• २०८१ पौष २९ सोमबार

फरक– १४

सानु शर्मा

सानु शर्मा

मैले टाउको घुमाएर खाटमा निदाइरहेकी वाणीलाई हेरेँ । मेरो आँखामा आँसुको छाल उर्लियो । सुभद्रा सुनेकोनसुन्यै एकसुरले बोलिरहिन्– ‘म त्यस बेला कसैलाई भेट्न प्रसूतिगृह पुगेकी थिएँ । त्यसरी बिलौना गरिगरी रोइरहेकी बिन्तीलाई देखेर मैले मन थाम्न सकिनँ । उसको नजिक गएर त्यसरी रुनुको कारण सोधेँ । सहस्रधारा आँसुका साथ उसले मलाई जेजति सुनाई, त्यो सुनेर मैले आफ्नो पीडा बिर्सिएँ । त्यसपछि मैले नै उसको स्याहार–सुसार गरेँ । बच्चा प्रिमेच्योर भएकोले अस्पतालमा निक्कै दिन बस्नुपर्यो उसले । ऊ डिस्चार्ज भएपछि मैले उसलाई आफू बस्ने ठाउँमा लगेँ । मसँगै अरू दुईजना केटीहरू बस्दथे । हामी सबैले मिलेर बिन्तीे र बच्चीको सकभर राम्रो रेखदेख गर्यौं ।
तीन–चार महिना बितेपछि बिन्ती अलि तङ्ग्रिएर फेरि कामको खोजीमा हिँडी । हामी आलोपालो गरेर बच्ची कुर्दथ्यौँ । उसको ख्याल राख्थ्यौँ ।
काम खोज्ने क्रममा उसले दुई–चारपटक फेरि सास्ती खाएपछि हामीले बिन्तीलाई काम खोज्न छोडेर हाम्रै पेसा अपनाउने सल्लाह दियौँ । पहिले त बिन्तीले सुन्न पनि चाहिन तर फेरि बिस्तारैबिस्तारै बच्चीको चिन्ताले, उसको आफ्नै बाध्यताले र हाम्रो समाजमा भएका, हरेक सुन्दर शरीरलाई भोग्ने चाहना राख्ने गिद्घ–पुरुषहरूको पटकपटकको झम्टाइले बाध्य भएर उसले पुरुषहरूबाट बचेर नभाग्ने निर्णय गरी । बरू त्यस्ता पुरुषहरूबाट सकेसम्म फाइदा उठाउने कसम खाई । हात जोड्न छोडेर उनीहरूलाई आफ्नोसामु हात जोड्न, घुँडा टेक्न बाध्य गराउने सोच बनाई । ताजमहल हेर्न चाहनेहरूले पैसा तिरेर टिकट काटेजस्तै ऊसले पनि आफ्नो ताजमहलजस्तै अद्भुत सौन्दर्यको मोल लगाउने अठोट गरी, उसको सुन्दर शरीर भोग्न चाहनेहरूसँग पाइपाई असुल्न कम्मर कसी । किन र कतिपटक झेलोस् उसले बलात्कार ? पटकपटकको दुःखद अनुभवले टुक्य्राउनु नै थियो उसलाई– टुक्रिई ऊ ! यस्तरी, बिन्ती पछाडि कतै छुटी, बिनी अगाडि आई । भावनाविनाकी यौटी यस्ती पुतली जो उत्पात सुन्दर त थिई तर छिन्नभिन्न हुँदा बिन्तीजस्तै बिलौना गरेर रून्थिन !’
वाणी अचानक चलमलाई । सुभद्राले उठेर उसलाई थुमथुम्याइन । यसपटक वाणीतिर हेर्दा मैले उसको अबोध अनुहारमा बिन्तीलाई प्रस्ट देखेँ । मेरा भिजेका आँखामा आँसुको वेग बढ्यो ।
सुभद्रा आएर मेरोसामु बसिन् । एकैछिन मेरो आँसुले भिजेको अनुहार हेरिन् अनि उनी र मेरोबीचमा भएको टेबलमा भएको टिस्यू बक्सबाट केही टिस्यू थुतेर मतिर बढाइन् । अचानक उनलाई मेरो स्थितिको ख्याल आयो सायद । उनले खिन्न स्वरमा भनिन्– ‘सरी !’
