‘हामी आज सहकार्यका लागि भेटघाट गरिरहेका छौँ भने सबैभन्दा पहिला हामीले एकअर्कालाई व्यक्तिगतरूपमा पनि चिन्नु परेन सर ?’
‘मैले आफ्नो नाम र पूर्वपेसाबारे भनिहालेँ त !’
‘म सरको पारिवारिक कुरा पनि जान्न चाहन्छु ।’
‘मेरी श्रीमती र एघार वर्षकी छोरी छन् ।’
‘जेठी श्रीमतीतिर नि ?’
‘के भन्न खोज्नु भो तपाईंले ?’
‘सर मेरो कुरालाई अन्यथा नलिनुहोला, राजस्व समूहको जागिरबाट निवृत्त यहाँको भर्खर एघार वर्षकी छोरी छन् । मेरो अनुमान गलत होला त ?’
‘गज्जब कुरा गर्नु भो सरले । अरू पनि केही आपत्ति छन् कि त ?’
‘सर तपाईं मेरो बाको उमेरको मान्छे हुनुहुन्छ, त्यसैले मेरो आशय हजुरसँग जिस्कनु हैन । म सानो हुँदा भन्सार तथा मालपोतका जागिरेलाई छोरी दिन पाउनेहरूलाई भाग्यमानी सम्झन्थ्यो । त्यस्तो वेलाको तपाईंले न ढिला बिहे गर्ने अवस्था थियो, न त एघार वर्षअघि मात्र बच्चा जन्माउने ! तपाईंकी जेठी श्रीमतीको मृत्यु भएको भए पनि तपाईंले पहिला त्यही कुरा गर्नुहुन्थ्यो । त्यसैले मलाई तपाईंको दुई बिहे भएकोमा कुन द्विविधा छैन ।’
‘यहाँ यस कुराको के औचित्य छ र ?’
‘सर हामीले सहकार्य गर्ने नै हो भने यस कुरामा प्रस्ट हुनु अत्यन्त जरुरी छ । व्यापार र राजनीतिमा सहकार्य गर्नेको व्यक्तिगत जीवनमा प्रस्टता भएन भने त्यो सहकार्यको आयु लामो हुँदैन ।’
‘विनोदजी मैले तपाईंको बारेमा जे सुनेर यो भेट भयो, तपाईंलाई देखेपछि मलाई कुरै गर्ने मन थिएन । तर अहिले तपाईंको कुरा सुनेपछि तपाईंका हर जिज्ञासाको उत्तर दिएरै सहकार्य गर्दा उपयुक्त हुन्छ जस्तो लाग्यो । सुन्नूस्, आज तपाईंलाई म मेरो जीवनका हरेक आरोह-अवरोहहरू बताउँछु-
नेपालको दुर्गम गाउँमा जन्मेको म स्कुल जीवनदेखि नै अलि मेधावी थिएँ । म पढाइमा मात्र नभै अतिरिक्त क्रियाकलापमा पनि तीक्ष्ण थिएँ ।
विभिन्न अवसरमा आयोजना हुने जिल्लाव्यापी प्रतियोगितामा मेरो सहभागिता अनिवार्य जस्तै हुन्थ्यो । र, यस्तो सहभागिता कहिल्यै निराशाजनक हुँदैनथ्यो । एकपटक जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगितामा एक नम्बरले आयोजक स्कुललाई हराइदिएँ । तर हार्ने टिमकी एउटी केटीको मन जितेको कुरा क्याम्पस पढ्न काठमाडौँ आएपछि थाहा पाएँ ।
काठमाडौँमा पनि अन्तरक्याम्पस हाजिरीजवाफ प्रतियोगिता हुनेभयो । सामान्य ज्ञानमा रुचि राख्ने म छनौटमा परेँ । नेपाल कमर्श क्याम्पस मीनभवनमा आयोजित फाइनल चरणमा छानिएको एउटा टिममा उनलाई देखेर म छक्क परेँ । यसपटक पनि उनको टिम फेरि एक नम्बरले हारेपछि रिसाउनुपर्ने उनी त खुसी हुँदै कुराकानी पो गर्न आइन् ।
