• २०८१ कातिर्क २५ आइतबार

आवाज हराएको समय

डा. रजनी ढकाल

डा. रजनी ढकाल

 

‘हे जीवनशक्ति, उनीहरूको आशा सधैँ पलाइरहोस् !’ बारम्बार फुसफुसाइरहेछ यो क्वारेन्टाइन आवाज ! उफ्, सामाजिक सञ्जालमा बेपर्वाह चिप्लिरहने हेराइसँगै लथालिङ्ग छ यस मनको उराठिलो समय । जसरी ठप्प छ यो विश्व उसै गरी ठप्प छ मेरो सिर्जनशील विचार र लय पनि । स्ट्याच्यु !! कि यो बालकहरूको खेलको समय हो ? सबै जहाँको तहीँ ! यो लकडाउनको ३०औँ दिनमा पनि म उहीँ छु । चुपचाप पालना गरिरहेछु यस समयको नीरस निर्देशन !
सहर शून्य छ । न सधैँझैँ आवाज छ, न मानव चहलपहल । यही परिवेशले म पनि संवेदना सुकेको समयसँगै चुपचाप छु । बारम्बार टेलिभिजनका पर्दामा हुन्छन् मेरा आँखा । कति असहाय छ जीवन, कति निरीह, कति कमजोर ! चिच्याउन पुग्छु । कोही कसैसँग हार्दिकताका आँसु साट्न नसकेका मेरा शुष्क आँखाहरू समाचारका कारुणिक दृश्यमा अडिएका अडियै हुन्छन् । मेरा कानहरू समाचारका कम्पित आवाजमा भासिएका हुन्छन् । कुनै स्वैरकल्पनाको कथाजस्तो वोल्र्डोमिटरमा मृत्युका तथ्यहरू पढ्दापढ्दा बेहोस हुने अवस्थामा पुगेकी छु म । मृत्यु पनि कति एकाकी कति अमानवीय ? जीवनको अन्तिम क्षणमा पनि कुनै प्रियजन भेट्न नमिल्ने ! जीवनको लागि भन्दा मृत्युका लागि बढी ठाउँ चाहिने ! मानौँ यो सृष्टि जीवनका लागि नभएर अन्त्यका लागि मात्र हो !
पुनर्जीवन दिन अभ्यस्त डाक्टरका ती हातहरूले लास उठाउँदाउठाउँदै थाकेको दृश्य आँखामा दौडिरहन्छ । सपनामा पनि तिनै दृश्यले लखेट्न थालेको छ मलाई । जीवनका हरिया सम्भावनाहरू बोकेका डाक्टर र नर्सको मृत्युको कथाले बारम्बार खेदिरहन्छ । उपचारमा संलग्न ती जीवनवाहकहरूको हृदय कस्तो भएको होला ! जीवनको गतिभन्दा मृत्युको गति तीव्र भएको यस क्षणलाई म कसरी सम्झौँ, म कसरी लेखौँ र म कसरी आत्मसात् गरौँ ? यो बेचैनी, यो जीवनबोध र यो मृत्युपीडालाई कसरी उतारूँ म ? सायद यो मेरो युगको दुर्दान्त पीडा, मेरो बचाइको असहज अनुभूति र मानवतामाथिको हत्या ।
यही सत्यको बोधमा पनि किन सलबलाइरहन्छन् औँलाहरू यो किबोर्डमा ! केही आवाज त छ मसँग, केही गति त छ मसँग ! मानवताका लागि मन र मुटु दह्रो पारेर लडिरहेका ती महान् आत्मालाई सलाम गर्न मन लागेको छ । आफ्ना आँखाका नानी छोराछोरी, आफ्ना जीवनदाता मातापितालाई परबाट गहभरि आँसु पार्दै हेर्न विवश भएर आँगनबाटै चियाको कप रित्याएर परिवारबाट टाढा भएका डाक्टर र नर्सहरूको मनलाई हृदयभरिको ममता पोख्न आतुर छ यो मन ! केही नबोलिरहँदा पनि बोलिरहेकी छु र मनभरि आस्थाका स्वरहरू लहराइरहेछन् ।
घर छ, परिवार छ, घरैको काम छ । बिहान छ, बेलुकी छ, दिउँसोको घाम छ । तर संसारमा केही छैन जस्तो अनुभूति किन आइरहन्छ ? हावा आफ्नो गतिमा छ, नदी आफ्नै प्रवाहपथमा छ, फूल आफ्नै सुगन्धमा हराएको छ ! जीवन पनि त गतिमानै छ । दैनिक काम गरेकी छु, खाएकी छु, बसेकी छु, सुतेकी र उठेकी पनि त छु । बारीमा धरती छेड्दै आकाश उचाल्न थालेका छन् बिरुवाहरू पनि । तिनीहरूको उही रङ उही उमङ्ग ! फेरि पनि कत्ति स्थिर छैन यो मन ! यो सुनसान बस्ती किन यति बिघ्न बिझिरहेछ ?
