अनुभूति

वि.सं. २००५ मा स्थापना भएको हाम्रो परिवारको जीवन–आधार कृष्ण पाउरोटी भण्डार स्थापना भएको ५ वर्ष लाग्दै थियो । यसैबीच पिताजीलाई एउटा कुराले पिरोल्न थाल्यो । आफूले त्यत्रो दुःख गरेर फस्टाउँदै गएको व्यवसायमा तीनजना दाजुहरूमध्ये ठूलो दाजु असन्तुष्ट हुने गर्नुहुन्थ्यो । पिताजीको कुरा उहाँ नखाने, दाजुको कुरा पिताजीलाई चित्त नबुझ्ने । स- साना विषयमा पनि बाबु- छोराबीच सधैँ ठाकठुक भइरहन्थ्यो । यसको परिणाम के भो भने पिताजीलाई मनमा निराशाको भावना भनौँ वा वैरागी भावना जाग्न थाल्यो । आफ्नै सन्तान आफ्नै छोराको दुव्र्यवहारबाट कुनचाहिँ बाबुको चित्त नदुख्ला, हृदय नरोला । यो भनिरहनु पर्ने होइन । अन्ततः आजित भई एक दिन पिताजीले एउटा कठोर निर्णय लिनुभयो ।
वि.सं. २००९ सालको अन्तिम महिनातिरको समय थियो । पिताजीले ढुकुटीमा रहेको सेफबाट १०/१२ हजार रूपैयाँ लिई अरू सबै त्यहीँ छाडेर सेफको साँचो आमालाई सुम्पनु भयो र भगवान् बुद्धको मन्दिर बनाउने मनसाय लिई घरपरिवार एवं कृष्ण पाउरोटी व्यवसाय सबै त्यागी सोझै पाटनको हौगलबहालमा रहेको कुलघरमा गई बस्नुभयो । त्यहाँ सँगै रहेको श्री बालकृष्ण हलुवाईको जग्गामा उहाँको अनुमति लिई बुद्धमन्दिर घर बनाउन थाल्नुभयो ।
यता कृष्ण पाउरोटी व्यवसाय दुईजना दाजुहरू- माहिलो, साँहिलो र आमाले सम्हाल्नु भयो तैपनि आमा बडो द्विविधामा पर्नुभयो । एकातिर बुद्धमन्दिर बनाउने पतिको धार्मिक कार्यमा अवरोध गर्न मनले मान्दैनथ्यो भने अर्कोतिर बाबुको कार्यबाट असन्तुष्ट भएका छोरोलाई उपेक्षा गर्न पनि सक्नु हुन्थेन उहाँ । साँच्चै नै ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ’ को अवस्थामा हुनुहुन्थ्यो होला । आमाको मनस्थिति यता यस्तो थियो भने उता पिताजीको मन- मस्तिष्क धार्मिक- कार्यमा पूरा समर्पित भएर एकसुरले बुद्धमन्दिर बनाउनुमा दत्तचित्त हुनुभयो ।
नेपालका विभिन्न ठाउँमा रहेका भगवान् बुद्धका प्रतिमाहरू सबैजसो पलेँटी मारेर बस्नु भएका ध्यान मुद्रा वा भूमिस्पर्श मुद्रा वा आशीर्वाद मुद्रा वा धर्मचक्र प्रवर्तन मुद्राका हुन्छन् । तर पिताजीले निमार्ण गर्न लगाउनुभएको बुद्ध–प्रतिमा उपर्युक्त मुद्रा कुनैसँग मेल नखाई नितान्त फरक थियो । उहाँले निर्माण गराउन लगाउनुभएको बुद्ध- प्रतिमा सिंहासनमा कोल्टो परी लेटेर दायाँ हातले टाउकोमा अडेस लगाई आराम गरिरहेको अत्यन्त चिन्ताकर्षक र अतुलनीय छ । यस किसिमको बुद्ध- प्रतिमा नेपालमा हालसम्म कहीँ–कतै नभएको यो पहिलो हो । अर्थात् यस किसिमको आराम गरिरहेको बुद्ध- प्रतिमा चिताकर्षक छ र हालसम्म यस किसिमको बुद्ध–प्रतिमा यही एक मात्र हो भनी चर्चा हुने गरेको सुन्न पाउँदा मेरो मन गर्वले ढक्क फुल्ने गर्छ ।
