• २०८१ मंसिर २९ शनिवार

म सन्की होइन, स्वाभिमानी हुँ

कालीप्रसाल रिजाल

 

वरिष्ठ कवि, गीतकार एवम् पूर्व प्रशासक कालीप्रसाद रिजालसँग उनका सिर्जना र प्रशासनिक जीवनमाथि केन्द्रित रही ‘अक्षरङ्ग’का लागि रमण घिमिरेले लिएको अन्तरवार्ता :

बन्दाबन्दीमा सिर्जना कत्तिको फुर्दैछ ?
मेरो विचारमा सिर्जनात्मकता भनेको मन–मस्तिष्कबाट यदाकदा निस्कने झिल्काजस्तै हो । जसरी दुइटा ढुङ्गा ठेक्किँदा झिलिक्क झिल्को निस्कन्छ, त्यसै गरी मानिस–मानिससितको अन्तरक्रिया, अन्तरसंवाद र साक्षात्कारबाट सिर्जनात्मक भावना विकसित भई चेतनाको प्रस्फुरण हुनेगर्छ । कहिलेकाहीँ त मलाई आफूले रचेको, आफ्नो नाममा प्रकाशित भएको साहित्यिक कृति के सही मानेमा मेरो मात्रै हो ? भनेर आफैँसँग प्रश्न गर्न मन लाग्छ । किनभने त्यो रचना त मैले देखेका कतिपय दृश्य, साक्षात्कार गरेका कतिपय व्यक्ति र मैले पढेका, सुनेका कतिपय घटना–दुर्घटनासित सम्बन्धित हुनेगर्छन् । म त यी दृश्य–परिदृश्य र साक्षात्कारबाट निःसृत भावनाहरूलाई मात्र अक्षरका माध्यमबाट काजगमा उतारिरहेको हुन्छु । यी दृश्य–परिदृश्यहरूलाई हटाइदिने हो भने म फगत एउटा कोरा कागजमा परिणत हुन्छु ।
बन्दाबन्दीको वर्तमान समयमा मेरो मन–मस्तिष्क त्यस्तै कोरा कागज बन्न पुगेको छ । म शून्यजस्तो स्थितिमा बाँचिरहेको छु । अथवा भनौँ, सास फेरिरहेको छु ।

कालीप्रसाद रिजालको खास परिचय के हो, कवि, गीतकार या एउटा सेवानिवृत्त प्रकाशक ?
मेरो परिचयबाट कवि, गीतकार र सेवानिवृत्त प्रशासकमध्ये कुनै एक पक्षलाई मात्र हटाइदिने हो भने म अधुरो हुन्छु । यी तीनै पक्ष मिलेर नै म ‘म’ भएको हुँ । अर्को कुरा गीतलाई पनि कविताकै एउटा स्वरूप मान्ने गर्छु । ‘बिहान उठ्नेबित्तिकै’ भन्ने कविता मधुपर्कमा प्रकाशित भएको थियो । आलोकश्रीले मन पराएर त्यसलाई सङ्गीतवद्ध गरिदिए, रामकृष्ण ढकालले गाइदिए र त्यो गीत भयो । मेरा कतिपय रचनाहरू गाइदिए गीत र पाठ गरिदिए कविता हुने किसिमका छन् ।

तपाईंलाई आममानिसबीच केले बढी चिनायो ?
म आफ्ना कविता र गीतबाटै साहित्यिक वृत्तमा चिनिएको हुँ । तर गीत सबै वर्गका व्यक्तिले सुन्ने गर्छन् । त्यसैले व्यापकरूपमा मान्छेमान्छेबीच चिनाउने कामचाहिँ गीतले नै गरेको हो । अर्को कुरा गीत सरल र बोधगम्य हुनेगर्छ । कविताले साहित्यिक वृत्तमा परिचित गराउँछ भने गीतले आममान्छेबीच पु-याएर लोकप्रिय बनाइदिन्छ ।