आवाजहरूको बस्तीबाट आवाज हराएको यो समय । एकाग्रताको एकोहोरो अभ्यासमा छु र हराएकी पनि छु । घरिघरि घरको सरसफाइलाई बिथोलिरहन आउने धूलो र घुर्यान पनि कतै हराएको छ । थोरै फेरिएका छन् तर थोरै उस्तै छन् । बगैँचा आफ्नै सौन्दर्यमा मस्त छ र बारीका बोटहरू मेरो सान्निध्यमा रमाएका छन्, एक्लो नहुनुको खुसीमा कोठाचोटा दङ्ग छन् । दराजका पुस्तकहरू मलाई हेरी मुस्कुराइरहेछन् र मेरो हातमा रमाउन थालेका छन् । यही हो समय आऊ, मसँग जोडिऊ भनिरहेछन् घरभित्रका वस्तुहरू । मनोरञ्जनका बेपर्वाह सामग्री नेटमार्फत् हातैमा छन् । साथमा हुनुपर्नेहरू सबै साथैमा छन् तर कत्ति ठीक छैन यो जीवनको लय ! नभएपछि आशाको पुञ्ज कसरी जिउँदो रहेछ र मान्छेले ! अनि कसरी बज्थ्यो यो मनमा सुरिलो धुन ? कहाँ चुँडियो यो धुनको तार ? यस उदासीमा म खोजिरहेछु बिर्सिएको एक हरफ जीवन ! म खोजिरहेछु जीवन्त शब्दहरू ! तर शब्दहरू सुकेका छन्, अक्षरहरू आवाजहीन छन् । तैपनि खोजिरहेछु जीवनका मधुर हरफहरू र हृदयका सुन्दर वाणीहरू !
कसरी सङ्क्रमित भइरहेको छ यो समय ! पातलिँदै गएको स्वच्छ हावा फोक्सोभरि भर्न समेत वञ्चित छ मान्छे ! परम्पराले थिलथिलो भएको समाजकी बुहारीले टाउको छोपेझैँ आफ्नो मुख र नाक छोपेर हिँड्न बाध्य छ । प्रकृतिप्रदत्त जीवनका प्राप्तिको अमूल्य सौन्दर्य ग्रहण गर्ने अवसर पनि कहाँ छ र ? बढाउन नसकेर सहयोगी हातहरू किन बढाउनु परिरहेछ सामाजिक दूरी ? यो महाकालको ओखती खोज्न नहिँडेर किन बन्दी भएको छु म आफ्नै घरमा ? सबैसबै उल्टो भइरहेको छ, त्यसैले मेरो वाचाल हृदय थुनिएको छ र चञ्चल मन कैदमा छ । सिर्जनाका उत्तरहरू प्रश्नमा परिणत भएपछि उल्टो लयमा बग्ने रहेछ जीवनको गति ।
पाङ्ग्राहरू प्रतिबन्धित छन्, पाइलाहरू चारपर्खालमा सीमित छन् ! गाडी गुड्न छाडेका सुनसान सडकमा एकाएक छापिएका पाइलाहरू देखेर हैरान छु । आफूले बनाएको सडकमा सधैँ डामिइरहने ती भोको पेटमा पाइला दौडाउने मजदुरका पाइलाहरू किन अभिशप्त छन् यतिखेर सडक नाप्न र चरैवेतिको यात्रामा निस्कन ? कति शक्ति होलान् ती पाइलाहरूमा जीवनलाई गन्तव्यसम्म पुर्याउन ? कसरी यात्रारत छन् उनीहरू लालाबालासहित हप्तौँसम्मको कठोर गन्तव्यको खोजीमा फगत पाइतालाहरूमा ? यस यात्राबन्दमा प्रकृतिको गतिझैँ निरन्तर छ मानिसको भोक । पेटको आगो शीतल पार्ने तिनको अभिलाषा ! खोइ कहाँ छ तिनीहरूप्रति संवेदनाको तरलता ? आफ्नै मातृभूमिमा किन सधैँ सडक नाप्नु परिरहेको छ हाम्रा सडकछापे सपनाहरूले ? पौरखी हातलाई सुखको गाँस कहाँ छ ? किन लेखूँ म ? खै यी अक्षरले तिनको सहारा बन्न सकेको ? खै यी अक्षरले तिनको चोटमा मलम लगाउन सकेको ? तैपनि कलम भाँच्न सक्दिनँ । सम्झन्छु म आफू पनि त श्रमिक हुँ । अनि सम्झन्छु वर्तमानलाई र मेरो आस्था भनिएको नेतृत्वलाई ? प्रश्न आउँछ र हुरी उड्छ मनभरि कहाँ गयो सर्वहाराको नेतृत्व गर्ने यस समयको अगुवा विचार ? मैले कहाँ बन्दी बनाएकी छु आफ्नै समाजको यो असहज भोगाइ सँगेल्नुपर्ने आवाजलाई ?
