छिमेकीले घाँस काट्यो
मैले घाँसै त हो भने
छिमेकीले कान्लो ताछ्यो
मैले माटै त हो भने
छिमेकीले रूख काट्यो लग्यो
मैले पाजी दाउरै त हो भने
अब त छिमेकीले
त्यो बारी मेरो हो भन्छ
त्यो सल्लाघारी मेरो हो भन्छ
रूख, रूखमा बस्ने चरा
चराको गीत
रुखले निकाल्ने सुसेली
सब मेरा हुन् भन्छ
भन्देऊ न हो अमरसिंह
भोक ठूलो कि स्वतन्त्रता ।
पराधीन नभए पनि
स्वाधीन हुन नसकेपछि
स्वचालित हुन नसकेपछि
भोलि यो बाटो मेरो हो भन्ला
तैले खाको आटो मेरो हो भन्ला
तँ बसेको वास, तैँले फेरेको श्वास मेरो हो भन्ला
तैँले छोप्ने लाज, तेरो शिरको ताज मेरो हो भन्ला
तेरो पेन्सन- पट्टा मेरो हो भन्ला
तँ त जिउँदो पुत्लाहोस्
तँ बसेको सत्ता मेरो हो भन्ला
भन्देऊ न हो भीमसेन
सत्ता ठूलो कि देश ?
(‘विश्वामित्र’ चर्चित साहित्यकार हुन् ।)
[email protected]