‘तिमीले सरी भन्नैपर्दैन सुभद्रा ।’ मेरो स्वरमा अपराधबोध मिसियो– ‘सरी त म छु । र सायद बाँकीको सारा जीवन रहनेछु– पुरुष भएर जन्मिएकोमा ।’
उनले केही नबोली हातको टिस्यू फिर्ता बक्समा घुसारिन् र सारीको सप्कोले आफ्नो आँखा पुछेर भन्न सुरू गरिन् ः
‘उसको त्यस निर्णयले ऊ कति दुःखी थिई, त्यसको त ऊ स्वयम् पनि वर्णन गर्न सक्दिन होला । मलाई पनि कम्ता दुःख लागेन । तर हामीसँग बिकल्प थिएन ।
‘यो पेसामा लाग्दा पहिलेपहिले ऊ फर्केर आएपछि खुब रुन्थी, आफैँलाई जगल्ट्याउँथी, चिथोर्थी । अनि शरीर घोटीघोटी कैयौँफेर नुहाउँथी । हामी उसलाई यो र त्यो देखाएर सम्झाउँथ्यौँ । फकाउने कोसिस गथ्र्यौं । ऊसँग अर्को विकल्प नभएको बेलिबिस्तार लगाउँथ्यौँ ।
बिस्तारैबिस्तारै ऊ ‘बिन्ती’ लाई मार्दै र ‘बिनी’ लाई जगाउँदै गई । उसको हाउभाउ फेरियो । चालढाल बदलियो । बोलीचाली अर्कै भयो । तर उसले आफ्नो अनुहारको अबोधता, मनको पवित्रता र आँखाको सम्मोहन चाहेर पनि खुर्केर फ्याँक्न सकिन । ऊ शरीरले त बिनी भई तर मनबाट बिन्तीलाई हटाउन सकिन ।
यसैबीच रमेशले मसँग विवाह गर्ने प्रस्ताव राख्यो । बिनी र मेरा अरू साथीहरू दोधारमै थिए, मलाई सोचेर, विचार गरेर निर्णय गर्न आग्रह गरिरहेका थिए तर मैले मेरो आत्माको कुनै कुनामा थुनेर राखेको एउटा ‘सानो घर’ र ‘परिवार’ को सपनाले यस्तरी टाउको उठायो– मैले उनीहरूको सुझावलाई लत्याएर केही नसोचीकन रमेशको प्रस्ताव स्वीकारेँ । रमेशले मलाई आफ्नो डेरामा ल्यायो, हामीले मन्दिरमा गएर विवाह गर्यौं ।’
सुभद्राले छेउको ग्लास टिपेर पानी पिइन् अनि बेडमा लुटुक्क निदाइरहेकी वाणीलाई निहार्दै भनिन्– ‘बिन्ती बाहिर जाँदा बच्ची मकहाँ ल्याएर छोड्थी, जुन कुरा रमेशलाई पटक्कै मन पर्दैनथ्यो । यही कारणले हामीबीचमा सधैँ किचलो भैरहन्थ्यो ।
‘एकदिन हाम्रो झगडा भैरहेकै बेला बिन्ती बच्ची लिएर आई । रमेशले उसको गर्नुनगर्नु बेइज्जत गर्यो । ‘मेरीस्वास्नीलाई वेश्याको सङ्गतमा लाग्न दिन्नँ’ भनेर हुर्मत लियो । बिन्तीमाथि हाम्रो भरखर बसेको घर बिगार्न लागेको आरोपसम्म लगायो । तर त्यस बच्चीलाई त्यहाँ छोड्नुबाहेक बिन्तीसँग अर्को विकल्प थिएन । बच्ची साथमा राखेर उसको धन्दा कसरी चल्थ्यो ? अन्त्यमा हरेक महिना एउटा मोटो रकम रमेशलाई दिने, अनि बच्चीलाई वर्षमा एकपटक मात्र भेट्न पाउने सर्तमा रमेश बच्चीलाई राख्न राजी भयो । बिन्तीको बाध्यता थियो, उसले त्यो सर्त पनि मानी । छोडेर जाँदा आँखामा मुटु राखेर बच्चीलाई हेर्दै मसँग भनेकी थिई ‘मसँग राखेर के गर्छु ? आफैँलाई त जोगाउन सकिनँ, यसको सुरक्षा कसरी गरौँला ? कमसेकम यहाँ भए सुरक्षित त रहन्छे ।’
‘तर… तर त्यस लाचार आमालाई म कसरी सम्झाऊँ कि चीलको गुँडमा भएको मासु कसरी र कहिलेसम्म सुरक्षित रहन्छ ?’ सुभद्राको भक्कानो छुट्यो । मैले त्रस्त भावले उसलाई हेर्नुबाहेक केही गर्न सकिनँ ।
‘केही महिनापछि हामी धुलिखेल सर्यौं । वाणी हाम्रो साथमा थिई । बिनीले कत्रो बिश्वास र भरोसाले उसलाई मेरो पोल्टामा हालेकी थिई तर…।’उनले खुईऽऽऽय गरिन्– ‘एकैक्षण एक्लै छोड्न डर लाग्छ– कहीँ त्यसले कतै लगेर बेचेर आउने त होइन ? कतै बिन्तीले मेरो जिम्मा लगाएको बिश्वास यहाँ पनि घाइते हुने त होइन ? कोसिस गरिरा’छु त्यस्तो केही हुन नदिन तर… तर थाहा छैन म कहिलेसम्म उसको यस विश्वासको मान राख्नसक्छु ? नाइट बस चलाउने भएकोले रमेश प्रायःजसो राती बाहिरै हुन्छ । तर जब घरमा हुन्छ रक्सीले मातेर बसेको हुन्छ । उसको विचित्र हेराइसँग डराएर मलाई यसलाई आफूभित्रै कहीँ लुकाउन मन लाग्छ ता कि उसको विकृत दृष्टि यसमाथि नपरोस् तर… खै !’ सुभद्राले आँसु पुछिन् । म स्तब्ध उनैलाई हेरिरहेँ ।
म आफ्ना समस्या र अप्ठ्याराहरूमा यस्तरी उनिएको थिएँ– मलाई त थाहै थिएन दुनियाँमा यति हृदयविदारक दुःख र बाध्यतामा पनि मान्छेहरू बाँचिरहेका छन् भन्ने कुरा । ती सबैको तुलनामा मेरा दुःख, मेरा समस्या उल्लेखनीय पनि थिए र ? म किन गुनासो गरिरहेथेँ कि म नै लाचार थिएँ ? एक्लो थिएँ ? विवश थिएँ ? एकपटक बाहिर निस्केँ भने लाचार नै सही, अपाहिज नै सही, दुनियाँ हाँक्ने क्षमता अझै पनि थियो मसँग, तर यिनीहरू ? मेरो मन अगाध करुणाले भरियो । मन यिनीहरूका लागि केही गर्न छटपटायो ।
‘त्यसरी आफ्नै मर्जीले विवाह गरेर लगेर पनि किन सधैँ झगडा गर्छ ऊ तिमीसँग ? केका लागि यस्तरी मर्लान्त पिट्छ तिमीलाई ?’ म नसोधी रहन सकिनँ ।
उनले सुस्केरा हाल्दै भनिन्– ‘भैगो छोड, के गर्छौ जानेर ?’
