मैले २०३८ सालमा धनकुटा सवारी शिविरमा राजालाई कविता सुनाएको खबर गोरखापत्रमा पढेपछि र राजा–रानीसँग भेट गर्दाको फोटो देखेपछि मेरो पिताजीले पहिलोपल्ट म कवि लेखक भएकोमा गर्व गर्नुभयो । मेरो साहित्यिक व्यक्तित्वले पिताको तर्फबाट मान्यता पायो । यो घटना मेरो लेखनयात्राको दोस्रो टर्निङ् पोइन्ट थियो ।
२०३४ सालमा पहिलो कथा प्रकाशित हुनुभन्दा अघिदेखि लेखनमा लागेको भए पनि पहिलो कथा फ्रन्डस् क्लब कोपुन्डोलको मुखपत्र ‘आस्था’ मा ‘किनारा’ शीर्षकको कथा प्रकाशित भएपछि मेरो रचनाले प्रकाशनको संसारमा प्रवेश गरेको थियो । यो मेरो पहिलो टर्निङ् पोइन्ट थियो ।
२०३६ सालमा सडककविता–क्रान्तिमा सक्रियरूपले एक महिना भन्दा बढी भाग लिनु र मोहन कोइराला, हरिभक्त कटुवाल, शैलेन्द्र साकार, भवानी घिमिरेजस्ता अग्रज कलमशिल्पीहरूसँग बसउठ गर्न पाउनु, एउटै मञ्चमा बस्न पाउनु र रचना वाचन गर्ने अवसर पाउनु मेरो दोस्रो टर्निंङ् पोइन्ट थियो । तर मेरो पिताजीलाई यी सबले कुनै प्रभाव पारेको थिएन । साहित्य भन्ने विषयमा लाग्ने मेरो कुलवंशको म पहिलो व्यक्ति थिएँ र मेरा अग्रजहरू सबै साधारण शिक्षा प्राप्त र साक्षार मात्र थिए, त्यसैले पनि साहित्यको मूल्य र महत्वबारे बेखबर थिए ।
म त्यही बेखबर बिषयमा लट्टू भैसकेको थिएँ । मैले सडककविता–क्रान्तिमा भाग लिनका लागि एउटा परीक्षा तिलाञ्जली दिएको कुरा पनि पिताजीलाई थाहा थिएन । थाहा पाउनु भएको भए उहाँलाई सह्य नहुने पक्का थियो । उहाँलाई मैले कविता पढेको समाचार, अखबारमा छापिएको मेरो फोटो केहीसँग पनि खासै सरोकार थिएन । राम्रो पढोस्, राम्रो जागिर खाओस् र काठमाडौँमा घरघडेरी जोडोस् भन्ने मात्र थियो ।
तर जब मैले कविता राजालाई सुनाउने अवसर पाएँ, राजालाई भेट गर्ने अवसर पाएँ, राजासँग फोटो खिच्ने अवसर पाएँ, पिताजीको साहित्यप्रतिको पुरानो दृष्टि र दृष्टिकोण पूरै बदलियो र उहाँले गर्वको महसुस गर्नुभयो । यो मेरो साहित्ययात्राको अर्को महत्वपूर्ण टर्निङ् पोइन्ट भइदियो ।
कसरी त्यो अवसर पाएँ त ? यसको पृष्ठभूमि रोचक छ ।
२०३६ सालको जनआन्दोलनपछि तुलसी दिवसले यौटा साहित्यिक संस्थाको परिकल्पना गरे । त्यो परिकल्पना हुँदा म पनि जोडिएँ । संस्थाको नामकरण, दर्ता र पहिलो निर्वाचनसम्म म निकै नजिक भएँ । नाम जुराइयो ‘सिर्जनशील साहित्यिक समाज’ अर्थात् ‘सिसास’ । यो संस्थाको परिकल्पनाकार तुलसी दिवसकै निवासमा धेरैपटक बैठक बस्यो । नगेन्द्रराज शर्मा, रोचक घिमिरे, क्षेत्रप्रताप अधिकारी, अशेष मल्ल, हेम हमाललगायत म पनि बैठकमा सामेल हुन्थेँ । त्यसैले मैले सबैसँग नजिकिने मौका पाएँ । संस्था दर्ता भयो । अब चुनावी प्रकृयाबाट संस्था सञ्चालन गर्ने भएपछि स्वभावतः तुलसी दिवस अध्यक्षको लागि तयार भए । यो उनकै ‘ब्रेन चाइल्ड’ थियो । तर क्षेत्रप्रतापले पनि अध्यक्षका लागि रुचि लिएका छन् भन्ने भएपछि त्यसको अचुक उपाय निकालियो क्षेत्रप्रताप अधिकारीलाई चुनाव आयोगको अध्यक्ष बनाएर । तर पछि ईश्वरवल्लभ एक्लै उठे र हारे अध्यक्षमा । अरू सबै पद निर्विरोध भयो ।
