• २०८१ चैत १ शनिवार

खोइ, म उसलाई के पो भनूँ

शरद निरोला

शरद निरोला

जब पनि कुनै वेला म लेख्न बस्छु
कथा होस् वा उपन्यास वा कविता
एउटा प्रभावशाली व्यक्तित्व मेरा अगाडि उभिन्छ
गम्भीरता, गरिमा अनि उद्वेलित भावनाले ओतप्रोत
मौन सङ्केतले मेरो अस्थिर मस्तिष्कलाई नियन्त्रण गर्छ
त्यस्तो मान्छे हो उ, म उसलाई के भनूँ
ताना भनूँ कि तारानाथ भनूँ ?

पहिले पहिले दाम्लो बाँधेर हिँड्थ्यो
पछि दाम्लोको कट्टर विरोधी भयो
पहिले बेलाइती भनेपछि हुरुक्कै हुन्थ्यो
पछि अमेरिकीपनसँग सल्कियो
पहिले त कसैले बुझेनन् यो विरोधाभास
पछि बिस्तारै छर्लङ्ग हुँदै गयो
दस वर्ष आफैँ अमेरिकामा बसिसकेपछि
मैले पनि आफैँ बुझ्दै गएँ
त्यसो त हत्तपत्त उसलाई सबैले बुझ्दैनन्
बुझेपछि पटक्कै साथ छोड्दैनन्
मान्छे त्यस्तो हो ऊ म उसलाई के भनूँ
ताना भनूँ कि तारानाथ भनूँ ?

उसका हातबाट नियात्राका पर्रा छुटछन्
उसको मुखबाट समालोचनाका सिस्नु झर्छन्
थकित आँखाका प्रत्येक झप्कीमा
इतिहासका आँसु खस्छन्
अन्तरङ्ग हृदयबाट ‘सुली’ का सुइराहरू निस्कन्छन्
अन्तरद्वन्द्वात्मक अभिप्रेरणाको मुहान हो ऊ
उसलाई म खोइ के भनूँ
ताना भनूँ कि तारानाथ भनूँ ?

ताना भएर उसले निकै रडाको मच्चायो
असक्षम र ढाँटहरूलाई छोडेन-  थच्याउनुसम्म थच्यायो
दिउँसै तारा देखाउनुपर्नेलाई तारा देखायो
झर्रा बोलीका पर्राले कोर्रा लगायो
एकपल्ट त बाबै राजसिंहासन नै हल्लायो
त्यस्तो मान्छे हो ऊ म उसलाई के भनूँ
ताना भनूँ कि तारानाथ भनूँ ?

तर पछि एकाएक ऊ तारानाथ भएर जुर्मुरायो
उग्रतालाई तिलाञ्जली दिँदै
भावुकता र यथार्थवादको अँगालोभित्र
क्रोधका राँकाहरूलाई गुम्स्याउँदै
साहित्याकाशमा नयाँ तारा झुल्काउँदै गयो
शङ्कालु र ईष्र्यालु विरोधीहरूमाथि
कृति नै कृतिका गुलेली ठोक्यो
यस्तो मान्छे हो ऊ खोइ म उसलाई के पो भनूँ
ताना भनूँ कि तारानाथ भनूँ ?


(मेरिल्यान्ड, अमेरिका निवासी निरोलालेयो कविता सन् २००३ मार्च महिनामा वासिङ्गटन डिसीस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजद्वारा प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्माको सम्मानमा आयोजितअभिनन्दन कार्यक्रममा वाचन गरेका थिए ।)


असमर्थता

वो जो था

तलबार