कविता

मानिस र ईश्वरले दुःख र पीडामा
आन्तरिक चोट र ब्यथामा
असहनीय भवितव्य र
असहनीय अपमानमा
आघातमा, आत्मसम्मानको रक्षामा
प्रेम र मृत्युमा
आत्मीयसँगको भेट, विछोड र अन्तिम विदाइमा
आगो, भोक, आक्रोश र विद्रोहमा
बगाएको, पोखेको आलो आँसु
एकै ठाउँ जम्मा गर्ने हो भने
अरू सात समुद्र बन्नेछ
कसले भनेको ?
विश्वविजयी युवा अलेक्ज्यान्डरले औलोले मर्नभन्दा अगाडि ?
पत्नीको वियोगमा रामले अथवा
पतिको वियोगमा सीताले लङ्कामा ?
पिताको आत्महत्याले छटपटाइरहेको
अश्वत्थामाले अथवा
पुत्रशोकमा द्रोणाचार्यले ?
युवापुत्रको असामयिक निधनले सन्तप्त
मदनमणि दीक्षितले ?
तारादेवीले ?
शैलेन्द्र साकारले ?
एक्लै इच्छा–मृत्यु कुरिरहेका भीष्मले ?
विश्वयुद्ध हारेर राज्य गुमाएका हिटलरले
मर्नअगाडि ?
पत्नीको कुचो–प्रहारबाट वाक्क भएका
सुकरातले ?
कुरूप अष्टावक्रले ?
ईश्वरका हत्यारा
चार्वाकले ?
नित्सेले ?
किर्केगार्दले ?
जीवनको उत्तराद्र्धमा घर छाडेका
टल्सटायले ?
आफ्नै पिताबाट शिरोच्छेदन गरिएका
गणेशले
कि
जीवन र मृत्युको भयले ज्ञानको खोजीमा हिँडेका
बुद्धले ?
हो ?
कसले भनेको ?