तपाईंसँगै अवकाश पाएका प्रशासकहरू आज पनि गाडी चढेर सररर हिँड्छन् तर तपाई माइक्रोबसमै झुन्डिएर यात्रा गरिरहनुभएको छ । किन ?
यस मानेमा मलाई अव्यावहारिक भन्न सकिन्छ । मेरा परिवारजन पनि यसै भन्दा हुन् । म आफ्नो मनको आवाज र भावनाबाट अभिप्रेरित हुने व्यक्ति हुँ । सूचनाविभागको निर्देशक पदमा बहाली रहेको मान्छे प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित गाईजात्रा कार्यक्रममा त्यस वेलाको सरकार, व्यवस्था र राजनेताहरूले गरेको कुकृत्य, विभिन्न काण्डहरूको भण्डाफोर गरेर व्यङ्ग्यकविता सुनाउन पुगेँ । भोलिपल्टै खोसुवापुर्जी पठाइयो । सबैले भन्सार छुटको सुविधाको फाइदा उठाएर गाडी किने, कतिले त्यो गाडी बेचेर या ट्याक्सीको रूपमा चलाउन लगाएर राम्रै आम्दानी गरे । सबैले लिएको, पाएको सुविधाको उपभोग किन नगर्ने भनेर परिवारले दबाव पनि दिए । तर मैले मानिनँ । उल्टै व्यङ्ग्य गरेर ‘पजेरो’ कविता लेखेँ । जनआन्दोलनपछि निर्वाचित काङ्ग्रेसको सरकारले आठ जना उच्च पदाधिकारीहरूलाई खोसुवापुर्जी थमायो । खोसुवा हुनेमा मेरो नाम अग्रपङ्क्तिमा थियो । मबाहेक अरूले सर्वोच्च अदालतमा रिट दायर गरे । जागिरमा पुनर्वहाली भएर सचिव भए । उनीहरूले आफ्नो हदसम्म जागिर खाए । परिवारको आग्रहलाई बेवास्ता गरेर मैले रिट दायर गरिनँ । बाँकी जीवन साहित्य–सिर्जना गरेर बिताउने निर्णय गरेँ । अहिले मसितै अवकाश पाएर पुनर्वहाली भएका साथीहरू पजेरो गाडी चढ्दै हिँड्छन् । सचिवको पेन्सन बुझ्छन् । र, म बसमा, माइक्रोमा झुन्डिएर यात्रा गरिरहेको छु । लामो अवधिसम्म विशिष्ट श्रेणीको पदमा काम गरेर पनि अहिले म सहसचिवको पेन्सन बुझिरहेको छु । यसमा मलाई कुनै पछुतो छैन । हिजोआज धेरै साथीभाइहरू तर्किने गरेको देखेको छु, गाडीमा लिफ्ट माग्छ भनेर होला । कामकुरो एकातिर पारेर आजको समाजमा कसले लिफ्ट दिने काम गर्छ ? सबैलाई आफ्नै कामको हतारो हुन्छ ।

‘साद्गीजीवन उच्चविचार’ लाई डो-याएर हिँड्दा कतिको सजिलो या अप्ठ्यारो भइरहेको छ ?
‘साद्गीजीवन उच्चविचार’ भन्ने उक्ति ममाथि कति चरितार्थ हुन्छ, म भन्न सक्तिनँ । म त्यसको दाबी पनि गर्दिनँ । उच्चस्तरको जीवनशैली अपनाउन सक्ने सामथ्र्य नभएपछि हैसियतअनुसारको जीवन बाँच्नैपर्छ । यसलाई त्याग या सादा जीवन भन्न कति मिल्ला ? यतिचाहिँ हो कि म आफूलाई आममान्छे भन्न रुचाउँछु । मलाई कुनै पनि आधारमा वर्गीकरण गरेर मान्छेबीच विशिष्टीकरण गरेको मन पर्दैन । मलाई बुद्धिजीवी भनेको पनि मन पर्दैन । अरू जीवजन्तुको तुलनामा बढी चेतनशील जीव हो मान्छे । यसैले सबै मान्छे बुद्धिजीवी हुन् । एउटा आकस्मिकता हो कि म मध्यमवर्गीय परिवारमा जन्म लिनपुगेँ । दुई–चार अक्षर पढ्न पाएँ । जागिरे भएँ । केही लेखेँ र परिचय बनाएँ । गाउँघरको श्रमिक परिवारमा जन्मेको भए म पनि खेत खनिरहेको हुन्थेँ, भारी बोकिरहेको हुन्थेँ । यसलाई मैले बुझेको छु । त्यसैले धेरै फूर्तिफार्ती र प्रदर्शन गरेको मलाई मन पर्दैन । हरिभक्त कटुवालको गीत सापटी लिएर भन्नेगर्छु– ‘म जे छे ठीकै छु, बिथोल्न नआऊ !’ हो, म यहीँ हुँ, यस्तै छु ।

