• २०७९ असोज १९ बुधबार

महायुद्धको भूगोलबाट

राधिका गुरागाई

राधिका गुरागाई

पखेटामा गन्तव्य सिउरिँदै
स्वतन्त्र उडिरहेकै छन्
चराहरू
बिहानीको दैलो उघार्दै
उज्यालो छरिरहेकै छन्
घामका किरणहरू
ताराहरूको मालाले सिँगारिएको आकाशबाट
खसाइरहेकै छ धर्तीमा जूनले
सधैँझैँ दिव्य उज्यालो

समय आक्रान्त बन्दै गएपछि
अस्थिर बनेको छ मनभित्र
धैर्यको नदी

ब्याट्री सकिएको घडीका सुईझैँ
टक्क अडिएको छ मानवसमुद्र
कुँजिएका छन्
होम क्वारेन्टाइनको कारागरभित्र
कर्मशील पाखुरी
गोठमै भुस चपाएर अघाउने
गाइैबस्तुजस्तै
निरीह बनेका छन्
बेफुसर्दिला पाइलाहरू

सखारै मान्छेलाई निद्राबाट ब्यूँझाउँदै
भाले बासेकै छ गाउँमा
जलक्रीडाको उन्मादमा रमाउँदै
निर्वाध पौडिरहेकै छन् माछाहरू
नदी र तलाउहरूमा

रङ्गीन सपना
देख्न छाडेका छन् आँखाहरूले
समृद्ध योजना बाट्न छाडेका छन् कलमहरूले
छरपस्ट छन् बाल, वृद्ध सबैका तिर्खाहरू
सुर–तालविहीन बजिरहेका छन्
सारङ्गी र मुर्चुङ्गाहरू
अज्ञात शत्रुसँगको महायुद्ध लडिरहेछ
यो भूगोल
त्यो युद्ध–मैदानमा
पूर्ववत् रमाइरहेछन् पृथ्वीभरि
सारा प्राणीहरू
आक्रान्त देखिन्छ केवल
सात अर्बको एउटा
शक्तिशाली झुन्ड