समाचार

म बुझ्दिनँ आमाहरू के हुन् ?
कहाँ ?
कुन श्रोतसँग करार गरेका हुन्छन् यिनले
उमार्छन् हरपल सन्तानलाई दिइरहने एकोहोरो स्नेह
कसरी जाती पार्छन् निरन्तर कहिले उसैले दिएको उपेक्षाको घाउ पनि
फेरि मुसुक्क मुस्काउँन सक्छन् ?
कति लामो छ प्रार्थनाको फेहरिस्त र कस्तो अनुहारको छ तिनको ईश्वर ?
जहाँ उनैका इच्छाहरू सजिएका हुन्नन्
कति सबल छन् हातपाऊहरू
जो दैनिक मजदुरीबाट कहिल्यै फुर्सद लिन्नन् ।
कसले लिनेछ यिनको परीक्षा र खटेका छन् यिनिहरू
कसले दिनेछ जीवनको मूल्य र खसेका हुन् यिनिहरू ?
हराउँदा- हराउँदै सन्ततिको खुशीमा कहीँ छोडेर आफ्नो अहम्
हिँऊ जसरी कसरी बिलाउन पो सक्छन् ?
सजाउँदा सजाउँदै सन्तानको सपना
शीत जसरी कसरी आफू सप्पै सुकिदिन सक्छन् ?
आँगन जसरी पैतालै पो बोकिदिन सक्छन् ।
उफ् ! म बुझ्दिन यी आमाहरू केले बनेका हुन् ?
रमाउँन जान्नु पनि सन्तानकै ओठ हेरेर
कस्तो प्राकृत्दंश ?
हार मान्नु पनि सन्ततिकै आँसु देखेर
कस्तो विकृत विधि ?
यति लामो सजाय भोगेका यिनले कि कोखै त लिएको हो जन्मनेले
कि कुनै गोप्य खुशी छ यिभित्र उम्रिने र थाहा नपाएको हो हामीले ?
यी सबै प्रश्नहरू अनुत्तर रहेर आजसम्म
मलाई बारबार एउटा प्रश्न जोडले हिर्काइरहन्छ…
आमाहरू कसरी मान्छे मात्र हुन् ?
(ज्योति जङ्गल चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]