‘बाध्य त गर्दिनँ तर सुभद्रा, सुनाएर हलुका हुन्छजस्तो लाग्छ भने तिमी निःशङ्कोच मलाई भन्न सक्छ्यौ ।’ मैले बिस्तारै भनेँ । सुभद्रा निकैबेर केही नबोली एकोहोरो वाणीतिर हेर्दै आँसु पुछिरहिन् ।
‘आफ्नो गल्तीको प्रायश्चित्त गर्छ होला…।’ धेरै बेरपछि उनले बिस्तारै भनिन्– ‘भावनाको आवेगमा आएर वेश्यावृत्तिमा लागेकी केटीसँग विवाह गरेको प्रायश्चित्त गर्छ होला । त्यसैले त बातबातमा निहुँ खोजेर हात उठाउँछ । मनमानी गर्छ । विरोध गरे, ‘लाउन खान दिएको छु, बस्न घर दिएको छु , हक छ मेरो, मैले चाहेको गर्ने, त्यसैले नौटङ्की नगर, म तेरो ग्राहक होइन, तँ वेश्या नै भए पनि !’ भनेर अपमानित गर्छ । बच्चीको पनि पर्वाह गर्दैन । भन्छ– ‘भोलि ठूली भएर यही सब गर्ने त हो यसले पनि, सिकिराख्न दे, ग्राहक रिझाउन छिट्टै सिपालु हुन्छे…।’
‘हे ईश्वर ! यस्ती अबोध बच्चीप्रतिको यस्तो सोच ? छिः ! लाग्छ पशुकै फेला पर्यौ सुभद्रा तिमी !’ मैले भनेँ । तर तुरुन्तै फेरि क्षमायाचना गर्दै भनेँ– ‘सरी सुभद्रा, मैले सायद त्यसो भन्नु हुन्थेन ।’
‘…आजकल त झन् निहुँ भेटेको छ उसले ।’ सुभद्राले मैले भनेको सुन्दैनसुने जस्तै गरी भनिरहिन् । उनको स्वर झनै सानो भयो– ‘गर्भको बच्चा फ्याँक भनेर सताइरहन्छ । जाँड खाएर टिल्ल परेको बेला ‘वेश्याको कोखमा भएको सन्तान मेरै हो भन्ने के ग्यारेन्टी ?’ भन्छ । अढाई वर्ष भयो उसले मसँग बिहे गरेको । अब आएर कसको सन्तान हुन्छ मेरो गर्भमा ? यसपटक थाम्दाथाम्दै पनि सुभद्राको हिक्का छुट्यो । मेरा आँखा त पहिल्यैदेखि असार–साउन बनेका थिए । म केही बोल्न सकिनँ ।
‘फकाएर, दवाब दिएर भएन भनेर आजकल त बातबातमा हात उठाउँछ । मै मरे त केही थिएन । तर यो पेटको बच्चा मरेर म बाँचे भने थाहा छैन के गर्छु म ? वेश्या नै सही तर प्रत्यूष, आमा बन्ने हक त हामीलाई पनि छ नि ! होइन ? या फेरि हाम्रा लागि यो दुनियाँ यति साँघुरो भैसक्यो कि रातको अँध्यारोमा, ओछ्यानमा पुरुषहरूको विकृत मानसिकताको प्रकोप झेल्नेबाहेक उज्यालोमा हाम्रो अस्तित्व कहीँ एग्जिस्ट नै गर्दैन ?’ उनले कम्पित स्वरमा भनिन् ।
‘सुभद्रा…!’
‘अचेल त रमेशलाई देखेर नै यसको सातो उड्छ ।’ सुभद्राले फेरि वाणीतिर हेरेर हाहाकारपूर्ण स्वरमा भनिन्– ‘अरू बेला यो यति बोल्छे– यसलाई चुप गराउन गाह्रो हुन्छ । तर रमेश घरभित्र पसेपछि यसले बोल्न बिर्सन्छे । रमेशको पिटाइ ठाउँ–कुठाउँमा परेर रात–बिरात मलाई केही भयो भने थाहा छैन यसको के गति हुन्छ ? यो अबोधलाई त यो पनि थाहा छैन– वर्षमा एकैपटक तीन सय ६५ दिनको तिर्सना मेटिने गरी उसलाई कलेजोमा च्यापेर राख्ने उसकी जन्मदाता हो भनेर । ऊ त मलाई नै ‘ममी’ मानेर ढुक्क छे । …म…म यी सब कुरा बिन्तीसँग भन्न पनि सक्दिनँ । न त योसँग अलग हुन चाहन्छु । न यसलाई साथमा राखेर निश्चिन्त हुने स्थिति छ ।’ सुभद्राको फेरि भक्कानो छुट्यो । उनी दुई हातमा मुख लुकाएर निक्कै बेर रोइन् । म यति लाचार थिएँ– उनको आँसु पुछ्न के, उनलाई नरुनु भन्न पनि सकिनँ । म पनि चुपचाप रोइरहेँ ।
धेरैबेर रोएर थाकेपछि उनी आफैँ चुप लागिन् । सारीको सप्कोले अनुहार पुछिन् अनि भावनाले भिजेको स्वरमा भनिन्– ‘भगवानमाथि मेरो नभए पनि यसकी आमाको अटुट आस्था छ । त्यही आस्थाको भरम राखेर भगवानले यसैकी आमामाथि दया देखाएर केही यस्तो गरिदिए हुन्थ्यो कि मेरो जे भए पनि रमेशको हातबाट यसको कुनै दुर्गति हुन नपाओस् । तर कहाँ ? सुनेथेँ हरेक गल्तीको सजाय हुन्छ तर….तर विधाता ! सजाय यति बीभत्स, यति यातनापूर्ण र यति हृदयविदारक, त्यो पनि जीवनभरको हुन्छ र ?’ सुभद्राले छततिर हेरेर हात जोडिन् । म आवाज हराएको मान्छेजस्तै आँसुआँसु हुँदै उनैलाई हेरेर यही सोचिरहेँ– कहिलेकाहीँ भगवानबाटै पनि गल्ती हुँदोरहेछ सायद । त्यसैले नै त होला– उनीप्रति अपार आस्था राख्नेहरू पनि यति कठिन र कुरूप जिन्दगी बिताउन बाध्य छन् । के भगवानले लिने भनेको परीक्षा यही हो ? हो भने यस्तो परीक्षामा किन नारीले मात्र होमिनुपर्ने ?
