• २०७९ असोज १८ मङ्गलबार

पुतला र नर्कटहरू

गोविन्द गिरी प्रेरणा

गोविन्द गिरी प्रेरणा

अट्टहास गरिरहेछन् बुख्याँचाहरू
खितखिताइरहेछन् पुतलाहरू
हिनहिनाइरहेछन् नर्कटका घोडाहरू !

हरेक साल ठडिन्छन् बुख्याँचाहरू
खेतमा, बारीमा
फरिया पेटिकोटका लुगामाथि
बोराको कोट
हातमा काठको बन्दुक
अटेन्सन मुद्रामा
पुतला पनि त्यसरी नै
ठडिइन्छ
हाउगुजीका लागि ।

दौडिरहन्छन् गुटुटु नर्कटका घोडाहरू
हरेक साल गठेमङ्गलमा
र बिसाइन्छन् वाग्मतीको किनारमा ।

जानेर पनि बुख्याँचाको हैसियत
पुतलाको पुरुषार्थ
नर्कटको घोडाको निर्जीवता
अभिशप्त छन् मान्छेहरू
यौटा भ्रम बोकिरहन
यौटा नक्कली त्रास बेहोरिरहन
यौटा मूर्खतालाई निरन्तरता दिइरहन !

प्रश्न यत्ति छ–
यो भ्रम कतिन्जेल ?
यो नक्कली त्रास कतिन्जेल ?
यो मूर्खता कतिन्जेल ?

२९ अप्रिल २०२०, वृन्दावन, भारत
…………………………………
(गिरी गद्य–पद्य दुवै विधामा समानरूपले कलम चलाउने स्थापित स्रष्ट हुन् ।)
[email protected]