पढाइसम्बन्धी सामान्य कुरा भएपछि उनले भेटघाटको प्रस्ताव राखिन् । स्कुले हाजिरजवाफमा जितेको कपसँग उनको मन साट्ने विचार र मिले उनैलाई साट्ने मेरो सोचबीच सामञ्जस्य भयो । दुवैको मनको अन्तरमा रहेको सुषुप्त धारण जागृत भयो । हामी फेरि भेट्ने बाचा गरेर छुट्टियौँ त्यस दिन ।
हनुमानढोका दरबारअघि पेटीमा बसेका जोडीलाई हेरेर आनन्द लिँदैथिएँ उनी आइपुगिन् । पहिलो भेटमा चुक्नु थिएन मलाई । तर मन भने पेटीमा बसेका जोडीझैँ हुन चाहन्थ्यो । नभन्दै उनले हातै समातेर सिँढीमाथि तानेपछि त्यति अग्लो मन्दिरका सिँढीहरू पनि कम लागे मलाई । अन्तिम सिँढीभन्दा माथि जाने ठाउँ नभएर होला उनले त्यहीँ बस्ने इसारा गरिन् ।
उनको रूपभन्दा चञ्चलता मोहक थियो । राम्रो पहिरनले गर्दा रूप पनि कम्ती थिएन । खानदानी भएरै त होला छोरीलाई काठमाडौँको डेरामा राखेर पढाएका । त्यो दिन म कम बोलेँ उनी धेरै । निकै बेर हामी त्यहाँ बस्दा मलाई भोक लागेर आयो । मैले नभनी उनले बुझिन् क्यार ‘जाऊँ मेरो डेरामा खाजा खाऔँ’ भनिन् । मनले माने पनि धक लाग्यो । उनैले ‘पीर मान्नु पर्दैन डेरा नजिकै छ’ भनिनँ ।
मलाई डेराको दूरीसँग खासै लिनुदिनु थिएन । डेरामा अरू कोको होलान् र उनीहरूले के सोच्लान् भन्ने डर थियो मनमा । यसपल्ट पनि उनी अन्तज्र्ञानी नै निस्किन् । भनिन्- ‘पीर मान्नु पर्दैन म मात्रै हो डेरामा ।’ मन ढुक्क भयो ।
त्यसपछि हप्तामा एक दिन उनकै डेरामा खानपिन हुनथाल्यो । यस सङ्गतले दुवैको पढाइ राम्रो भएको रिजल्टले नै प्रमाणित गरिदियो । पढाइ र प्रगतिबाहेकका कुरा दुवैको मनमा भए पनि ती प्रस्फुटित भएनन् । ब्याचलर सकिएपछि लोकसेवाको तयारी थाल्यौँ ।
मेरो राजस्व समूहमा नाम निस्कियो । उनको लिखितमै निस्केन । उनले वाणिज्य बैङ्कमा निकालिन् । जागिर काठमाडौँमै भयो । जागिर खाएको पहिलो वर्ष हामी विराटनगरसम्म प्लेन चढेर घर गयौँ । घर पुगेको भोलिपल्ट पाहुना आए बिहेको कुरा लिएर । आफूलाई मन परेकी केटीको धारणा नबुझी बिहेको कुरा कसरी तय गर्नु । मैले सोचेर जवाफ दिऊँला भनेँ । दसैँअघि नै कुरो छिन्न पाए मङ्सिरमा बिहे गर्न सजिलो हुन्थ्यो भनेर बा भुनभुनिनुभो । मैले बालाई एकपटक केटीको राय बुझेर भन्छु भनेर पन्छाउन खोजेँ ।
तर कुरो त उतैबाट पो आएको रै’छ । पहिला त पत्यारै लागेन । फोटो नै देखाएपछि एकै सासमा हुन्छ भनिदिएँ । कुरा लिएर आउनेहरू हाम्रो चिनजान थाहा पाएर होइन, मेरो जागिर देखेर आएका रहेछन् । कुरा छिनियो । सँगै काठमाडौँ फर्कने टिकट थियो । फर्कंदा उही झन्डै नमानेको बिहेको कुरा भयो । उनका कुराले हामी दुवै हाँस्यौँ ।
