• २०८१ श्रावाण ११ शुक्रबार

लेखकहरू बलत्कार र हत्या पनि प्रेमपूर्वक गर्छन्

अनुपम रोशी

अनुपम रोशी

दिनको ठीक १२ बजेपछि, पहेँलो कपाल, ठाउँठाउँमा च्यातिएको ग्रन्च हाफ पेन्ट, पाँचवटा नङमा पाँचवटै कलरको नेलपेन्ट, नाकमा मुन्द्री लगाएका चुरोटको ह्वास्स गन्ध आउने दुईवटा स्त्रीशरीर माइक्रो बसमा चढे ।

‘ए तिमीहरू पछाडि जाओ, यी बैनीहरू यहाँ बस्छन् ।’ यसअघि आफूलाई डीएसपी एल श्रेष्ठ बताएको मानिसले सँगैको सिटमा रहेका दुई युवकतिर हेर्दै भन्यो । उनीहरू मन नलागीनलागी लास्ट सिटतिर लागे । लास्ट सिटमा बस्न चाहेका स्त्रीशरीर पनि मन नलागीनलागी डीएसपी श्रेष्ठ बसेको सिटमा आएर बसे । हुनसक्छ उनीहरूको पहिल्यै चिनजान थियो । या चिनजान बिलकुलै नयाँ पनि हुनसक्थ्यो ।
माइक्रो बसको कुनामा थियो एउटा लेखक । जो आफुलाई शान्त, सभ्य र निकै अनुशासित ठान्थ्यो । काजमा फर्किंदैै गरेको डीएसपी एल श्रेष्ठ निकै मिजासिलो देखिन्थ्यो । सबैलाई टेककेयर गर्ने प्रयत्न गरिरहेको थियो । बीचमा घुसेका स्त्रीशरीर भने मौन थिए । डराएका जस्ता । केही हतास मनस्थितिमा उनीहरूका नजर झुकेका थिए । यस्ता लाग्थे उनीहरू फरक ग्रहबाट आएका हुन् । र, सबैसँग सङ्कोच मानिरहेका छन् या मान्छेको खुला समाजमा उभिन कठिन भइरहेको छ ।
‘चोर हुन् कि, ड्रग एडिक्ट, के थाह एचआइभी पो छ कि ? भिरङ्गी, गनोरिया जे पनि त हुनसक्छ । उफ ! लेखकको दिमाग दिगमिगाउन थाल्योे । पछाडिको सिटमा बस्न खोजिरहेका स्त्रीलाई एकाएक आफ्नो सिटमा ठाउँ बनाइदिएको डीएसपीसँग लेखक भाउन्नियो । गाडीबाट झरुँझरुँ लाग्यो । तर कुनामा यसरी कोचिएको थियो कि ऊ झर्ने सम्भावना देखिएन । त्यसमाथि गाडी कुदिरहेको थियो । उसले आफ्नो साइडको झ्याल खोल्यो । र, सकेसम्म नछोई बस्ने प्रयास ग-यो । जति नछोइने प्रयास गर्दा पनि उनीहरूमध्येकी एउटा शरीरसँग उसको शरीरसँग बारबार छोइरहन थाल्यो । चार जनाको सिट भए पनि डीएसपी श्रेष्ठ र लेखकको शरीरले तीन जनाको सिट कभर गरेपछि उनीहरूसँग नछोई बस्न सक्ने सम्भवना थिएन ।
नौबिसे कटेपछि ती दुई स्त्रीले घरिघरि साङ्केतिक भाषामा कुरा गर्नथाले । उनीहरू एकदम दबेको स्वरमा बोल्थे र एक–अर्कालाई हेरेर मुस्कुराउँथे ।
कतै यिनीहरूको ठूलै ग्याङ त छैन ? बीच जङ्गलमा गाडी रोकेर लुटपाट मच्याउने गिरोहका नाइके त होइनन् ? लेखक सशङ्कित भयो । आफ्नो औँलामा लगाएको आधी तोलाको सुनको औँठी र घाँटीमा झुन्डिएको दुई तोलाको सिक्रीतिर ध्यान गयो । ओहो ! अब यो कसरी लुकाउने ? लेखकको मनभित्र शङ्का–उपशङ्काको बादल उठ्नथाले । यसरी सुन लगाउने कमसल मोहप्रति आफैँ खिन्न भयो । एकपटक कर्के नजर उसले तिनीहरूका आखाँमा पु¥यायो । आफूनजिक बसेकी स्त्रीको आँखा आफ्नो हातको औँठीतिरै छ जस्तो लाग्यो ।

