सम्झनाको उर्लंदो भेलमा
तिमी बनेर आउँछौ
सँगै बसेर पिएको कफी
सँगसँगै छुटेका पदचापको
मधुर आवाज
र
पोखिइरहन्छन्
आँखाका ओठबाट
उष्ण बोकेका गह्रौँ आँसुहरू !
आज
तिम्रो सम्झनाको
असीमित तरेलीमा
तिमी बनेर छाउँछौ
मृदु स्मृति
डराई भाग्छ निद्रा
तिमी मुस्काएर भर्छौ मन
र
हराएर जान्छ झझल्को
त्यही भेलमा बग्दाबग्दै
वियोगको ढुङ्गामा ठोक्किएर
पटकपटक रक्ताम्य म
तिमीलाई बोकेका
यी आँखाका डिलबाट
घाइते खसिरहेको छु !
बाँध बाँध्न नसक्दा
सम्झनाको भेल
मेरो संसार तहसनहस छ
असमर्थ र विक्षिप्त म
तिम्रो स्मृतिसँग युद्धरत
शङ्खघोष गर्ने
साहस जुटाइरहेको छु
पटकपटक,
आफैँविरुद्ध युद्धको !
साभार : तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)