कविता
![](https://aksharang.com/wp-content/uploads/2021/03/Friday_Mar_05-02.jpg)
एउटा चरो
पर क्षितिजबाट ह्वात्तै उड्दै आउँछ
हाँगोमा अचानक आसन जमाउँछ
रूखमा हङ्गामा मच्चाउँछ
र एकैछिन त्राहिमाम् गराउँछ !
बस्दै आएको चरो
केही बेरपछि एक्कासि
स्वाट्टै उडेर क्षितिजकै बाटो तताउँछ
र आउँदा जस्तै जाँदा पनि
रूखभरि कोलाहल मच्चाउँछ !
चरो बस्ता पनि हलचल
चरो उड्दा पनि खलबल !
जसरी हुत्तिन्छ मान्छे
कि त बिजुलीको करेन्ट लाग्दा
कि त करेन्टले छोड्दा !
जसरी उम्लिन्छ प्रेमी
या त माया–तालमा हाम फाल्दा
या त उत्रिँदा !
जसरी दियो झललल्ल बल्छ
कि त सल्किने वेलामा
कि त निभ्ने वेलामा !
जसरी हवाईजहाजले थर्काउँछ
कि त टेक अफ गर्दा
कि त टच डाउनमा पर्दा !
जसरी मेघ बेस्सरी गर्जिन्छ
कि त बिजुली चम्केपछि
कि त चट्याङ्ग परेपछि !
जसरी मान्छे बढी हल्ला गर्छ
कि त आगमनको सुखमा
कि त गमनको दुःखमा !
बीचमा त एउटा छोटो ब्रेक
अर्थात्
व्यापारिक विश्राम !
……………………………………..
(कोइराला चर्चित कवि तथा गीतकार हुन् । उनका चारवटा पुस्तक र पाँचवटा गीतिएल्बम प्रकाशित छन् )
[email protected]