• २०८१ श्रावाण ११ शुक्रबार

‘मिराज’ कथासङ्ग्रहको लोकार्पण

काठमाडौँ, फागुन ४ २०७८
फागुन ३ गते काभ्रेको पनौतीमा साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘मिराज’ नामक कथासङ्ग्रहको प्रमुख अतिथि, ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुव ताम्राकारले संयुक्तरूपमा विमोचन गरेका छन् ।

कुलपति केके कर्माचार्यले मिराज कथासङ्ग्रह एक पठनीय कथाकृति भएको उल्लेख गर्दै कथा समाजका लागि लेखिने भएकोले कथाले समाजमा घट्ने घटनाहरूको सजीव चित्रण गर्नुपर्ने विचार व्यक्त गरे । साहित्यकार सूर्य लाकोजूले सङ्ग्रहका सबै कथा पठनीय रहेको विचार व्यक्त गर्दै कथा समाजमा भएका वास्तविक घट्नाहरूमा आधारित रहेकाले कथा पढ्दै जाँदा हामीले देखेका, भोगेका कुराहरू भेटिएको आभास मिल्ने बताए ।
‘मिराज’ मा एघारवटा कथा सङ्ग्रहित छन् । ताम्राकारका यसभन्दा अगाडि ’प्रारम्भ’ र ’हृदयका उदगार’ गरी दुई कवितासङ्ग्रह, ’भावनाका उत्सर्ग’ गीतसङ्ग्र्रह, ’स्पन्दन’ मुक्तकसङ्ग्रह र ’आँसुको कथा’ कथासङ्ग्रह प्रकाशित छन् ।

कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य सङ्घ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाललगायतले मन्तव्य दिएका थिए ।