हुन त त्यो आनन्द बुद्धमन्दिर निर्माण गर्नका लागि स्वजातीय बन्धुहरूबाट केही चन्दा सङ्कलन नभएको होइन, भएको थियो । केवल ८-१० जनाबाट प्रतिव्यक्ति डेढ-दुई सयका दरले जम्माजम्मी १७/१८ सय मात्र सङ्कलन भएको रहेछ । तर त्यो चन्दा अति न्यून थियो, त्यो यथेष्ट थिएन र त्यसको धेरै गुणा बढी खर्च पिताजीले आफ्नै स्रोतबाट बेहोर्नु भई त्यो काम सम्पन्न गर्नुभएको थियो ।
वि.सं. २००९।०१० सालतिर एकजना हजारपति मेरा पिताजीले १०/१२ हजार रूपैयाँ पुण्य- कार्यमा खर्च गर्नु भनेको चानचुने कुरा थिएन । त्यो १०।१२ हजार अहिलेको मूल्य (Value of Money) मा कति गुणा बढी होला, म हिसाब लगाउन सक्दिनँ । तैपनि अनुमानको हिसाबले त्यो बुद्ध- मन्दिर भवन र बुद्ध- मूर्ति, र धर्मधातु एवम् चैत्य निर्माण गर्ने कार्यमा हालको हिसाबले कोही कुनैले ४०/५० लाख खर्च गर्छ भने त्यो ठूलो कार्य हो, ठूलो मन हो । यस्तो सत्कर्मलाई केही होइन भन्नु केवल हाम्रो छुद्रता मात्र हुनेछ । त्यसैले म गौरवका साथ भन्छु- पाटनको हौगलबहालमा वर्ष दिनसम्म त्यहीँ बसेर बुद्ध- मन्दिर घर बनाउन र त्यहाँ बुद्धमूर्ति, धर्मधातु र चैत्य प्रतिस्थापन गर्न वि.सं. २००९/१० सालमा रु. १०/१२ हजार खर्च गरी ती सबै निर्माणलाई व्यक्तिगत सम्पत्ति नगराई सार्वजनिक गराउनु भनेको पिताजी कृष्णबहादुरको ठूलो छाती हो, ठूलो देन हो, ठूलो पुण्य- कर्म हो ।
पिताजी घरमा दाजुसँग ठाकठुक भई दिक्क भई भगवान् बुद्धको मन्दिर घर बनाउनु आउनुभएको भन्ने कुरा गुठियारहरूले थाहा नपाउने कुरै थिएन, थाहा पाए र थाहा पाउनु स्वाभाविकै थियो । यसै कुरालाई आधार मानी कोही कुनै गुठियारबाट पिताजीप्रति लाञ्छना र आलोचना लगाउन थाले । उनीहरूले ‘ल हेर है, कृष्णबहादुरले धर्मको नाममा आफू बस्ने घर बनाइरहेको छ यो’ भनी हल्ला फिँजाइ दिएछन् । तर यस्तो लाञ्छनाबाट दुःखित हुनुको सट्टा पिताजी झन् हौसिनुभएको थियो । हुन पनि उहाँको पुण्य- कर्मको अगाडि यस्ता लाञ्छनाले कुनै रङ देखाएन ।
पिताजी भन्ने गर्नुहुन्थ्यो- ‘भगवान् बुद्धलाई त अनेक किसिमका लाञ्छना आएका थिए भने मजस्तो साधारण मानिसलाई नआउने कुरै छैन ।’ त्यसवेला बुद्धलाई आइपरेको दुःखबारे मलाई केही थाहा थिएन । पछि जब अध्ययन गरेर थाहा पाएँ पिताजीका उपर्युक्त वाक्यांशको गरिमा मलाई छर्लङ्ग भयो ।
अन्त्यमा पिताजीले बुद्ध- मन्दिरघर बनाउँदाको एउटा प्रसङ्ग बडो विचित्र खालको छ । जुन म यहाँ उल्लेख गरेर बिट मार्छु । हुन त यो घटनाक्रमले पिताजीलाई कैयान् दिनसम्म कति मानसिक तनाव र अनिद्राजस्ता शारीरिक कष्ट भयो होला ? अनुमान गर्न मुस्किल छ । तर यो घटनाले उहाँको जीवन त्यसवेला एकपटक ‘धाय मज्युगु खँ, कने मज्युगु वाखँ’ (नेवारी उखान जसको अर्थ- भन्न नहुने कुरा, हाल्न नहुने कथा) को भुँमरीमा नराम्ररी फस्न पुग्यो भने अर्कोतिर ईश्वरको अनुकम्पाले अदम्य प्रोत्साहित हुनपुग्यो ।