तपाईंलाई केही मानिसहरू सन्काहा, झडङ्गे स्वभावको पनि भन्छन् नि ! तपाईंं आफ्नो समीक्षा कसरी गर्नुहुन्छ ?
यसमा परिवारजनको गुनासो हुनु स्वाभाविकै हो । उनीहरूको दृष्टिमा म सन्की हुनसक्छु । तर म आफूलाई सन्कीभन्दा पनि आफ्नो आत्माबाट निर्देशित स्वाभिमानी व्यक्ति ठान्दछु । यस अर्थमा म सन्की होइन, स्वाभिमानी ठान्छु आफूलाई । मौकाको फाइदा नउठाउने व्यक्तिलाई प्रचलित भाषामा सन्की र मूर्ख भन्ने गरिन्छ क्यार । मेरो परिवारजनलाई पनि यस्तै लाग्दो होला । तर म स्वीकार गर्छु– म त्यति व्यावहारिक हुन सकिनँ । पदमा बहाल रहँदै तत्कालीन व्यवस्था र त्यस वेला भएका विकृति र विसङगतिउपर व्यङ्ग्य गरेर कविता सुनाउने कुरा कर्मचारीलाई सुहाउने काम थिएन । कर्मचारी भएपछि आचारसंहिताको पालना गर्नुपर्छ । त्यस्तै सरकारले पुरस्कारस्वरूप भन्सार छुटको सुविधा प्रदान गरेपछि, त्यो सामान्य– सबै कर्मचारीले उपभोग गर्ने कुरा हो । नियम–कानुनसम्मत विषय हो । तर मेरो आत्माले मलाई त्यो सुविधा लिने अनुमति दिएन । नैतिकताको धरातलमा मलाई उचित लागेन । मेरा यस्तै सोच र क्रियाकलापका कारण मेरा परिवारजन पनि धेरै सुविधा र सहुलियतबाट वञ्चित भए । यस आधारमा मलाई उनीहरूले सन्की भन्न सक्छन् । तर म आफूलाई बदल्न सक्तनँ । कमजोरी, अव्यावहारिकता, एकलकाँटेपन पनि मेरा विशेषता नै हुन् । मलाई स्वीकार गर्नेले मेरा यी सबै कमजोरी पनि स्वीकार गर्नुपर्छ । अर्को विकल्प पनि छैन ।

कविता र गीतमध्ये एउटा छान्नुप-यो भने कुनलाई छान्नुहुन्छ ?
मैले माथि नै भनिसकेँ– मेरा कतिपय कविता सङ्गीतवद्ध गरेका कारण गीत बन्न पुगेका हुन् । कतिपय अवस्थामा तिनलाई मैले गोष्ठीहरूमा कविताको रूपमा पाठ गरेको छु । कविता र गीतमध्ये एउटा छान्ने कुरै आउँदैन । थोरै शब्दमा कुनै विषयलाई मार्मिक ढङ्गबाट व्यक्त गर्नुप-यो भने म गीत लेख्छु । तर त्यसलाई विभिन्न कोणबाट हेरेर काव्यिक अभिव्यक्ति दिनुप¥यो भने म कविता लेख्छु । मेरा लागि दुवै उत्तिकै महत्वपूर्ण छन् । मेरो साहित्यिक जीवनमा यी दुवै अन्योन्याश्रित भएर रहेका छन् । श्रोता र पाठकले पनि मलाई दुईमध्ये एउटा रोज्न अनुमति देलान्जस्तो लाग्दैन ।