उनका बाले मेरो जागिर भएको थाहा पाउनेबितिक्कै कुरा मिले सिमलबोटेको छोरालाई छोरी दिने भनेका रहेछन् । उनले सिमलबोटेको छोरो मै हुँ भन्ने थाहा नपाएर झन्डै हुन्न भनेकी रे ।
बसपार्कमा ओर्लेपछि उनले ट्याक्सी खोजिन् । एयरपोर्ट भन्सारको जागिर । मेरो डेरा सिनामङ्गलमा थियो । उनी वसन्तपुर सरेकी थिइनन् । त्यसैले हामीलाई दुइटा ट्याक्सी चाहिन्थ्यो । तर उनी सिनामङ्गलै आइन् । उनी टीकाटालो भएर मङ्सिरमा बिहे नै पक्का भैसकेपछि अब म जहाँ बसे नि सँगै बस्ने हो भन्न थालिन् । मैले नाइनास्ती गरिनँ । यसपालि पनि मेरै मनको कुरा गरेझैँ भयो । बा किनमेलका लागि काठमाडौँ आएका तीन दिनबाहेक हामीसँगै बस्यौँ ।
बिहे भयो । दुई वर्षको फरकमा दुई छोरा जन्मिए । कामको सिलसिलामा मेरो विभिन्न भन्सारहरूमा सरुवा हुन्थ्यो । कर–कार्यालयमा भन्दा भन्सारको आम्दानी धेरै हुनेभएकाले म बरु टाढै भए पनि भन्सारमै जान चाहन्थेँ ।
त्यही जागिरले काठमाडौँको गौरीघाटमा आलिसान घर बन्यो । केही व्यापारमा साझेदारी पनि थियो । एउटा कम्पनीमा सालाको नाममा सेयर हालेँ । त्यही कम्पनीको नाममा किनेको गाडी थियो । प्रमोसन भएकाले उनलाई पनि गाडीसुविधा थियो । तर सेतो प्लेटको गाडी अफिसको काममा बाहेक चडिएन । छुट्टै ड्राइभर राखेका थियौँ । म प्रायः काठमाडौँ बाहिर हुनेहुँदा त्यो गाडी उनलाई नै सजिलो भएको थियो ।
सुरुमा घरघडेरी र गाडी हाम्रा सपनाहरू थिए । उनको तलब र वार्षिक बोनस मात्र थियो । मेरो कमाइको त हिसाबै हुन्नथ्यो । घर, गाडी आफ्नोबाहेक सालासालीका नाममा पनि जोडेँ । पहिला सम्पत्ति सोहर्नतिर लागेँ । पछि व्यवस्थापन गर्नै हम्मेहम्मे हुनथाल्यो ।
सम्पत्ति भएपछि ठूल्ठूला मान्छेसँग सङ्गत हुनथाल्यो । राम- रमाइलो उस्तै । काठमाडौँ हुँदा पनि घरमा वास कमै हुन्थ्यो । पहिला पैसा भए पुग्छ भन्ने उनी अब मेरो उपस्थिति नभएकोमा गुनासो गर्न थालिन् । मलाई उनका कुरा वाइयात लाग्नथाले । मैले उनलाई जिन्दगीले छलाङ मारेकै व्यस्तताले हो भनेर बुझाउने कोसिस गरेँ । बुझ्नु मैले पर्छ भन्ने नै लागेन ।
उनको गुनासो कम हुनथाल्यो । छोराहरूलाई स्कुल बोर्डस् नै गरेपछि त उनको पनि घर आउने- जाने समयतालिका नियमित थिएन । हामीले सबै कुरा जोड्दा सम्बन्धको गाँठो फुस्केको थाहा पाएनौँ । अनि उनले मेरो व्यक्तिगत जीवनलाई व्याभिचारसँग जोडिन् ।