त्यसदिन बिन्ती फर्केर आएपछि सुभद्रा वाणीलाई लिएर घर गइन् । म भने बडो सम्मानपूर्वक त्यो साहसी युवतीलाई हेरिरहेँ जसलाई यो दुनियाँ र समाजले विष, बेइज्जती र व्यथासिवाय कहिल्यै केही दिएन तर पनि उसको मनमा मजस्तो अपाहिजप्रति दया र यति कठोर परीक्षा लिने भगवानप्रति आस्था अझै बाँकी थियो ।
हुन त बिनीप्रति मेरो भावना सधैँ कोमल अनि सफा थियो, तर आज उसका बारेमा जानेर मेरो मनमा उसप्रति अझ धेरै सम्मान र इज्जत जागेको थियो । परिस्थितिले जता र जस्तो कोल्टे फेरे पनि आफूभित्रको ‘मान्छे’ लाई ‘मान्छे’ नै रहन दिनुजस्तो ठूलो खुबी अर्को के हुनसक्थ्यो हामीमा ? साधारणतया मानिसहरू दुःख–विपत्तिमा ‘मान्छे’ हुनुको अर्थ बिर्सेर पशुमा परिणत हुन एक निमेष लगाउँदैनन् तर बिनीमा त्यो खुबी थियो– ऊ हरेक परिस्थितिको सामना ‘मान्छे’ भएर गर्न सक्षम थिई । त्यो बहादुर युवती, त्यो वीराङ्गना, जसले यतिका ठोकर खाएर, लुटिएर, दुखेर पनि अरूलाई दुखाउन जानेकी थिइन । कठोर हुन जानेकी थिईन । के ऊ सम्मानको लायक थिइन त ?
त्यो साँझ उसैले सुनाएपछि मैले थाहा पाएँ– वासुले अफिसदेखि लिएर सबै कारोबार आफ्नो कन्ट्रोलमा लिइसकेको थियो । किनभने मैले ब्यारिस्टर कवीन्द्रराज कँडेलसँग बनाएको आफ्नो अन्तिम वारिसनामामा आफ्नो सर्वस्व सम्पत्ति उसैको नाममा गरिदिएको थिएँ । मैले किन त्यसो गरेको थिएँ– यति बेला कुनै कारण सोच्न सक्दिनँ । तर वासुमाथिको मेरो अटुट बिश्वाश धरमराएको थियो यतिखेर ।
प्राधान मेन्सन त जलेर सखाप भैसकेको थियो । त्यसैले फुपू थापाथलीको पुरानो घरमा सरिसक्नुभएको थियो । सुप्रिया र श्रेया होटलमा । सुमन्त र सुदर्शनको अझै अत्तोपत्तो थिएन । सुप्रिया मैले कवीन्द्रराजसँग बनाउन लगाएको मेरो अन्तिम ‘विल’ (वारिसनामा) नक्कली भएको दाबी गर्दै वासुमाथि मुद्दा हाल्ने तयारी गरिरहेकी थिई । म आश्चर्यचकित थिएँ । एकहप्ता बित्दानबित्दै सबै चीज यस्तरी बदलिएको थियो कि पत्यार नै लाग्दैनथ्यो त्यो वास्तविकता थियो भनेर ।
सबैभन्दा आश्चर्य त मलाई यही कुरामा लागिरहेको थियो कि वासुले कति सहजै मलाई मृत मानेर सबै चीज स्वीकार मात्र गरेन अपितु सुप्रियाको मुद्दा हाल्ने धम्कीलाई च्यालेन्ज गर्न आफ्नोतर्फबाट वकिलसमेत खडा गर्यो । जब कि सबैको किचकिचबाट वाक्क भएर झोँकैझोँकमा मैले आफ्नो वारिस उसलाई बनाएथेँ । तर मलाई एक रत्ति विश्वास थिएन उसले मेरो त्यस विललाई स्वीकार्ने छ भन्ने कुरा । त्यसबेला मेरो मनमा कहीँ एउटा शङ्का उत्पन्न भयो– कतै सुप्रियाले भनेझैँ ऊ मेरो सम्पत्तिकै लोभले त मरो साथमा थिएन ? त के मेरो त्यो ‘मर्नु’ को पछाडि वासुकै हात थियो त ? तर फेरि मेरो वासुप्रतिको अटुट विश्वासले गर्दा त्यो सोच नै वाहियात लाग्यो मलाई । केवल पैसाकै लागि मानिस त्यति तल झर्न सक्छ र ? मनले बारम्बार सोध्थ्यो । जुन जवाफ स्पष्ट थियो– त्यसलाई स्वीकार्न मन अझै मान्थेन । तर जे सामुन्ने थियो त्यसलाई नमानेर पनि सुख थिएन ।
मेरो मृत्यु अझै शतप्रतिशत सावित भैसकेकै थिएन । मेरो कथित काजकिरिया पनि बिर्सिएर मेरा आफन्तहरू मेरो सम्पति आ–आफ्नो भागमा पार्न मारामार गरिरहेका थिए । के मैले जीवनमा कुनै एउटा सम्बन्ध यस्तो जोडेको, बचाएको थिइन, जसलाई मेरो मृत्युप्रति साँच्चै अफसोच होस् ?
भोलिपल्ट पनि बिनी ‘आज त म वासु दाइलाई भेट्छु, जे पर्ला पर्ला’ भनेर निस्कन ठिक्क परी ।
‘बिन्ती… !’
‘हँ ?’ उसले झस्केर मलाई हेर्दै सोधी– ‘भर्खर के भन्यौ तिमीले ?’