‘पक्कै पनि यिनीहरू लुटेरा समूहकै पात्र हुन् । हेर कसरी मेरो औँलामा भएको बेरुवा औँठीमा हेरिरहेकी छ । अब कुनै पनि बेला एकान्त पारेर गाडी रोकिन सक्छ ? लेखक मनमनै आतङ्कित भयो । यसबीचमा ऊसँग टाँसिएको स्त्रीशरीर निदाएर हो या निदाएको बाहना गरेर उसको काँधमै टाउको अड्याउन आइपुगेको थियो । आँखामा चिप्रा, राघेपाटे अनुहार, रक्सीको पुरानो गन्ध उसको एकदमै नजिक आएर ठुसठुस गन्हाउन थाल्यो ।

लेखक झन् दिगमिगायो । आफ्नो काँधमा निदाउन आएकी स्त्रीलाई हातले थपथपायो र सीधा बस्न भन्यो । ऊ एकछिन सीधा बसी, अझ भनौँ अर्की स्त्रीको अँगालोमा ठाउँ बनाई र सुत्न पुगी । लेखकले बल्ल लामो सास फे-यो । किनभने ऊ टाँस्सिएपछि राम्ररी सास फेर्न पनि उसले सकेको थिएन ।
‘रवीन्द्रजी जानुभयो । आखिर के रहेछ र जिन्दगी ! मानिसलाई सपना देख्न छुट छ तर त्यो सपना पूरा नहुन पनि त सक्छ ? डीएसपी भावुक हुँदै बोल्यो ।
भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उहाँले कठोर प्रयत्न गर्नुभएको थियो । तर त्यसको प्रगति देख्न पाउनुभएन । हेलिकप्टर दुर्घटनामा भएको पर्यटन मन्त्री रवीन्द्र अधिकारीको मृत्युप्रति ऊ निकै दुखी देखिन्थ्यो ।
‘देशले एउटा होनहार युवानेता गुमायो । साँच्चिकै दुखद भयो ।’ लेखकले कुरा थप्यो ।
‘म उहाँको सुरक्षा गार्ड भए पनि हामी असाध्यै मिल्ने साथी थियो। काम गर्ने कर्मचारीलाई उहाँले हौसला र माया दुवै दिनुहुन्थ्यो । भैरहवा आउँदा म सधैँ उहाँको साथमा हुन्थेँ । दुर्भाग्य आज उहाँको मलामी गएर आएँ ।’ डीएसपी एकछिन रोकियो र भन्यो– ‘उहाँको मात्रै अनुहार चिनिएको थियो । अरूको त सबै चिन्ननसक्ने अवस्थामा थियो ।’ उसले आसु नै निकाल्लाजस्तो गर्दै मोबाइलबाट श्रद्धाञ्जलीसभाको फोटोहरू देखायो ।
‘अब सबै समाप्त भयो, वाइडबडी–काण्ड, ३३ किलो सुन काण्डसँग जोडिएको एयरपोर्ट सुराक्षा–काण्ड सब सेलाउने भयो । पल्लो सिटको यात्रु जोडिन चाह््यो । तर डीएसपी मौन भयो । सम्भवतः राजनैतिक बहस अरू अगाडि बढोस् भन्ने उसले चाहेको थिएन ।
‘दोष देखाउँदै गाली नै गरिरहँदा पनि रवीन्द्र अधिकारीप्रति एउटा आशचँै थियो मान्छेमा । दुर्भाग्य के भयो भने आफूलाई निर्दोष सावित गर्ने अवसर नै उनलाई प्राप्त भएन ।’ लेखकले भन्यो ।
‘त्यही त अन्याय ग¥यो दैवले । कति सपनाहरू थिए उहाँसँग । डीएसपी सा’ब अब छिट्टै यस ठाउँमा जेटविमान अवतरण गर्नेछ भन्दै रातोदिन निरीक्षणमा खट्नुहुन्थ्यो । डीएसपीले खल्तीबाट रुमाल निकाल्यो र आँसु पुछ्यो । यो देखेर लेखकलाई पनि कताकता मन भरिएर आयो ।
‘ओहो तपाईंं रो’को ?’ एकाएक मुन्द्रीवाली स्त्रीले प्रश्न गरी ।
‘उहाँलाई सम्झियो कि मेरो मन थामिदैन ।’
‘पुलिसको डीएसपी पनि रुन्छन् ?’ ऊ खितखित हाँसी ।