कुरा के भइदियो भने पिताजी मन्दिर बनाउने काममा दिनभरि खटेर राती लखतरान थाकेर गहिरो निद्रामा सुत्नुहुन्थ्यो । तर त्यसैवेला मन्दिरघर निर्माण गर्न ल्याइएका इँटाहरू राती- राती चोरिन थालिए । पिताजीलाई इँटा चोर्न नदिन राती जाग्राम बस्न निकै कठिनाइ भएछ । तर दिनदिनै इँटा खुरूखुरु चोरेको कुराले पिताजीको मन गह्रुङ्गो भइरहेको थियो । त्यसैले इँटा- चोर पत्ता लगाउन एक दिन दिउँसो सुती राती लुकेर जाग्राम बस्नुभएछ । नभन्दै, चोर आएर दुईवटा ठूला- ठूला झोलामा इँटाहरू कोच्दै ओसार्दै गरेको पिताजीले देख्नुभयो । तर जब चोरलाई पिताजीले ठम्याउनुभयो तब उहाँ आश्चर्यचकित हुनुभो । अपसोच ! चोरलाई भगाउन उहाँ कराउन सक्नुभएन । ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज’ जस्तै भएछ पिताजीलाई । उफ् ! चोर्न आउने मानिस त नजकिका नातेदार पो रहेछन् । ‘तैँ चुप मै चुप’ हुनुबाहेक पिताजीलाई अरू चारा नै भएन ।
यस घटनाले पिताजी निकै दिक्दार भएर हिस्सिनुभएछ । तर जीवनमा कालरात्रि मात्र होइन घमाइलो दिन पनि आउँछ । केही दिनपछि दिनहँु साँझ पर्नासाथ कहीँ- कतैबाट एउटा सर्प आई इँटाको चाङमाथि बस्न थाल्यो । अनि भोलिपल्ट बिहानचाहिँ त्यो सर्प त्यहाँबाट पन्छेर कतै जाने गर्दोरहेछ । यो कुरा एककान दुईकान हुँदै त्यो इँटा- चोरको कानमा पनि पर्यो । इँटामाथि राती सर्प बसेको हुन्छ भन्ने हल्लाले इँटा चोर्ने काम रोकियो ।
यसरी इँटाको चोरी रोक्नमा सर्पले सहयोग गरेको देखेर पिताजी र अरू मानिसहरूसमेत आश्चर्यमा परे । त्यो सर्प साँझतिर कहाँबाट आउँथ्यो र बिहानतिर त्यहाँबाट कतातिर जान्थ्यो, कसैलाई थाहा थिएन । केही दिनपछि त्यो सर्प पनि त्यहाँ आउन छाड्यो । तर यो घटनाले पिताजीलाई अपरिमेय आनन्दको अनुभूति भएछ । यसबाट उहाँलाई थप साहस, धैर्य, विश्वास जागेछ । त्यसवेला देख्ने- सुन्ने मानिसले पिताजीको काममा भगवान्को आशीर्वाद रहेको अर्थ लगाएका थिए । त्यसपछि सुबिस्तासाथ बुद्धमन्दिर घरको निर्माण कार्य पूरा गर्नुभयो ।
अन्त्यमा लगभग १ वर्षजतिको समय लगाएर पिताजीले बुद्ध- मन्दिर र बुद्धप्रतिमाको निर्माण सम्पन्न गरेर पुनः काठमाडौँको कमलपोखरीस्थित आफ्नो घर फर्कनुभयो । त्यसपछि कृष्ण पाउरोटी भण्डारको विकासमा फेरि सक्रिय भएर लाग्न थाल्नुभयो । जसले गर्दा परिवारका सदस्यहरूमा खुसीको लहर पनि चल्न थाल्यो । एक वर्षसम्म पिताजीविहीन अवस्थामा बस्नुपर्दा आमालगायत हामी सबैलाई धेरै नै कष्ट भएको थियो । पिताजीको आगमनले हाम्रो जीवनमा नयाँ बहार आइदियो ।
(राजकर्णिकार स्थापित साहित्यकार हुन्)