सिर्जना त मनको संवेदनालाई आनन्दी तरलतामा बगाउने खेल रहेछ । मैले यस कहरको समयलाई कुनै सेलिब्रेसन गर्नै जानिनँ । सबैतिर ठीकठाक छ भनेपछि मात्र सुरु हुने रहेछ आफ्नै मनसँगको विद्रोह ! सिर्जनशील विद्रोह गर्न सामाजिक जीवनको गति नभत्किनु पर्ने रहेछ । हुनसक्छ, नसक्नु मेरै कमजोरी । मेरो अभ्यासले मलाई जिस्क्याउँछ, अलिकति भान्साको समय उबारेर अलिकति छोराको माया घटाएर, अलिकति पतिको समय चोरेर बनाएको यो जीवनगतिमा म सायद प्रतिस्पर्धामा दौडँदै छु र आलिशान महलविना र सरसहयोगीको चहलपहलविना रमाएकी छु । हो यस्तै कर्म, यस्तै भोगाइको लामो लर्को छ ममा । यस सुनसान समयको यस अन्धकार र एकाकी क्षणमा खोज्दै छु सहृदयीपन । लाग्छ, शून्य हुँदैछु म तर ताराको टिलपिल उज्यलोमा पर क्षितिजमा हेर्छु अलिकति आशा पलाउँछ, अलिकति ममता पलाउँछ र उसको मन र सहृदयताले तानेर फेरि जीवनमुखी बन्न खोज्छु ! फेरि यो सामाजिक दूरी, यो एकान्तवास ! आफैँलाई अचम्म लागिरहेछ ।
उहानले सुरु गर्यो कि मानवीय व्यवहारले ? आखिर मानव पनि त विनाशको खेतीमा रमाएको छ र सिङ्गो पृथ्वीको दोहन गर्दैछ । अनि यो विनाश ! यो महामारी ! यो भयावह ! कहिले फर्किएला यो विश्वको जीवन पुरानै लयमा ? आज सबैका आँखामा आशङ्का छन्, सबैका मनमा प्रश्नहरू छन् । यो समय सन्त्रास र प्रश्न उमारेर बन्दी भएको छ सबैको मनमनमा । हेरिरहँदा विवश यात्राहरू, लागिरहेछ– यो समय जीवनको लय खोज्न आफ्नै पैतालाका पौरख पनि खोजिरहेको छ । आफ्नो सुरक्षाको पर्वाह नगरी दिनरात सेवामा खटिइरहेका श्वेत वस्त्रधारीहरू ईश्वर बनेका छन् । उनीहरूको एउटा खोज र परीक्षणको सफलताका लागि कामना गरिरहेकी छु ! म त्यस महान् आविष्कारलाई सलाम गर्न लालायित छु ।
उसैगरी उदाउँछन् घामजून ! उसैगरी चिर्बिराउँछन् बगैँचामा चराहरू ! तर मान्छेका सुस्केराले ती पनि मौन जस्ता छन् । चराको सुरिलो आवाजले खुल्ने निद्रा हिजोआज हराएको छ र रातको सपना उडेको छ । सात समुद्रपारिबाट आउने आफन्त अनि छोराको फोनले झन् अत्यासमा पर्छु र छाती चसक्क हुन्छ । कतै केही भएको त छैन नि ! सुन्दर भावहरू त्यसै बिलाउँछन् र प्रकृतिको स्वाभाविक गति रोकिएझैँ भान हुन्छ । मानौँ उसले मानिससँग प्रतिशोध लिएको छ मानिसले आफूप्रति गरेका अनेक भूल र असभ्यताको पाठ पढाएको छ । शक्तिशाली प्रकृतिले मानिसको असभ्य आँटलाई उल्ट्याएको छ । उसैलाई दोहन गरिरहने मानिस आज निरीह पल्टिएको छ । फेरि प्रकृतिसँगको सामीप्य खोजेर पुनः सङ्घर्षमा होमिन तयार छ मान्छे ।