सिर्जनशील साहित्य समाजले छोटो समयमै नेपाली साहित्यमा हल्लीखल्ली मच्चाउन सफल भयो । नियमित तर फरक खालको साहित्यिक गोष्ठीहरूको आयोजना, विभिन्न जिल्लाका कविलेखकलाई काठमाडौँ बोलाएर साहित्य गोष्ठीको आयोजना गर्न थालेपछि यसले मिनी एकेडेमीको काम गर्न थालेको महसुस गर्नथाले साहित्यकारहरूले । केहीले साहित्यिक पत्रकार सङ्घको विपक्षमा काउन्टर दिन खोलिएको समेत भने, यथार्थमा त्यो थिएन । बरु सिसासले एकेडेमीलाई चाहिँ काउन्टर दिनथालेको थियो ।
यसैबीच २०३८ सालमा राजाको पूर्वाञ्चल विकासक्षेत्रको क्षेत्रीय भ्रमणको पालो थियो । सवारी शिविर धनकुटामा थियो, तुलसी दिवसको गृहनगरमा । उनले राजाको सचिवसँग कुरा मिलाएर सवारी शिविरमा सिसासको तर्फवाट कवितागोष्ठीका लागि तयारी गरे । तुलसी दिवसको नेतृत्वमा नेपाल तथा एसियाली अध्ययन केन्द्र अर्थात् सिनासको मिनीबसमा हामी सिसासका एक टोली सवारी शिविरको कविगोष्ठीका लागि जाने भयौँ । मलाई पनि तुलसी दिवसले टोलीमा सामेल गरे ।
खासमा यस्तो सवारी शिविरमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको तर्फबाट कविगोष्ठीको आयोजना गर्ने परम्परा थियो । केही कवि र प्राज्ञहरू राजधानीबाट जाने र अरू स्थानीय त्यस क्षेत्रका कविहरूलाई समेट्ने प्रचलन थियो । सिसासको टोलीमा हामी धनकुटा प्रस्थान गरेपछि एकेडेमीमा भुइँचालो गयो । रातारात गरेर तत्कालीन सदस्य–सचिव विजय मल्ल र प्रज्ञा प्रशासनका कवि हेमन्त श्रेष्ठले काठमाडौँबाट कविहरूको टोली लिएर धनकुटा पुगे । एक किसिमको द्वन्द्वको स्थिति देखापर्यो । तर तुलसी दिवस र विजय मल्ल दुवैका सूत्रधार तारणहार राजाका सचिव नारायणप्रसाद श्रेष्ठ थिए । त्यसैले सिसास र एकेडेमीको संयुक्त आयोजनामा सवारी शिविरमा कविगोष्ठी आयोजना गर्ने र दुवै टोलीमा आएका सबैलाई समेट्ने सम्झौता भयो ।
धनकुटा जान त भइयो, राजालाई कविता सुनाउन । तर त्यसका लागि राष्ट्रिय पोसाक अनिवार्य थियो । दौरा, सुरुवाल, कोट, टोपी र जुत्ता । मैले त्यतिन्जेल कोट लगाएकै थिइनँ । कोट लाउने हैसियत र आवश्यकता दुवै थिएन । दौरा–सुरुवाल त झन् चाहिने कुरै थिएन । मसँग टोपी र जुत्ता थियो । मैले यसो सोचेँ, किशोर पहाडीका बुबाको दौरा–सुरुवाल काम लाग्थ्यो कि ? किशोर पहाडीको घरमा मेरो आउजाउ बाक्लै थियो । परिवारका सबै सदस्यहरूसँग राम्रो चिनाजानी र आत्मीयता थियो । मैले भन्नेबित्तिकै मैले दौरा–सुरुवाल पाएँ । तर होचा कदका मोटा थिए किशोर पहाडीका पिता । म थिएँ– सदाको दुब्लो, पिलन्धरे । काम चलाउने त हो केही घन्टाका लागि भनेर ल्याएँ । डेरामा सँगै बस्ने टक्कर थापाको कटराइजको कोट पनि मैले पाउने भएँ । यसरी मागेको कोट र दौरा–सुरुवालसहित पुगेको थिएँ म पहिलोपल्ट धनकुटा राजालाई कविता सुनाउन ।
मैले त्यस दिन लगाएको दौरा–सुरुवालको वास्तविक हविगत देख्ने र परख गर्ने व्यक्ति थिए मोहनहिमांशु थापा । उनी जहिले भेट्दा पनि त्यो दिनको मेरो हविगतको सम्झना गर्छन् र मज्जाले हाँस्छन् । यो बेग्लै कुरा हो । कवितावाचनपछि राजाबाट बक्स भएको छुट्टाछुट्टै दर्शनभेटको तस्बिरमा त्यस्तो केही देखिन्न । बरु तस्बिरमा मैले राजालाई केही भनिरहेको र रानी ऐश्वर्यले गहिरोसँग मलाई हेरिरहेको देखिन्छ । त्यो फोटो सूचना विभागमा लिन जाँदा फोटोग्राफर मङ्गल श्रेष्ठले पनि भनेका थिए– बडामहारानीले त तपाईंलाई कस्तरी नियालेर हेरिबक्सेको’ भनेर ।