म भ्रष्ट थिएँ र यो संस्कारकै अङ्ग भैसकेको थियो । तर कहिल्यै व्याभिचारी भइनँ म । हाम्रो सम्बन्ध कति बिग्रियो भने उनलाई म घरमा बसेको उति मन पर्न छाड्यो । मेरो घरमै काम गर्ने दिदीका कुरा सुनेपछि पैसाको पछि लागेर परिवारभन्दा धेरै टाढा पो पुगियो कि भन्ने लाग्नथाल्यो । हुन पनि अकुतै सम्पत्ति थियो । ससुरालीतिरका सबैको काठमाडौँ- विराटनगरमा घरघडेरी थियो । धार्नीकै हिसाब पुग्ने सुन र सुनका गहना थिए । तर सम्बन्ध घोटिएको चन्दनको टुक्राजस्तो भएको थाहै भएन ।
छोराहरू हुर्कंदैथिए । मेरो उमेरमा मसँग जुन संस्कार थियो, त्यसको एकरत्ति पनि उनीहरूमा थिएन । अनि बुढेसकालमा परिवार बिग्रने डर मनमा पलाउन थाल्यो । त्यसैले म काठमाडौँकै कर- कार्यालयमा सरुवा मिलाएर आएँ । यसले उनी खुसी होलिन् भन्ने लागेको थियो तर उल्टो भयो । उनी अब कर- कार्यालयमा तलबकै भरमा बसेर जीवन कसरी चल्छ र भन्न थालिन् । आफूले कमाएको सम्पत्तिको हिसाब देखा’को त मेरा माइती खलकको नाममा भएको सम्पत्तिको त हिसाबै नगर्नु पो भनिन् ।
त्यस्तो जोखिम मोलेर जोडेको सम्पत्ति त्यति सजिलै कसरी छाड्न सक्थेँ ? आफ्ना भाइबहिनीहरूलाई परेको वेलामा केही हजार पनि सहयोग गर्न सकिरहेको थिइनँ । मैले त्यो त हुन्न भन्नेबित्तिकै रडाको मच्चिन थाल्यो । घरको शान्ति त कता हो कता ! आत्मीयताले पनि डाँडो काटेजस्तो भयो । सालोले उल्टै यस सम्पत्तिको कुरा गर्नु भो भने जेल हाल्छु भन्यो ।
सम्बन्ध यति बिग्रियो कि सबै कुरा उनले भने जस्तो गर्छु भन्दा पनि भएन । कुरा सम्पत्तिको थिएन । उनको बाहिरी सम्बन्धको थियो । तर उनको आरोप उल्टो थियो । उनले घर पस्ने वातावरण बन्न नदिने । बाहिर बसे आरोप लगाउने । अन्ततः उनले छोडपत्रकै प्रस्ताव राखिन् । म निकै तनावमा थिएँ । आजित भैसकेको थिएँ । तनाव यति घनीभूत भयो कि मैले तिमीसँग छोडपत्र गरेर एक रात सडकमा आनन्दले सुत्छुसम्म भनेँ । नभन्दै जिल्ला अदालतबाट बोलावट आयो । भएभरको देखिने सम्पत्ति छोराहरू र उनको नाममा गरेर निस्कनै लाग्दा मेरो गलाको सिक्रीतिर देखाउँदै कटाक्ष गरिन्- ‘गलामा यति मोटो सिक्री भिरेर सडकमा सुत्ने तिम्रो रहर सुरक्षाका दृष्टिले पनि त पूरा नहुने भो नि हैन ?’
जापान- भ्रमण जाँदा राम्रो लागेर किनेको दुई तोलाको त्यो सिक्री पनि चुँडालेरै उसको हातमा राखिदिएँ । त्यहाँबाट निस्केर मन मिल्ने एकजना साथीकहाँ गएँ र ऊसँग सबै बेलिबिस्तार लगाएँ । उसले अर्को बिहेका लागि सुझाव दियो ।
मैले भनेँ- ‘बिहे त गरेकै थिएँ । छोराहरू पनि थिए । जागिर, सम्पत्ति केहीको पनि कमी थिएन । तर मेरो जीवन त यही बिहेले नरक बनायो । अब फेरि केका लागि बिहे ?’