‘आज कहीँ नजाऊ प्लिज, थाहा छैन किन मलाई एकदमै डर लागिरहेको छ आज ।’
‘ओ हो…!’ उसले एकटक मलाई हेर्दै बिस्तारै भनी– ‘मलाई लाग्यो तिमीले मलाई गलत नामले बोलायौ ।’
‘अहँ, मैले त सही नामले नै बोलाएको थिएँ ।’ मैले भनेँ । ऊ केही बोलिन । त्यसपछि मैले उसलाई आज कतै नजान भनेर कतिकै आग्रह गर्दा पनि उसले मानिन । बरू भोलि बाहिर ननिस्कने आश्वासन दिँदै ऊ जबर्जस्ती बाहिर निस्की ।
ऊ त्यसरी बाहिर निस्कँदा डर त सधैँ मलाई लाग्दथ्यो तर आजको डर छुट्टै थियो । मन कुनै अनिश्चित आशङ्काले हल्लिरहेको थियो ।

त्यो दिन सुभद्रा वाणीलाई मोन्टेसरी छोड्ने निउँले हतारहतार आएर मलाई खाना ख्वाएर, मेरो युरिन ब्याग खाली गरेर, बडो सकसका साथ मलाई ह्विलचेयरबाट बिछ्यौनामा सारेर वाणीलाई त्यहीँ छोड्दै ‘रमेश गएपछि आउँछु’ भनेर निस्किहालिन् ।
वाणीको मोन्टेसरीमा छुट्टी भएकोले सुभद्रा उसलाई त्यहाँ पठाउन सक्थिनन् अनि रमेश घरमा हुँदा उसलाई घरमा राख्न पनि चाहन्थिनन् ।
म वाणीसँग कुरा गर्दै उसको तोतेबोली सुनेर आफ्नो डर भुलाउने कोसिस गर्दै समय बिताउँदै थिएँ । निक्कै बेरपछि वाणीले पेट समातेर भनी– ‘भोत लाद्यो…।’
सुभद्राले चिप्स, कोक र बिस्कुट टेबलमा राखेर गएकी थिइन्, त्यतै इसारा गर्दै मैले भनेँ– ‘के खान मनलाग्छ झिकेर खाऊ ।’ उसले बिस्कुट र चिप्स झिकेर ल्याई अनि बिस्कुटको प्याकेट खोल्दै मलाई सोधी– ‘तिमी कछली खान्थौ ? ममी त छैन त ?’ अनि फेरि मैले कुनै जवाफ दिनुअघि उसैले सोधी– ‘म थ्वाई दिऊँ ?’ थाहा छैन किन मेरो नाक पीरो भएर आयो । जबदेखि शरीर अशक्त भएको थियो, ससाना कुराले पनि छुन्थ्यो मलाई । मानौँ बहाना खोजेर बस्थ्यो यो पाजी मन, कमजोरीलाई आँसुको खोल ओढाउन ।
अबोध वाणीको अर्थहीन संवादले पनि गला अवरूद्घ बनायो मेरो । मैले बिस्तारै टाउको हल्लाएर ‘नाईं’ भनेको जताउन कोसिस गरेँ तर उसले हातको पहिलो बिस्कुट मेरो मुखमा ल्याएर जोडेपछि मैले फेरि विरोध गर्न सकिनँ । ऊ मलाई बिस्कुट ख्वाउँदै, आफू पनि खाँदै थाहा छैन के के बोलिरही । म मन्त्रमुग्ध भएर, आँखा झिमिक्क नगरी उसको अनुहारमा हेरिरहेँ ।
बिस्कुट खाइसकेर निक्कैबेर खेलेपछि उसले मलाई कोट्याएर भनी– ‘पापा ! छु छु !’
उसले भनेको मैले कतिकै कोसिस गरेर पनि बुझिनँ । सायद कुनै खेल खेल्न चाहन्थी ऊ, जसमा मेरो सहभागिता चाहन्थी । तर म उसलाई साथ दिने अवस्थामा कहाँ थिएँ र ? मेरो मन फेरि उदास भयो ।
‘तिमी खेल वाणी !’ मैले भनेँ– ‘पापा खेल्नसक्दैन !’
‘पापा, छु छु !’ उसले आफ्ना स–साना हातलाई मुठ्ठी बनाएर मेरो शरीरमा हान्दै भनी । मलाई आफ्नो बिवशताले गिज्यायो । मैले बडो मेहनतका साथ उठ्ने कोसस गरेँ । मेरो शरीरको दाहिने भाग अलिकति उठेझैँ भयो ।
‘पापाऽऽऽआ ! छु छु !’ यसपटक वाणी आफ्ना दुवै खुट्टा जोडेर बटारिँदै कराई । अब बल्ल मैले बुझेँ– ऊ के भन्न चाहिरहेकी थिई ! मैले उठ्ने कोसिस छोडेर वाल्ल परेर उसको अनुहारमा हेरेँ । अब ऊ चुप थिई । तर उसको अनुहारमा एक किसिमको अप्ट्यारो भाव थियो । त्यति बेला मलाई आमाहरूसँग बडो ईष्या लाग्यो, कसरी बुझ्थे उनीहरूले ती अवरोधका त्यति अनौठा भाषा ? कसरी उनीहरूको भोक, प्यास, रोग, गाह्रो, अप्ट्यारोमा त्यति सहजतासँग जोडिन्थे उनीहरू ? जब कि मैले उसको त्यो दुई शब्द बुझ्न त्यतिका बेर लगाएँ । त्यतिबेला मलाई लाग्यो– स्वास्नीमानिसहरू हामीजस्तै सामान्य मानिस भए पनि आमाहरू भगवानका औतार हुन् । उनीहरू सामान्य मान्छे कदापि होइनन् तब त परिस्थितिसँग मात्रै होइन, प्रकृतिसँग पनि लड्न कम्मर कस्छन्– आफ्नो सन्तानका लागि !