यसरी मैले पहिलोपल्ट सिसास र तुलसी दिवसको कारणले राजालाई कविता सुनाउने अवसर पाएको थिएँ । सिसास र तुलसी दिवस नभएको भए एकेडेमीको तर्फबाट मैले सवारी शिविरमा कविता भन्न धनकुटा जाने निम्तो पाउने कुनै सम्भावना थिएन । मेरो एकेडेमीका प्राज्ञ, सदस्य–सचिव, उपकुलपति, कुलपति कसैसँग बसउठ र सम्पर्क थिएन, न निम्तो गर्नैपर्ने कविको हैसियत बनिसकेको थियो ।
सिसासको तर्फबाट फेरि त्यसरी नै पोखराको सवारी शिविरमा हुने कविगोष्ठीका लागि तुलसी दिवसकै नेतृत्वमा हेम हमाल, नगेन्द्रराज शर्मा र म पोखरा पुगेका थियौँ । तर यसपालि सवारीशिविरमा कविता पढ्न पाउने पक्का छैन, रिस्क लिएर जाने हो भनेर तुलसी दिवसले पहिल्यै सचेत गराएका थिए । हुन पनि सिसासले पोखरेली कविहरूको भाग खोस्न गएजस्तो आक्षेप लाग्यो र सिसासको भागमा दुई कवि मात्र परे । तुलसी दिवस र हेम हमालले कविता पढ्ने भए, बाँकी हामीले चान्स पाएनौँ ।
दोस्रोपटक राजालाई एकेडेमीमा गाईजात्रा महोत्सवमा हास्यव्यङ्ग्य कविता सुनाउने अवसर जुर्यो मेरो बिहा भएकै साल, विसं २०४० मा । ‘देश, काल, परिस्थितिअनुसार चल्नुपर्छ’ शीर्षकको कविता एकेडेमीले छनौटमा पारेको थियो । यसपल्ट भने दौरा, सुरुवाल, कोट, टोपी आफ्नै थियो ।
यस कवितावाचनको विषयमा ‘अभिव्यक्ति’ को ‘यताउतिबाट’ स्तम्भमा ठट्टा छापियो । सायँकालीन मदिरापानको सिलसिलामा भएको गसिपमा विनोद दीक्षितले त्यो कविता पनि कविता हो र ? भनेर व्यङ्ग्य गरेको भनेर छापिएको थियो । त्यसलगत्तै नयाँसडक पीपलबोटमुनि विनोद दीक्षित भेटिए । ‘समीक्षा’ मा मेरा रचना छापिएका थिए । सडककविता– क्रान्तिमा भाग लिने कविका रूपमा मुखपृष्ठमै फोटोसमेत छापिएको थियो । मदनमणि माड्सापसँग राम्रो आत्मीयता थियो । विनोद दििक्षतसँग पनि स्नेहवत् सम्बन्ध थियो । विनोद दीक्षितलाई दाइ भन्थेँ र अझै पनि अग्रज दाइकै रूपमा सम्मान गर्छु । उनले भने– ‘खासमा गोविन्दजी कुरा के भयो भने तपाईंको कविताको चर्चा चलेको चाहिँ हो, तर अभिव्यक्तिमा छापिएजस्तो मैले भनेको होइन । गसिप बनाउँदा त्यस्तो लेखेछन् ।’
मैले प्रतिक्रियामा भन्ने कुरै क्यै थिएन । तर अचानक मेरो मुखबाट निस्कियो– ‘त्यसो भए समीक्षामा त्यो कविता छाप्नूस्, कुरै सकिन्छ ।’
‘लौ, भैहाल्छ नि !’ विनोद दीक्षितले भने । मैले एकदुई दिनमा कालिकास्थान समीक्षाको कार्यालयमा गएँ र कविता दिएँ । कविता अर्को अङ्कमा छापियो । यसरी त्यो राजालाई सुनाएको कविताले रमाइलो गरेको थियो ।
तेस्रोपल्ट भने आफ्नै गृहनगर हेटौँडामा २०४४ सालमा सवारीशिविरमा फेरि कविता सुनाउने अवसर जुट्यो । तर राजासँग फोटो खिच्ने अवसर कसैले पाएनन् ।
साँच्चै भन्ने हो भने पहिलोपल्ट २०३८ सालमा राजालाई कविता सुनाएर मेरो कविजीवनमा जुन टर्निङ् पोइन्ट आयो, त्यो नै मेरो लागि कोशेढुङ्गा हुनगयो । आफ्नो पिताजीबाट कविको मान्यता पाउनु मेरो ठूलो उपलब्धि थियो ।
…………………………………….
(हाल : वृन्दावन, भारत । गिरी स्थापित स्रष्टा हुन् ।)
[email protected]