विशाल सहर र महलहरू सुनसान बनेका छन् । जीवनको गति रोकिएको यस समयले मानिसलाई बाँच्नुको मूल्य बुझाइरहेको छ । जीवनको मूल्य बुझाइरहेको छ । मानिसको जीवन मात्र होइन प्रकृति, प्राणी र वनस्पति सबैको जीवन उत्तिकै मूल्यवान छ भन्ने पाठ सिकाइरहेको छ । संसार जितेको हुङ्कार गर्ने मानिस आफ्नो मृत्यु हेर्न विवश छ आज । अदृश्य भाइरस शक्तिशाली शत्रु बनेको छ उसको । न धनले, न अस्त्रले परास्त गर्न सकेको छ मानिसले । ऊ विवश छ, मानौँ ऊ एउटा निरीह बालक हो । चुपचाप प्रकृतिआमाले दिएको खानेकुरा खाएर आफ्नै घरको बन्द परिसरमा बाँधिएको छ ऊ ।
आज पनि पहिलेजस्तै भए ऊ उसैगरी चकचक गर्दो हो । उपद्रव गर्दो हो । आफ्नालाई मारेर सात पुस्तालाई पुग्ने धनसम्पत्ति थुपार्दो हो । प्रकृति मासेर बडेबडे कृत्रिम भवन निर्माण गरेर कमाइको मस्ती लुट्दो हो । विलासी संसार बनाएर मक्ख पर्दो हो । तर आज ऊ हलचल गर्न नसक्ने अवस्थामा छ ।
के मान्छे अब यसैगरी चुपचाप बसिरहला ? के सधैँ सामाजिक दूरीमा बाँचिरहन सक्छ मान्छे ? बाँच्नुभन्दा ठुलो अर्थ त केही होइन रहेछ जीवनको तर बाँच्नुको नाउँमा ऊ यान्त्रिकता बाँच्ला ? कि कमाएर देखाउने र दाँजिने कोही नभएपछि ऊ बिस्तारै सबै समान बन्न चाहला ? कि पढाइदिन्छ त यो समयले मानिसलाई साम्यवादको गतिलो पाठ ? जीवनमा गरिने सबै प्रयत्नहरू बाँच्नका लागि । पढाइ, सिकाइ, भोगाइ, देखाइ, कमाइ, उठाइ, सुताइ, डुलाइ सबैसबै यही जीवन सुन्दर, सजिलो र स्वस्थ बनाउनका लागि त रहेछन् । तर हामी यस जीवनलाई सुन्दर बनाउन खोज्दाखोज्दै कहाँ पुग्यौ ? किन यति कुरूप र भयावह क्षण सिर्जना हुनपुग्यो ? के मानिसले मानिसमाथि गरेको अन्यायको प्रतिफल हो यो ? कि मानिसले प्रकृतिमाथि गरेको अन्यायको पाठ हो यो ?
आत्मचिन्तन सबैभन्दा गतिलो साधना हो जीवन बुझ्न । यो स्वयम् साधनाले जीवनको कुन गति निकाल्ला ? यो महामारी जीवनको मूल्य बुझ्ने समय हो । जीवनको क्षणभङ्गुरतालाई बोध गरेर यसलाई उपयोगी बनाउने पनि समय हो ! जति बुझेर पनि फेरि अबुझ छ यो मन ! आफ्नो हात धुने अभ्यासमा पटकपटक सोचिरहन्छु, कति छिटै सङ्क्रमित भइसक्छ यो हात धोएर सक्दानसक्दै, धाराको टुटी बन्द गर्दागर्दै । जेको लागि म केही गर्न खोजेको हुन्छु त्यो नै हुँदैन भने म प्रयत्न गरूँ या नगरूँ ? कसले चाहेको होला र यस्तो सङ्क्रमण फैलाउन तर महाशक्ति देश किन अरूलाई दोषी देख्छ ? किन कटाउँछ यो मानवीय सङ्कटमा स्वास्थ्यक्षेत्रको खर्चको बजेट ! स्वस्थ जीवन पाउनु सबैभन्दा अमूल्य पुरस्कार भएर पनि मान्छे किन कहिल्यै सुखी भएर बाँच्न जानेन ? के असन्तुष्टिबाटै उसको विकासको यात्रा बगेको हुन्छ ?
मलाई फेरि बन्दाबन्दीमा बस्नु छैन ! हिँड्नु छ उही धूलो बाटो, कर्कश आवाजहरूमा मिसाउनु छ अर्को आवाज । बरू त्यही विभेदी समाज नै सही, ऊ सही–सलामत चलोस् अनि म जुझिरहूँ । मलाई सबैभन्दा छिटो भेट्नु छ आफन्त मनहरूलाई, ममताका खानी बुबाआमालाई र कक्षामा रमाइरहने मेरा प्रिय विद्यार्थीहरूलाई ! सबैलाई असुरक्षाको घेरामा बेरेर बारम्बार स्टे सेफ भन्नै सक्दिनँ ! म बाँधिन होइन पङ्खफुक्का हुन मन पराउँछु ।