• २०८२ बैशाख २९ सोमबार

आशा

बसन्त चौधरी

बसन्त चौधरी

दिन धमिलिएपछि
झर्दैझर्दै आउने रात
धमिलिएको धर्तीसँगै
मैलिएको टाढाटाढा क्षितिज
तब
निशाको आवरणमा
उज्यालो पोख्दै
अँध्यारो चिर्दैचिर्दै
विशाल आकाशको मुटुबाट
मुस्कुराउने जून
हो !
मेरा आँखाले बिर्सिएका
सपनाहरू
फेरि देख्न सिकाउने
तिमीजस्तै !

जिन्दगीको घना जङ्गलमा
गजमजिएका गोरेटाहरूमा
यसै निशा लागेर
रन्थनिएको वेला,
मसिनो डोरो
एक धर्को सानो गोरेटो
गन्तव्य देखाउँछ
सहारा मानेर समातेको
हातजस्तै
तिमीजस्तै !

तिमी नै हौ
शुष्क बन्दै गएको,
जीवनको वृक्षमा,
जल दिई
पुनर्जीवित पार्ने
उदास भै
निराशाको खोपीभित्र
यौटा दीप जलाउने
मायाको !

हो !
आशा तिमी नै हौ
मेरा हारहरूमा,
उठ्न प्रेरित गर्ने
आँसुहरूमा,
मुस्कुराउन सिकाउने
आशा
हरेक जीवनको अँध्यारोमा
बिहानीको मिरमिरेजस्तै
हरेक साँझको गोधूलिमा
दीपकको उज्यालोजस्तै
आशा !
जीवन ज्युँदा रहने
आफ्नै छायाँजस्तै !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)