• २०८१ माघ १० बिहीबार

म कसरी भ्रष्ट भएँ र साथी ?

 नीरा शर्मा

नीरा शर्मा

फिता छिनेको चप्पल पनि
काखीमुनि च्यापेर
पैतालाभरि ठेला उठाउँदै
सहर छिरेको मान्छे हुँ म,
हाँसेको झिलिमिली सहरभित्र
रोएको गाउँ चटक्कै बिर्सेर
पैतालाका ठेलालाई
सुनको जुत्ताले छोप्न खोज्दैमा
म कसरी भ्रष्ट भएँ र साथी ?

जनताको पसिनाको खोलामा
जनताकै काँधको पुल बनाएर
पटुकीमा इमान बोकी
सहर छिरेको मान्छे हुँ म,
नैतिकताको पर्खालभित्र
अनैतिकताको खेती गरी
पानी राख्ने ट्याङ्कीहरूमा
सुनैसुन राख्न खोज्दैमा
म कसरी भ्रष्ट भएँ र साथी ?

आँसुले तताएको ढिँडो पनि
पेटभरि खान नपाएपछि
एक पेट टन्न खाने रहरमा
सहर छिरेको मान्छे हुँ म,
सुनको थालमा पस्किएर
हीरा–मोती खान खोज्दैमा
म कसरी भ्रष्ट भएँ र साथी ?

चुहिएको छानोलाई
खर र चोयाले टालटुल गरी
आफ्नै देशको झन्डा ओड्दै
सहर छिरेको मान्छे हुँ म,
राष्ट्रिय झन्डाको छाताभित्र
आदर्शलाई लिलाम गरी
माटो–पानीको व्यापार गर्दै
सुनको छानो हाल्न खोज्दैमा
म कसरी भ्रष्ट भएँ र साथी ?
………………………………………………………………………………………………………
शर्मा विगत दुई दशकदेखि कविता र कथा विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् ।
[email protected]