बाकस - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

बाकस

व्रजेश

व्रजेश

म सानो केटाकेटी,
दङ्ग परेथेँ त्यस दिन
जुन दिन हाम्रो घरमा पनि आयो
एउटा हेर्दै राम्रो बाकस
भन्न मन लागेको थियो सबलाई
ए सुन्यौ ?
हाम्रो घरमा नि आयो बाकस
नपत्याएको तिमीहरूले ?
सत्ते धरोधर्म विद्यानाश
साँच्चै हाम्रो घरमा नि आयो बाकस
तिमीहरूले सानो कन्तुर भन्ठान्लाऊ फेरि
अजङ्गको लामो बाकस
सोच्थेँ पहिले म–
अरूको घरमा
बाकस आएको देख्दा,
हाम्रो घरमा पनि बाकस आए हुन्थ्यो
गाउँघरका बूढापाकाहरूको भीड
हाम्रो आँगनमा पनि धाए हुन्थ्यो
कुरा केही नबुझे पनि मलाई लाग्थ्यो
आठ–दस जनाले बोकेर ठूलो बाकस
हाम्रो आँगनमा पनि ल्याए हुन्थ्यो
सुनेथेँ, बाकसमा केशरीका बा आएका थिए रे
अनि आएका थिए वेलावेला
करीमका बा, दोर्जेका बा र अस्कलालका बा
मलाई लाग्थ्यो,
म जन्मेकै साल पैसा कमाउन गएका मेरा बा
मैले सुनेको तर देख्न नपाएको मेरा बा
अरूका बाजस्तै चाँडै
बाकसमा फर्केर आए हुन्थ्यो नि

तर मलाई के थाहा
बाकसमा सुतेर आउने बा त
फेरि कहिले नउठ्ने पो रै’छन्
अनि ल्याउने रै’नछन् तिनले
मेरा लागि नयाँ नाना र खेलौना
मीठामीठा खानेकुरा हैन
तीतो वास्तविकता ल्याउने रहेछन्
बाकसमा एकपटक आए भने बा
फेरि फर्केर नआउने रहेछन्
बुझ्दा ढिलो भै’सकेछ मैले
नत्र म सोच्थेँ होला
बरू ढिलै आऊन् मेरा बा
जति पछि नै आऊन्
तर बाकसमा नआऊन्
हाम्रो आँगनमा बाकस नआओस्
कसैको आँगनमा नआओस्
बाहिर चिल्लो,
तर भित्र खस्रो यथार्थ बोकेको
बाहरू सुतेको बाकस
……………………………………….
(व्रजेशका तीनवटा कृति प्रकाशित छन्)
brazesh@gmail.com