उसले भन्यो- ‘हेर रामबाबु ! तेरो जीवन नरक भएको बिहेले हैन । पैसा मात्रै सबथोक हो भन्ने तेरो सोच र त्यो सोच पूरा गर्न तैँले गरेको भ्रष्टकार्यको श्रापले भएको हो । यो संसारमा कुनचाहिँ भ्रष्टले चैनले मर्न पाएको छ ? तँ र म एकै दिन जागिरमा पुगेका हैनौँ, सोच त ! मेरो यो घरको अझैँ ऋण हुँदा तँसँग यति सम्पत्ति भयो । के त्यो सम्पत्तिमा कसैको आँसु अनि श्राप थिएन ? धेरैजसो भ्रष्टहरू आफूले गरेको गल्तीको नदीमा मिसिने मैलालाई असन्तुष्टिको खहरेमा मिसाउने अर्को गल्तीको सिकार बन्छन् । तैँले जे गरिस्, त्यो भोगिस् । तर तैँले अर्को बिहे गरिनस् भने तेरो बिचल्ली हुन्छ । किनभने मैले तेरी श्रीमती र तिमीहरूले छोराहरूलाई दिएको संस्कार देखेको छु ।’ मलाई उसका कुरा सही लागे तर भन्नेबितिक्कै यस उमेरमा कसले दिन्छ छोरी ?
प्रश्न उठ्न नपाई मनमा उत्तर आयो । मेरा साइँला ससुराकी छोरी निर्मलालाई सम्झेँ । रूप राम्रो नभएकैले उनको बिहे भएको थिएन । पढाइमा अब्बल थिइन् । शीलस्वभाव पनि राम्रो थियो । म ससुराली गएपछि निकै आश लिएर भेट्न आउँथिन् कतै बाटो देखाऊला कि भनेर तर दिदी नाता पर्ने मेरी श्रीमती निकै ओच्याएर बोल्थिन्- ‘पढाइ नछाड केटी । बिहे गर्नका लागि स्वास्नी मरेका, अपाङ्गता भएका, डिभोर्सी मान्छे जति पनि पाइन्छ ।’
यस्तो कुरा सुन्दा मलाई औडाहा हुन्थ्यो । बिचरीलाई कस्तो हुन्थ्यो होला ? परिवारकी एक्ली छोरी । पढाइमा तीक्ष्ण भएकाले उनको पढाइ रोकिएको थिएन । पढाइ सकेर उनले सरकारी जागिरका लागि कोसिस गर्न पाएकी थिइनन् । मैले उनलाई तिम्री दिदीलाई मनाएर आऊ हाम्रैमा बसेर तयारी गर तर यो कुरा मैले भनेको नभन भनेको थिएँ । तर दिदीले तैँले हाम्रो घरमा दिशापिसाब गर्ने तरिका सिक्नै महिनौँ लाग्छ भनेपछि उनी विरक्तिएको थाहा थियो मलाई ।
मलाई उनको रूप उति नराम्रो लागेको थिएन । तर मेरो हेराइ दुनियाँको हेराइसँग मिल्नुपर्छ भन्ने पनि त थिएन । उनी लोकसेवा तयारीका लागि विराटनगर वा काठमाडौँ आउन चाहन्थिन्, जो मेरो वशमा थिएन ।
मनमा के लाग्यो, म साथीसँग दस हजार सापटी लिएर कलङ्की पुगेँ । धरान जाने बसमा पछाडिको सिट मिल्यो । बिहानै धरान पुगेँ र होटलमा कोठा लिएर मस्तसँग सुतेँ । ब्यूझिँदा तनावले महिनौँ बिथोलिएको निद्रा पुगेजस्तो भयो । दिउँसोको अन्तिम बस समातेर सुसुराली हिँडेँ । बाटोमा बस बिग्रेकाले पनि मलाई राहत भयो । झमक्क साँझ परेपछि म सिधै साइँलो ससुराको घर पुगेँ ।