त्यसपछि वाणी पहिलेजस्तै उत्साहित देखिइन । मेरो मन अपराधबोध अनुभूत गरेर एकतमासको भयो । ऊ लुटुपुटु गरेर त्यहीँ मेरोछेउमा, मलाई समातेर निदाई । उसलाई हेर्दाहेर्दै म पनि कति बेला निदाएँ, पत्तै पाइनँ ।
सुभद्राले आएर ढोका खोलेर बत्ती बालेपछि मात्र म ब्यूँझिएँ ।
‘कति बज्यो ?’ मैले सुभद्रासँग सोधेँ ।
‘आठ बज्यो !’ उनले भनिन् र सोधिन्– ‘बिन्ती खै त ?’
‘ऊ कहाँ आएकी छ र ?’
‘आइसक्नुपर्ने होइन र ?’ उनले चिन्तित स्वरमा भनिन्– ‘यति ढिलो त कहिल्यै गर्दिनथी ? कहीँ…केही…।’
‘केही नभन प्लिज !’ मैले उनको कुरा बीचमा काट्दै काँतर स्वरमा भनेँ– ‘कहिलेकाहीँ मान्छेले बोलेको नराम्रो कुरा सत्यमा परिणत भैदिन्छ । त्यसैले उसको बारेमा नराम्रो केही नबोल प्लिज…।’
त्यसपछि उनले केही भनिन् ।
‘वाणीलाई चेक गर सुभद्रा !’ मैले उदास स्वरमा भनेँ– ‘सायद उसको न्यापी फेर्नुपर्छ होला ।’
एक्कैछिन सुभद्राले वाल्ल परेर मलाई हेरिन् अनि यसरी टाउको हल्लाइन् मानौँ मेरो कुरा बुझिन् । त्यसपछि मलाई उठाएर बडो सकसका साथ ह्विलचेयरमा राखेर बाथरुम लगिन् । युरिन ब्याग खाली गरिन् । मुख पुछपाछ गरिदिइन् । कोठामा ल्याएर पानी पियाइन् अनि अन्त्यमा कफी लिएर आएर मेरोछेउमा बस्तै सोधिन्– ‘वाणीले दुःख त दिइन ?’
‘दुःख ? तिमी दुःखको कुरा गछ्र्यौ सुभद्रा, तर मलाई त यी पलभन्दा सुखद् जीवनका अरू कुनै पल नै याद छैन । अब सोचिरहेछु– यी पलहरू स्थायी हुँदा हुन् मेरो जिन्दगीमा त सायद मलाई यो अपाहिज हुनुसँग पनि कुनै अपसोच हुने थिएन ।’ मैले बिस्तारै भनेँ । उनी केही नबोली ध्यानपूर्वक मलाई हेरिरहिन् ।
हामी दुवै चिन्तित, व्यग्रतापूर्वक बिन्तीको प्रतीक्षा गरिरह्यौँ तर निक्कैबेरसम्म ऊ नआएपछि सुभद्राले भित्ताको घडी हेर्दै भनिन्– ‘अब त म जानुपर्छ प्रत्यूष…।’ उनको स्वरमा चिन्ता छड्किरहेको थियो– ‘के गर्ने ? कहाँ गएर सोध्ने ? किन आइन ऊ अहिलेसम्म ? म.. म…।’
‘तिमी धेरै चिन्ता नगर सुभद्रा । हुनसक्छ बसको कारणले ऊ समयमा आइपुग्न सकिन । तिमी वाणीलाई लिएर घर जाऊ । म उसलाई कुर्छु ।’ मैले भनेँ । सुभद्रा अझै आधा घण्टा–पैँतालीस मिनेट त्यहाँ बसेर निदाएकी वाणीलाई बोकेर बेमनका साथ निस्किइन् । जानुअघि उनले मलाई खाना ख्वाउन कोसिस गरिन् तर मैले एक गाँस पनि राम्ररी खान सकिनँ । न मैले ह्विलचेयरबाट बेडमा सर्न मानेँ । किनभने उनका लागि मलाई त्यसरी यताबाट उता सारिरहन सजिलो थिएन ।
त्यो सिङ्गै रात मैले ह्विलचेयरमा बसेर बिनीको प्रतीक्षा गरिरहेँ तर ऊ आइन ।
मानिसहरूले आफ्नो बाध्यताको वर्णन गर्दा मलाई सधैँ यही लाग्दथ्यो कि कोही त्यति बाध्य हुनै सक्दैन, जहाँ उसले आफूले मनले चाहेको गर्न नसकोस् । किनभने ‘जहाँ चाह, त्यहाँ राह’ भन्ने उक्तिमा मलाई पूर्णविश्वास थियो तर त्यो रात बिनीको चिन्तामा छटपटाउँदै तर मुढोझैँ चलमल नागरीकन बसिरहँदा बल्ल मैले ‘बाध्य हुनु’ को अर्थ बुझेँ ।
हुन त म आफूलाई शारीरिक रूपमा पहिलेझैँ कमजोर महसुस गर्दिनथेँ । त्यो जति बेला पनि थाकेको अनुभव, त्यो हरेक दिन चढ्ने– ओर्लने ज्वरो, त्यो कमजोरी अब थिएन ममा । शरीर पनि अब हलुका लाग्नथालेको थियो । कुनैकुनै बेला हातखुट्टा चलिहाल्लाजस्तै लागे पनि अझै चल्नसकेको थिएन ।
त्यो रात मैले लाख कोसिस गरेँ आफ्नो शरीरलाई सक्रिय बनाउन, तर सफल भइनँ । केवल हात मात्र चलेको भए पनि सायद म कसैलाई फोन गर्ने थिएँ होला तर मेरो दुर्भाग्य मैले त्यो गर्न सकिनँ । सारा रात मानौँ आगोको भुङ्ग्रोमा पाकिरहेँ म तर चटपटाउन सकिनँ । उम्लिरहेँ तर पोखिनँ सकिनँ । डर, चिन्ता र बाध्यताको अधिकतामै पनि बिहानीपख एकै क्षण निदाएको म, त्यसबेला मात्र ब्यूँझिएँ, जब सुभद्राले आएर घचघच्याइन् । उनको अनुहारमा दृष्टि पर्नेबित्तिकै मलाई लाग्यो– जुन अनर्थसँग हामी डराइरहेथ्यौँ त्यो भएरै छोड्यो आखिर ।
‘के…के भयो सुभद्रा.. ?’ मैले आफ्नो भएभरको हिम्मत बटुल्दै सोधेँ । जवाफमा उनले केही नबोलेर हातमा भएको पत्रिका खोलेर मेरा आँखासामु फिँजाइन् । पहिलै पेजमा ठूलाठूला अक्षरमा लेखिएको थियो– ‘प्रत्यूषमान प्रधानको रहस्यमय मृत्युमा सङ्लग्न फर्जी नर्स गिरफ्तार, अब रहस्य खुल्नसक्ने पुलिसको अनुमान ।’ मलाई लाग्यो शनैशनै मेरो सम्पूर्ण शरीर चिसो हुँदै गइरहेको छ । आँखाअगाडिको सत्य हेर्न नसकेर मैले पलक बन्द गरेँ । असहाय, मेरो मुखबाट यत्ति मात्र निस्कियो– ‘हे ईश्वर… !’
