• २०८१ चैत १२ बुधबार

कलब्याक

राजव

राजव


मभन्दा चार घर पर
ह्वाइट स्ट्रिटमा छ

ऊभन्दा चार घर यता
समर स्ट्रिटमा छु
भेट बिलकुल छैन

हरेक साँझ
न्युबेरी पबमा भेटिने हामी
बेखबर छौँ

ऊबारे अनिष्ट सुन्नु पर्ला भन्ने भय छ
मेरा औँलाहरू फोन छुन काम्छन्
उसका पनि हात भयले काम्दो हो
डेढ महिना भयो
हामी फोनमा पनि सुनिएका छैनौँ

ऊ घरको एकान्तमा छ कि
अस्पताल पुर्याइयो
मन भयले भरिरहन्छ
उसको दिमागी हाल पनि यस्तै होला

कहीँ ऊ जगिङ्का लागि निस्केको छ कि
म झ्याल खोलेर
बाहिर च्याउँछु
साइडवाक शून्य छ
कर्वमा पार्क गरिएका कारहरूको लामो लस्कर यथावत छ
तिनलाई चलाउने मानिसहरू हप्तौँ भयो ननिस्किएको
कफिसपहरू, क्याफेहरू बन्द छन्
आकाशमा घाम झल्याकझुलुक पार्ने
केही बादलहरू छन्
केही प्रवासी चराहरू स्वदेश उड्दै छन्
हप्तौँ सेभ नगरेको एक वयस्क
हगाउन, मुताउन
आफ्नो कुकुर लिएर हतास मुद्रामा
निस्किएको देखियो
दृश्यहरू उदास छन्
भयभीत म झ्याल थुनेर
फेरि आफ्नो एकान्तमा फर्किन्छु

यो एकान्तमा थुप्रै किताबहरू छन्
टीभीका च्यानलहरू छन्
वाइनका बोतलहरू छन्
तर यिनलाई भयले जितिरहेछ

घर बाहिर
साप्ताहिक– न्युयोर्कर, एटलान्टिक र
दैनिक अखबारहरू– बोस्टन ग्लोब, दि न्युयोर्क टाइम्सका
डेलिभरी प्याकहरू
लनदेखि ढोकासम्म
डङ्गुर लागेका छन्
तिनलाई टिप्न नओर्लिएको
महिना नाघ्यो

ती अखबारहरूको हेडलाइन
भाइरस, मृत्यु
कोभिड– १९
अस्पताल, लास, अभाव र भयावहले
भरिएका होलान्
टीभी र रेडियोका प्रसारणहरू
घरिघरि यै बोलिरहेका हुन्छन्
तिनले झन् मेरो एकान्तलाई तर्साइरहेका छन्

आज मैले साहस गरेर उसलाई फोन गरेँ
तर
उसले कल उठाएन
अन्तिम रिङ्टोनपछि
उसले छोडेको त्रासद मेसेज सुनियो–
हाइ, मैले तपाईंको कल पिकअप गर्न सकिनँ
अहिले म माउन्ट उबर्न हस्पिटलमा भर्ना भएकोछु
फर्केपछि कलब्याक गर्छु

म सन्न मुद्रामा
फेरि, फेरि उसको मेसेज सुन्छु
ऊ भनिरहेछ– फर्केपछि कलब्याक गर्छु

यो एकान्तवासको
कोभिड– १९ अन्धकारमा
प्रार्थना चलिरहेछ
अस्पताल पुग्ने सब कलब्याकका लागि फर्किऊन्