बिहानबिहानै
आफ्ना छालहरू साथ लिएर
समुद्र
किनारको बालुवासम्म
आउँछ
केही बालुवा फाल्छ
केही फिर्ता लान्छ
खासमा समुद्र
आफ्ना कचेराहरू फाल्न
पानी–पानी कुद्दैकुद्दै
किनारमा ठोकिन्छ
ठूलो भारी बिसाएर
फेरि गहिराइमा फर्कन्छ
यस्तोमा समुद्र
किनारबाट केही बालुवा
फिर्ता लगेजस्तो गर्छ
यथार्थमा
त्यसमाथि थुप्रै थपेर
फर्किएको हुन्छ
कुचा हुन
समुद्रका छालहरू
भर बिहान यी
अनेक कचेरा, कसिङ्गर ल्याएर
किनारमा फाल्दै
फर्कंदै, आउँदै गरिरहन्छन्
किनारमा देखिन्छन्
समुद्रका घुर्यान
सिपीका खोस्टाहरू
मृत गङ्गेटाहरू
मसिना सङ्खेकीराहरूका अनेक प्रजातिहरू
पानी गोङ्गेराहरू
लेउहरू, झारहरू
त्यसमा लेस्सिएका
अनेक जलचरका
तुहिएका गर्भहरू
कोरलिन थालेका
विविध जलजीवका अन्डाहरू
समुद्रले नचाहँदानचाहँदै
छालसँग बडारिएर
किनारका बालुवामा फालिन
आउँछन्
जिउँदा भुरामाछाहरू
मसिना जीवहरू
ती सब
सुन्दर, कोमल ज्यानहरूको
बाँच्ने प्रयत्नका
हलचल
छटपटि
देख्नासाथ
यत्र, तत्र
तिनकै खोजमा बालुवा ठुङ्दै
हिँडिरहेका
सिगलचराहरू
फुर्र आइपुग्छन्
र एकएक प्राण पटापट टिप्दै
निल्दै, उड्दै
फर्कंदै गर्छन्
अत्यन्त आह्लादक हुन्छ
यी चराहरूको
चारो टिपाइ
तिनको पर्खाइ
र मस्तीको लस्काइ
चराहरूलाई चारो हाल्न
छालहरू पनि
रमाएको लाग्छन्
हरेक आगमनमा ती
समुद्रका निर्बल मसिना
जीवहरू ल्याएर
बालुवामा फाल्छन्
भनाइ छ
कसैले मर्नुपर्छ
कोही बाँच्न,
समुद्र पनि भन्छ
यो रीतको अन्त
कुनै पनि दैवले गर्न सक्दैन तर,
एक दिन
मानिसका दुर्गत चालले
असमयमै म पनि मर्दैछु
यस चिन्तामा
समुद्र अचेल
किनारमा
लेउहरू, झारहरूसँगै
पोलिथिनका झोलाहरू
प्लास्टिकका बट्टाहरू, गोल्टिनहरू, बोतलहरू
ट्वाकहरू, सिसाहरू
असङ्ख्य फालिरहेछ
कारखानाका अपच फाल्दाफाल्दा
समुद्र
मानिसका बुद्धिसँग
हैरान हुँदैछ
भन्दैछ
प्लास्टिकहरू निल्दानिल्दा
दूषित झोलहरू पिउँदैपिउँदै
शार्कहरूसँगै
ह्वेलहरूसँगै
असङ्ख्य जीवहरूसँगै
एक दिन म पनि मर्नेछु
मानिसहरू आफ्नो धर्ती
बन्जर देख्नेछन्
मेरो ठाउँ
मरुभूमिको खाडल हुनेछ
श्वेत धवलका हिमालहरू
काला पत्थरको डरलाग्दो अग्लाइ हुनेछ
शीतल वनका पहाडहरू
अजङ्गको फुस्रे हुनेछन्
सर्वत्र भोकमरी चल्नेछ
हर कुना
कङ्कालहरू मात्र देखिनेछन्
एक दिन जलथलका प्राणीहरूसँगै
मानिसहरू सकिनेछन्
पानी खोज्दै
प्राणी खोज्दै
यस लोकका वैज्ञानिकहरू
चन्द्रलोक
मङ्गललोक
उडेझैँ
कुनै काल आगमनको
एक दिन
वृक्षहरू
जलका ताल–तलैयाहरू र
यताका प्राणीहरू खोज्दै
अनेक ग्रहका ज्ञानीहरू
उडान भर्दै
पृथ्वीमा झर्नेछन् र
मानिसका कर्तुतले
मर्नु पारेका
वृक्षहरू
चराहरू
तिनका गुँडहरू, बचेराहरू
भीमकाय सामुद्रिक जीवहरू
र मानिसहरूलाई
फोसिलमा भेट्नेछन्
यो दुर्दान्त, आश्चर्यको भण्डारबाट
गजबको शिक्षा लिएर
नक्षत्रका ज्ञानीहरू
आआफ्ना ग्रह फर्कनेछन्
नक्षत्रमा जोगिनेछ
समुद्र ।
■
(राजव स्थापित कवि–आख्यानकार हुन् ।)