म पहिला पनि उहाँहरूको घरमा जान्थेँ । दसैँको टीकाटालोबाहेक पनि म त्यहाँ जान्थेँ । त्यसरी जाँदा चियानास्ता एकदुईपटक खाए पनि खानै खाएको थिइनँ । चार कान्ला माथिको ससुरालीमा नपसी म त्यहाँ गएको कुरा मेरो अकिञ्चन ब्यागले देखाएको थियो । उसै पनि दुई वर्षदेखि ससुरालीमा सम्पत्ति- विवादले आउजाउ थिएन । त्यसलाई कार्य व्यस्ततासँग जोडेर बुझेका साइँला ससुरा र सालाहरू म बसेको देखेर असमञ्जसमा परे । भातभान्सा तयार भएर पनि सासू- बुहारीहरू अलमलिएका थिए । म भने ढुक्कै बसेँ । बुझ पचाएर । अति भयो क्यारे । ससुराले भान्सा गरौँ ज्वाइँनारान भने । म तयार भएँ । उनीहरू खुसीभन्दा अचम्भित भए । खाना खाएपछि मैले आफू आउनुको प्रयोजन बताएँ ।
साला, साली र सासू सकारात्मक भए पनि ससुरा आफ्नो कुरामा टसको मस भएनन् । भने- ‘नारान म आफैँले कन्यादान गरेकी छोरीमाथि सौता हालेर गौहत्याबराबरको पाप बोक्दिनँ ।’
मैले साला र सालीहरूले सम्पत्ति खाएकाले दुई वर्षदेखि ससुरालीसँग सम्बन्ध नभएको देखि हाम्रो डिभोर्ससम्मको कुरा बताएँ । छोडपत्र गरेको कागजै देखाउँदा पनि ससुराको मनबाट पापको डर हटाउन सकिनँ ।
‘यी कागजका कुरा जान्दिनँ म । मैले यो कुकर्म गरेँ भने मेरा कुलपितृले के गर्लान् ?’ बूढाको रटान एउटै भयो । म बोलिनँ । मनै खिन्न भयो । भावनामा नबगेकै भए हुनेजस्तो लाग्यो ।
‘साँझको पाउना त भगवानसरह भन्छन् । हजुर त गोढा धोएर कन्यादान गरेको ज्वाइँ । आज आराम गर्नूस् तर भोलि बिहान भाले बास्नुअघि नै हजुर मेरो घरबाट निस्कनुपर्छ । गाउँलेले थाहा पाए भने मैले यस समाजमा बाँच्न पर्दैन फेरि ।’ बूढाले भने ।
म सीमान्त लज्जित थिएँ । त्यहाँ बस्नै मन लागेन । मैले झोला समातेको देखेपछि निर्मलाले मुख खोलिन्- ‘बा हजुरले मलाई सानैमा अरूणमा फाल्ने हिम्मत गर्नु भएन । तर आज मेरो जिन्दगी मलाईभन्दा धेरै हजुरलाई घाँडो भैरहेको छ । भिनाजुले देखाउनुभएको कागजको अर्थ हजुरले बुझ्नु हुन्न तर मलाई त बुझ्ने बनाउनुभयो नि, हैन ? भिनाजुको कुरा हजुरलाई मान्न अप्ठेरो भए म यो निर्णय आफैँ गर्छु । यो निर्णय गरेर दुःख पाएँ भने बा म अरूण के कोसी पनि तर्दिनँ ।’
ससुराको बोली रोकियो । साली रोकिइनन्- ‘भिनाजु केटी नपाएर मलाई खोज्दै आउनुभएको हैन । हजुरलाई केही थाहा छैन । दिदीले भिनाजुको सर्वस्व लुटेर छाडेकी छन् । पाप त दिदीले गरेकी छन् । हजुरले पाउ पुजेको मान्छेलाई सहारा दिनु पाप हो त ?’
सालो त सहमत भयो नै सासूले पनि छोरीलाई शङ्काको लाभ दिने भइन् । तर पनि भनिन्- ‘भोलि ज्वाइँका कुरा झुटा निस्के हामीले बाँच्न पाउँदैनौँ नि छोरी !’
