क्युबाको कविता
सौन्दर्यको अर्थ थाहा नहुँदै
सुन्दरताको मादकता नपलाउँदै
मोहकताको मन्त्र नजान्दै
दर्पणको अगाडि उभिनुको मज्जा बेग्लैथ्यो
आजभोलि दर्पणले नै गिज्याए जस्तो लाग्छ
उही म
उही दर्पण
म बदलिएँ
तर दर्पण बदलिएन !
कयौँ आए होलान् उभिन
सबैको अनुहारको सत्य निष्कपट बतायो उसले
झुठ बोलेन कसैसँग
बरू फोरियो टुक्राटुक्रामा
टुक्रिएरै पनि कहिल्यै झुठ बोलेन
दर्पणका अगाडि उभिनेले कहिल्यै साँचो बताएन
दर्पणका अगाडि उभिदा चरित्र देखिन्थ्यो भने
जीवनभर आफ्नो मुहार हेर्दैनथ्यो मान्छेले !
बनाउनेले बाहिरी स्वरूप देखिने बनायो
बनाउनेले मात्र आवरण देखिने बनायो
बनाउनेले
आँखाले देख्न सकिने बनायो
मलाई
मन देखिने दर्पण बनाउने चाहना छ
चरित्र देखाउने दर्पण बनाउन मन छ !
मलाई
चेतना देखाउने दर्पणको आविस्कार गर्नुछ
म आफ्नो भित्री रूपधित मरुञ्जेल हेर्न चाहन्छु
आफैँले बनाएको दर्पणमा
अनुहार बदलिए जस्तै बदलिने
मान्छेको सोच अनुसारको आकृति देखाउने
चाहना अनुरूपको चेहरा देखाउने
दर्पण बनाउन मन छ
र बनाउन मन छ
अतितमा अल्झाउने दर्पण
वर्तमान बताउने दर्पण
भविष्य देखाउने दर्पण
आफैँले बनाएको दर्पणमा मलाई
हेर्न रहर छ एकपल्ट
आफ्नै पूर्ण अन्त्येष्टि !!
(रूबी सत्याल चर्चित कवि हुन् ।)
[email protected]