कविता

हिजोसम्म मानिसभन्दा शक्तिशाली प्राणी यो दुनियाँ जन्मेकै छैन भन्ने दाबी थियो । जगत्मा प्राणीमध्येमा सबैभन्दा विवेकशील, चतुर, बुद्धिमान र सहासी मानिसबाहेक अर्को कोही थिएन भनिन्थ्यो । तर आज आएर थाहा भयो– यो सबै भ्रम रहेछ । मानिस त सबैभन्दा कायर जीव पो रहेछ । समयले गोता लगाएपछि मै हुँ भन्ने मानिस पनि थान्को लाग्दो रहेछ ।
सधैँ टेलिभिजनका पर्दामा मेसीले रोनान्डो (क्रिस्टियनो) को पोस्ट्मा कति गोलो गरे या रोनाल्डोले मेसीलाई छक्याएर उनको पोस्ट्मा कति गोल ठोके भनेर गोल गन्ने आँखा आज निस्साहाय बिरामी मानिसका सङ्ख्या गनिरहेका छन् । यस धर्तीमा फेरि नउठ्ने गरी सदाका लागि कति ढले भनेर तिनको टाउको गन्ती गर्न विवश छन् ।
कस्तो विरक्तिपूर्ण दिन देख्नु प-यो । २०७२ मा आएको भूकम्पले घरभित्र पस्नै दिएन । त्यसको चार वर्षपछि आएको यस कोरोना भाइरसले घरबाहिर निस्किनै दिँदैन । भूकम्पका बेला त जमिन हल्लिन्थ्यो, घर हल्लिन्थ्यो र भाग्ने मौका पाइन्थ्यो । तर कोरोना भाइरसले त बेआवाज मानिसका मुटु हल्लाइरहेछ । बस्दाबस्दा आफ्नै घर जेलजस्तो लाग्न थालेको छ । त्यही सीमित कोठा, तिनै भित्ता र टाँगिएका तस्बिरहरू अनि टेलिभिजनको पर्दा । आँखा अस्पतालमा आँखा जचाउँन उल्टो पारेको अक्षर कुनै सिसाअघि पढेजस्तो भएको छ हविगत भित्ता हेर्दाहेर्दा ।
यतिखेर सारा शस्त्र बेकामे भएका छन् । तिनै शस्त्रका बलमा मानिसले खिँचेका राज्यका सीमारेखा सङ्क्रमणले सीमाहीन बनाएको छ । बन्दुक र गोली पनि आखिर मानिसले मानिसको हत्या गर्न प्रयोग गर्ने साधन मात्र त रहेछन् नि । अदृश्य ठूलो शक्तिले सारा मानिसलाई एकैपटक आक्रमण गर्दा ती पनि सैनिकको काँधका बोझ मात्र बन्दारहेछन् ।
कति पढ्नु अक्षरहरू पनि ! लाग्छ– त्यसमा भएको ज्ञान र अनुभव अहिले खरानी भएको छ । सम्पूर्ण शास्त्रहरू पनि यतिखेर अर्थहीन भएका छन् । खालि अक्षर र शब्दका थुप्रो मात्र बाँकी छन् तिनमा । कहाँ खोज्नु आश्रय, कसको गर्नु भरोसा । सबै लाचार छन्, सबै पराजित मानसिकतामा छन् । कसै गरे मनमा शान्ति छैन । र, घरिघरि सम्झिन्छु कवि बसन्त चौधरीले लेखेको गीत– ‘थोरै मात्र बचेको यो शान्ति लुकाऊँ कहा !’