त्यस दिन पनि रमेश घरमै थियो त्यसैले सुभद्राले घर छोडेर निस्कने कुनै प्रश्नै थिएन ।
म लाचार, बिनीको लागि प्रार्थनासिवाय अरू केही गर्नसक्ने स्थितिमा थिइनँ ।
सुभद्राले हतारहतार आएर मलाई ह्विलचेयरबाट ओछ्यानमा सारेर गइन् । खाना खाने मेरो इच्छा थिएन । न त सुभद्राले नै जिद्दी गर्न सकिन् ।
सुभद्राको भोलि बिहानै काठमाडौँ गएर केही न केही गर्ने आश्वासनले पनि मलाई आश्वस्त बनाउन सकेन । म सारा दिन डबडबाएका आँखाले दलिन निहारेर लडिरहेँ ।
साँझमा एक्कै छिनका लागि सुभद्रा आइन् । ह्विलचेयरमा हालेर मलाई बाथरुम पुर्याएर, ब्रस गराएर, युरिन ब्याग खाली गरेर, जबर्जस्ती एक कप कफी पियाएर, मलाई फेरि ओछ्यानमा पल्टाएर फर्किन् ।
म सिलिङ्मा आँखा गाडेर त्यो अँध्यारोमा आफ्नो लाचारीको विकल्प खोज्ने प्रयास गरिरहेँ । आँखा बन्द गर्ने हिम्मत थिएन किनभने आँखा बन्द गर्नेबित्तिकै बिनीको अनुहार मेरा बन्द आँखाभित्र झुल्कन आउँथ्यो । मैले बेक्कारमा उसलाई आफ्नो समस्याको भुमरीमा धकेलिदिएँ । अब कसरी निकालौँ उसलाई यस समस्याको अन्त्यहीन श्रृङ्खलाबाट ? लाचार म, कसरी र कोसँग सहायता मागौँ ? कोमाथि विश्वास गरौँ ? के अब म सारा जीवन यसरी नै अर्काको सहायता र सहाराको अपेक्षा गर्दै मुढोजस्तै लडेर आँसु बगाउँदै बिताउने छु ? यी र यस्तै यस्तै प्रश्नहरूले मलाई कल्पाइरहे । तर्षाइरहे । टेन्सनले दिमाग पड्किनै लागेपछि मेरो दिमागमा कवीन्द्रराज कँडेलको नाम बज्यो । मैले सुभद्रामार्फत भोलि उनीसँग कन्ट्याक्ट गरेर समस्याको कुनै हल निकाल्ने अठोट गरेँ । यति ढिलो उनको ख्याल आएकोमा बेस्मारी पछुताएँ पनि– बेक्कारमा यतिका दिन खेर गयो ! म चुकचुकाइरहेँ ।
त्यसपछि मेरो आँसुले भिजेका आँखामा कति बेला निद्राले बास लियो मैले थाहा पाइनँ ।

त्यो एउटा एकदमै हलुको आवाज थियो जसलाई सुनेर म ब्यूँझिएँ । आँखालाई अँध्यारोको अभ्यस्त बनाउने प्रयासमा आँखा खोल्दै, बन्द गर्दै मैले कान ठाडो पारेर त्योे आवाज सुन्ने कोसिस गरिरहेँ । केको आवाज थियो त्यो ? मैले टाउको घुमाएर ढोकातिर हेरेँ । ढोकाको कापबाट भित्र छिरिरहेको अलिअलि उज्यालोले मलाई आभास भयो– ढोका पूरा बन्द थिएन । तर सुभद्राले त ढोका बन्द गरेर गएकी थिइन्, फेरि यो ढोका कसरी खुल्यो ? साँचो त बिन्ती या सुभद्रासँग थियो । त के बिन्ती…मैले बिस्तारै बोलाएँ ‘बिन्ती…!’ तर कुनै जवाफ आएन ।
‘सुभद्रा…!’ मैले फेरि बोलाएँ । प्रत्युत्तरमा कोही बोलेन । तबसम्म मेरा आँखा अँध्यारोसँग अभ्यस्त भैसकेका थिए । मैले आँखा च्यातिच्याती टाउको घुमाउन सक्नेजति घुमाएर कोठाको चारैतिर हेर्ने प्रयास गरेँ । अनायास मेरा आँखा झ्यालछेउ उभिएको आकृतिमाथि पर्यो । को थियो त्यो ? मैले तीव्र उत्कण्ठापूर्वक सोचेँ । मैले हेर्दाहेर्दै त्यो आकृति ढोकातर्फ बढ्यो ‘के ऊ बाहिर निस्कँदै थियो ?’ मैले सोचेँ । आकृतिले ढोकामा पुगेर मेरो पलङतिर फर्केर हेर्यो अनि हात बढाएर ढोका बन्द गर्यो । ढोकाको चुकुल भित्रबाट बन्द गरेको आवाज सुनेर मेरो सारा शरीरबाट पसिनाको मूल फुट्यो । म कोसिस गरिरहेथेँ– कसैगरी उठ्न सकूँ ।
अब त्यो आकृति मेरो पलङछेउमा आएर उभियो । मेरो मुटुको ढुकढुकी यति तीव्र भयो कि त्यो मेरो कानमा बज्न थाल्यो ।
