले किताबबारे टिप्पणी गर्दै भने, ‘किताबमा महिला हिंसाका साथै शहर र गाउँको कथा समेटिएको छ । यसमा प्रेमका कहानी जस्ता कुराहरु पनि समेटिएको छ ।’
लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ की उपाध्यक्ष हुन । आचार्यको यो पहिलो कृति हो । लेखक आचार्यले समाजमा छोरीले भोगेका पीडाहरुलाई आफ्नो कृतिमा समेटिएको बताएकी थिइन् ।