हो, कतै हल्ला छैन । निस्तब्धता छ सहर र गाउँ सारा । तर शान्ति खै कहाँ छ ? मनमा उद्वेग उम्लिरहेछ । सन्नाटा पनि शान्ति हुनुसक्छ ? मौनता पनि शान्ति हुनसक्छ ? अनि आफूले आफ्नो परिवारका लागि जोगाएको यो थोरै शान्ति पनि कति दिन जोगाउन सकिएला । आखिर यो मुटु पनि त ढुङ्गाको होइन, फलामको होइन, मासुकै डल्लो त हो नि ।
फेरि द्विविधा र आशङ्काले यही मुटुमा धारिलो छुरा चलाइरहेछ । विरामी पनि हुन नहुने । झन् बिरामी भएँ भन्यो भने त त्यो सोझै सामाजिक अपराध । घरभित्रै पनि कारागाराको पनि ‘गोलघर’ को एकान्तवासमा पठाइने सन्त्रास । अझ घरछिमेकीले थाहा पाए भने त झन् ‘तडिपार’ गराएर आइसोलेसनमा पु-याउने सन्त्रास । त्यसैले मनभरि भक्कानो फुटे पनि छिमेकीले झ्यालबाट चिहाउँदा कृत्रिम नै सही, यस्सो हेलो भनेर मुस्कुराउनैपर्ने । सञ्चै छु भन्नेपर्ने । श्रीमती र बालबच्चाको हिम्मत खस्किन नदिन मुटुमा टाइम बल सिउरेर पनि उज्यालो अनुहार पार्नैपर्ने । तर आफू हताश हुनु भनेको परिवार हताश हुन हो भन्ने सम्झेर यो सानो मुटुलाई जति नै बलियो पार्न खोजे पनि नसकिँदो रहेछ । बाहिर जति नै शान्ति र निश्चिन्तताको अभिनय गरे पनि घरिघरि मनभित्र जाने सन्त्रासको पहिरोलाई कतिञ्जेल छोपेर राख्नु ?आखिर आँखाले त साक्षी बकिहाल्दो रहेछ– रसाएर ।
अम्बर गुरुङले गाएका छन्–
कमलो मुटुभन्दा ढुङ्गाकै मुटु जाती,
एकदिन त प्रहार हुन्छ, ढाल हुनुपर्छ छाती
उनी जीवित भए सोध्नुहुन्थ्यो– यो ढुङ्गाको मुटु पाइने ठाउँ कहाँ छ भनेर । अनि छातीबाट यो मासु सानो डल्लो थुतेर फ्याली त्यो ढुङ्गाको मुटु जोड्नुहुन्थ्यो । अब उनी पनि छैनन् । तर प्रहार भइरहेछ । लगातार, नबिसाई प्रहार भइरहेछ ।
मर्नेको सख्या यति पुग्यो, सङ्क्रमितको सङ्ख्या यति छ । टेलिभिजनले मिनेटमिनेटमा जानकारी दिइरहन्छ । मानौँ विश्वव्यापी महानिर्वाचन भइरहेछ र टेलिभिजन निकटतम प्रतिस्पर्धीहरूको आकडा प्रस्तुत गरिरहेछ । तर कहालिलाग्दो नियति– जसले प्रतिस्पर्धामा बढी मत ल्याउँछ त्यो जीवनबाट सदाका लागि पराजित हुन्छ । यो जित भनेको मृत्यु हो !
आखिर जस्तै मै हुँ भन्नेको पनि मुटु छाम्यो यसपटक कोभिड– १९ को महामारीले । विश्वलाई द्वापरका कृष्णले औँलामा सुदर्शन–चक्र घुमाएजसरी घुमाउँछु भन्ने महाशक्ति राष्ट्रका ‘महामानव’ हरू पनि अहिले आफैँ रिँगडा चल्ने गरी फनफनी घुमिरहेछन् र कुना पसी कुँडुलो परेर लुकेका छन् । आखिर तिनको मुटु पनि त मासुकै रहेछ नि !
आफ्नो हात हेर्दा आफैँसँग त्रास लाग्छ । अहिले आफ्नै हात अछुत र घातक भएको छ । नाक, मुख, आँखामा झुक्किएर छोइहाल्यो भने पनि अब केही भइहाल्ने हो कि भन्ने आशङ्काको भयले डस्न थाल्छ । कस्तो अवस्था आयो– आफ्नै अनुहार मुसार्न पनि प्रतिवन्ध !
यस विपत्तिमा देशभरि सङ्क्रमणको ज्वाला हुरहुरी बलिरहेछ तर निरो एकहोरो बाँसुरी फुकिरहेछ । संवेदनाले मानिस आक्रान्त छ, विवश र लाचार छ । निरुपाय भएर टाढाटाढा रहेका आफन्तहरूलाई सम्झेर मानिस भित्रभित्रै मरिरहेछ तर निरो गुप्तवासमा बसेर ाँसुरी फुकिरहेछ । यो कस्तो विसङ्गति ! यो कस्तो विचलन !!
प्यान्डोराको बाकसबाट निस्केको आशाले जस्तै मानिसलाई अब त केही राम्रो होला कि भन्ने भरोसा दिन थालेको छ । कसैसँग समाधान छैन । खालि एउटा आशाको धिपधिपे दियो पर कतै बलिरहेको छ– यो दानवलाई संहार गर्ने केही न केही उपाय त निस्केला । त्यही आशामा सारा व्रह्माण्ड स्पन्दित भइरहेछ । कसैलाई थाहा छैन भोलि के हुने हो ? खालि प्रतीक्षा छ योबाहेक कसैसँग अर्को उपाय पनि छैन । तर यो पनि कहिलेसम्म ? यस अनिश्चतातको घानले मथिङ्गलमा ठोकिरहेछ ।