‘के गरौँ, भगवान् म के गरौँ ?’ मैले ब्यग्रतापूर्वक छटपटाउँदै सोचेँ । अचानक त्यो आकृतिको हात माथि उठ्यो । थाहा छैन कहाँबाट छिरेको झिलिक्क उज्यालोमा मैले उसको हातमा केही चम्केको देखेँ ।
‘छुरी !’ मेरो त्रसित मनले आर्तनाद गर्यो । मैले चिच्याउन खोजेँ, तर मेरो आवाज फुटेन । उसको उठेको हात वेगसँग मेरो शरीरतिर प्रहार गर्न सोझियो ।
अब अर्को कुनै विकल्प थिएन । मैले दाँत बाँधेर त्यस छुरीको प्रहारबाट आफूलाई बचाउने कोसिसमा आफ्नो शरीरलाई त्यहाँबाट सार्ने भरमग्दुर प्रयास गरेँ । यो मेरो जीवन–मरणको प्रश्न थियो । अघिपछि जे–जेस्तो भए पनि म यति बेला त्यसरी मर्न किमार्थ चाहन्थिनँ । म बिन्तीलाई मेरो समस्याको जन्जालमा उनेर, बल्छीको माछाजस्तै बनाएर छोड्न चाहन्थिनँ । उसलाई बचाउनका लागी मैले बाँच्न आवश्यक थियो । मैले बाँच्नका लागि त्यो प्रहार छल्न जरुरी थियो । मैले बिन्तीको अबोध अनुहार याद गरेर आँखा बन्द गरेँ । मेरा लागि आफूलाई बेचिदिन तत्पर त्यस केटीलाई जीवनको यो मोडमा एक्लै छोडिदिनु अपराध थियो र अरू जेसुकै भए पनि म अपराधी हुनै सक्थिनँ !
मैले दाँत बाँधेर एकपटक फेरि आफ्नो शरीरलाई त्यहाँबाट सार्ने कोसिस गरेँ । यसपटक मेरो प्रयास सार्थक भयो– मेरो शरीर ओछ्यानमा अर्कोतिर पल्टनु र त्यो आकृतिको हातमा भएको छुरी वेगका साथ, एक सेकेन्ड अघिसम्म मेरो शरीर भएको ठाउँमा ओछ्यानमा धसिनु एकैपटक भयो ।
ईश्वर भाक्दै मैले अरू एकपटक आफ्नो शरीरलाई पल्टाउने कोसिस गरेँ । यस प्रयासमा म बेडबाट भुइँमा लड्नपुगेँ । तबसम्म त्यो आकृति फेरि छुरी लिएर पलङको घेरा काटेर मतिर बढ्दै थियो । मैले व्याकुल भावले चारैतिर हेरेँ । म जहाँ लडेको थिएँ, त्यसको ठीक सामुन्ने बाहिर निस्कने ढोका थियो । म बामे सर्दै ढोकातिर लम्किएँ । अचानक त्यो आकृतिले पछाडिबाट मेरो गर्धन समात्यो । मैले आफूलाई फुत्काउने प्रयासमा आफ्नो भएभरको शक्ति बटुलेर उसमाथि लात र मुक्का चलाएँ । थाहा छैन, मेरो लात र मुक्का उसको शरीरको कुन भागमा परिरहेथ्यो तर यसपटक उसको मुखबाट चीत्कार निस्कियो अनि मलाई समाइरहेको उसको हात पनि खुकुलो भयो । मैले मौका छोपेर उठ्न खोजेँ तर सकिनँ । यत्तिकैमा उसले फेरि मलाई समात्यो र मलाई झकझकाउँदै मेरो खुट्टामा उभ्यायो । मसँग जोडिएको युरिनको ब्याग कहीँ अल्झिएर तानियो र मेरो शरीरबाट अलग भयो । लगलग काँपिरहेका मेरा खुट्टा स्थिर नहुँदै मैले एउटा दरो मुक्का उसमाथि जमाएँ अनि फर्केर ढोकातिर दौडिएँ ।
“ऐय्या..! बजियाले नाकै फोडिदियो मेरो….!” ऊ चिच्यायो, तर म उसको चिच्याइतिर ध्यान दिनसक्ने स्थितिमा थिइनँ । थरथर काँपिरहेको शरीरलाई कसै गरी भित्ताको सहारामा अड्याइरहने प्रयत्न गर्दै मैले छामछुम गरेर ढोकाछेउमा भएको बत्तीको स्विच भेट्टाउने कोसिस गरेँ ।
‘मरेँ नि .. हड्डी नै धूलोपीठो भएजस्तो छ, साले..म भने…।”
‘वा… वासु…?’ भरखरै भेटेको बत्तीको स्विच थिच्दै म अविश्वासपूर्वक कराएँ ।

क्रमश..
………………………………………………………………………………………………………………
(विगत डेढ दशकदेखि उपन्यास र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा ।हालसम्म उनका पाँचवटा कृतिहरू प्रकाशित छन् । उनको आख्यान–श्रृङ्खला– फरक रहेक सोमबार र शुधmबार नियमितरूपमा प्रकाशित हुनेछ ।)
[email protected]