‘आमा माइलाबाका छोराहरूको काठमाडौँ र विराटनगरमा घर हुने उद्यम के छ ? ती दिदीबहिनीका मास्टरी गर्ने लोग्नेहरूले यतिका सम्पत्ति कसरी जोडे त ? मेरो भाग्यमा जे छ त्यही भोग्छु तर मलाई यो निर्णय लिन दिनूस् ।’ साली अडिग थिइन्
सुसुराले उम्कने ठाउँ पाएनन् । भने- ‘भोलि बिहान उज्यालो नहुँदै म तुलसाको मठमा टीकाटालो गरेर बिदा गर्छु । तँलाई दिने अहिले आशीर्वादबाहेक मसँग केही छैन ।’
रातको तीन बजे सासू-ससुराले जूनको उज्यालोमा तुलसाको मठमा टीकाटालो गरेर बिदा गरिदिए । उज्यालो नुहँदासम्म सालो पनि पुर्याउन आयो । उज्यालो भएपछि एउटा गाडी चढेर हामी धरान आयौँ ।
हप्तादिन पछि मैले निर्मलालाई बिहे गरेको कुरा उसले थाहा पाइछ । मेरो अफिसअगाडि गाडी लिएर आइपुगी । र उसले एकदम सामान्य हुँदै भनी- ‘लोग्नेस्वास्नीबीच ठाकठुक कसको हुन्न र ? यति कुरामा नि यति साह्रो मन दुखाउने हो ? ल हिँडिस्यो घर ?’
जीवनमा पहिलोपटक उसले टाउको उठाउन नसक्ने गरी मैले भनेँ- ‘कानुनी रूपमा छुट्टिएको कागजको महत्त्व नभुल ।’ ऊ एक शब्द बोलिन । तर धेरै दिनसम्म अनेकौँ माध्यमबाट भाइबहिनीको नाममा भएको सम्पत्ति फिर्ताको प्रस्तावदेखि साइँला बालाई धम्क्याउने कामसम्म गर्न भ्याइछ । निर्मलाको भाइ पनि पढेलेखेको केटो थियो । उसले ‘भिनाजुको सम्पत्ति फिर्ता गर्ने त छँदैछ, हामीलाई धम्क्याइरहे त्यही सम्पत्तिको नाउँमा जेल परौला !’ भनेपछि उसको बाल्ने बाटो बन्द भयो ।
तर छोराहरूलाई उसले यसरी तालिम दिई कि हामी दुवैको सम्बन्ध भएकाहरूको बिहे- व्रतबन्धमा छोराहरू भेट हुँदा उनीहरू निकै तल्लो स्तरका शब्द बोल्थे । ‘तैँले बाउ भएर हाम्रा लागि के गरिस् ? हेर् फलानो अङ्कलले ल्याइदिएको घडी, कपडा’ भन्दै देखाउँथे । अवस्था कस्तो भयो भने हामी उनीहरू आउनसक्ने निम्तामा कि अघिल्लो दिन जाने कि उनीहरू आउनुअघि नै फर्कन थाल्यौँ ।
मैले पनि रिनपान गरेर सानो घर बनाएँ । उनी त ‘ती दुईटा छोरा छँदैछन् किन पाउने बच्चा, हजुरको किरिया वाध्यताले पनि गरिहाल्लान् । मेरो चिन्ता छैन’ भन्थिन् । तर उनको केही जोर चलेन । उनले चाहेअनुसारै छोरी नै जन्माइन् ।
म सिडियो नै भैसकेको थिएँ । जेठो छोराले प्लस टु पास गर्दा । एक दिन छोरो अफिसमा आयो । निकै तनावमा थियो । उसको अनुहारमा डर प्रस्टै देखिन्थ्यो । ‘बाबा नागरिकता बनाउनु पर्यो’ भन्यो । उसको अधिकार थियो । नागरिकता भोलिपल्टै बनाइदिएँ । म हजुरसँग बस्छु भनेर जानै मानेन । आफ्नो सन्तान कसरी छाड्नु ?
घर लिएर आएँ । मैले छाडेदेखिका कुरा गरेर खुब रोयो । म अब घर जान्नँ भन्नथाल्यो । मैले बस् भने । आमाले उसको पिछा गरेपछि अमेरिका जान्छु भन्यो । पठाइदिएँ । दुई वर्षपछि कान्छो छोरो नागरिकताका लागि आउँदा आमा सँगै थिई । उसको पनि नागरिकता बनाइदिएँ । दुई दिनपछि ऊ मेरो घर खोज्दै आएको रै’छ । घरमा ममीका साथीहरूको बाक्लो आवतजावत र उनीहरूमाथि हुनेगरेका हिंसाका कुरा सुनेर मभन्दा धेरै उसकी सानिमा रोइन् ।
हप्ता दिन छोरो घरबाट बाहिर निस्केन । एक दिन प्रहरीका हाकिमले फोन गरे । उसले अपहरणको मुद्धाको धम्की दिएकी रै’छ । छोराले उल्टै आमाचैँलाई फोन गरेर ड्याडीलाई अलिकति मात्र डिस्टर्भ गर्नुभयो भने म तपाईंका बारेमा सबै कुरा प्रहरीलाई भन्छु भनेपछि ऊ छोरालाई फकाउन थाली । जति गरे नि छोराले मानेन । उसले अस्ट्रेलिया जाने रहर गर्यो । ऊ अस्ट्रेलिया गयो ।
दुवै छोरा विदेशमा राम्रै गरिरहेका छन् । सानिमालाई आमा भन्छन् । उनीहरूले चिन्ने जो मान्छे नेपाल आए पनि बहिनीलाई खेलौना र आमालाई उपहार आइपुग्छ । बाउ-आमाको मुख हेर्ने दिन ढोकामै उपहार आउँछ । जन्म दिने आमाको दुवै छोरा नामसम्म सुन्न चाहन्नन् । मभन्दा एक वर्षपछि अवकाश भएकी ऊ प्रेसर र सुगरको रोगी छ रे । तैपनि छोराहरू हाम्री आमा बहिनीकी आमा हो भनेर विदेश गएदेखि उसलाई एकपटक फोन पनि गरेका छैनन् रे ।
अहिले ऊ बहिनीलाई भेटेर हरेकपटक मेरो सबै सम्पत्ति तिम्रो नाममा गर । मलाई उहाँको अगाडि मर्ने वातावरण बनाऊ ! भन्छे रे । तर म आजकल यी सब कुराभन्दा धेरै पर छु ।
पेन्सन आउँछ । उनले खुब दुःख गरेर पढेकीले एउटा सामुदायिक क्याम्पसमा दुई पिरियड पढाउँछिन् । म छोरीलाई बिहान स्कुलबस चढाएर वाकमा जान्छु । त्यतैबाट तरकारी किनेर ल्याएर खाना बनाउँछु । उनी क्याम्पसबाट आएपछि खाना खान्छु । मेरो निष्क्रियताले उनी भुटभुटिन्छिन् । हजुरले केही काम गरे हुने भनी रहन्छिन् ।
त्यही भएर तपाईंसँग केही गरेर व्यस्त हुन खोजेको हो ।’
‘सर जिन्दगीप्रति केही गुनासो छ ?’
‘गुनासो गरेर के गर्ने ? सच्याउन मिल्ने छैन केही ।’
‘मिले के गर्नुहुन्थ्यो ?’
‘भ्रष्टाचार गर्दिनँथेँ ।’
‘तपाईंको आजको जिन्दगी ठीकै छ नि हैन ?’
‘मेरा लागि ठीक छ । तर उसको ?’
‘उहाँले नै हैन र गल्ती गरेको ?’
‘हैन, मैले हो । मैले पैसाका लाग पारिवारिक जीवन बन्धकी नराखेको भए उमेरमा साथ दिने जीवनसँगिनीसँग यसरी छुट्टिएर बस्नुपर्ने थिएन कि ? उसैले जन्माएका छोराहरूले गरेको दुव्र्यवहारका लागि समाजले उसलाई दोष देला तर त्यो दोष मेरो हो ।’
(घिमिरे चिर्चित साहित्यकार हुन् । उनका तीनवटा उपन्यासहरू प्रकाशित छन्)
[email protected]