‘किन पुलिसको चैँ मन हुँदैन ?’ स्त्रीशरीरको साप्रामा प्याट्ट हिर्काउँदै डीएसपीले भन्यो । एउटी युवतीले यसरी डीएसपीको भावनालाई उडाएको देखेर लेखकचैँ जिल्ल प¥यो ।
‘दैवलाई के दोष दिनु, मौसम खराब छ भन्ने जान्दाजान्दै त्यस्तो ठाउँमा पुग्ने मूर्खता गर्नुहुने थिएन ।’ अर्को यात्रु जोडियो ।
करिब एक घन्टा रविन्द्र अधिकारीको अप्रत्याशित मृत्युमाथि कुरा चलेपछि लेखक अलि सहज भयो । लेखकछेउकी मुन्द्रीवाली स्त्री, अर्की मुन्द्रीवालीको अँगालोबाट सीधा भएर आखाँ चिम्लिएकी थिई । ऊ निकै कम बोल्थी । अझ भनौँ बोल्दै बोल्दिनथी ।
लेखकले विस्तारै औँलाको औँठी खोलेर झोलामा हाल्यो । पिसाब गर्न गाडी रोकिएको बेला घाँटीको सिक्री पनि खोलेर हातमा लियो । पछि गएर झोलामा हाल्यो । त्यसपछि बल्ल ऊ ढुक्क भयो । लुम्बिनी बिकास क्षेत्रको सुरक्षा प्रमुख बताएको डीएसपी एल श्रेष्ठलाई हे¥यो । उसको हात स्त्रीशरीरसँग टाँसिएको थियो । अझ भनूँ उसको साप्रामा डीएसपी एल श्रेष्ठको हात आनन्दले विश्राम गरिरहेको थियो ।
‘तिमी पनि हेछ्र्यौ ? ल हेर !’
रबीन्द्र अधिकारीको फोटो हेर्ने क्रममा स्त्रीको नाकमा झुन्डिएको मुन्द्री छँुदै उसले मोबाइल मुन्द्रीवालीको हातमा दियो । जुन मोबाइल उसले निकै बेरसम्म हेरिरही ।
यतिबेलासम्म माइक्रोले नारायणगढ पार गरिसकेको थियो । लेखक केही शान्त भएको थियो । आफू टाँसिएको लेखकलाई मन परेको छैन भन्ने बुझेपछि छेउकी मुन्द्रीवाली केही सम्हालिएकी थिई ।
‘यो के हो ?’ डीएसपीको मोबाइल चलाइरहेकी स्त्रीले एकाएक सोधी ।
‘ए यो ! त्यो मायादेवी मन्दिरमा गुप्तरूपमा गाडिएका विदेशीका अस्तु हुन् ।’
‘त्यो भनेको के हो ?’
‘लुम्बिनी घुम्न आएका बौद्ध धर्मालवम्बीहरूले आफ्ना बाउआमालगायत आफन्त मरेपछि अस्तु ल्याएर त्यहाँ गाडेका थिए ।’
‘छि ! किन गाडेका नि ?’
‘त्यहाँ गाडेपछि स्वर्ग जान्छन् भन्ने विश्वास होला नि !’
‘साँच्चै कसरी सम्भव भयो डीएसपी सा’ब ? त्यहाँ त निकै कडा सुरक्षा ब्यवस्था छ होइन र ?’ ती दुईको संवादबीचमा रोक्दै लेखकले सोध्यो ।
‘त्यो दिन मेरो ड्युटी थिएन सर ! केही स्टाफ पैसामा बिकेछन् । अहिले ती सबलाई निलम्बन गरिएको छ ।’
‘कति कमजोर छ है हाम्रो सुरक्षा व्यवस्था, केही पैसामै बिक्न सक्ने ?’ लेखकले आश्चार्य प्रकट ग-यो ।
‘पुलिस ! त्यो पुलिस जति खत्तम को हुन्छ र ?’ मुन्द्रीवाली स्त्रीले कड्केर भनी । सुरुमा देखिएको सङ्कोच अब ऊभित्र सकिँदैगएको थियो ।
‘सबै पुलिस त्यस्तो हुँदैन नि काली !’ डीएसपीले उसको ढाडमा स्पर्श गर्दै लाडिएर भन्यो ।
‘तर धेरैजस्तो त्यस्तै हुन्छ है ! मलाई विनाकाममा लगेर थुनेको छ दुईपटक ।’
‘आधी अङ्ग देखिने लुगा, नाकमा मुन्द्री, स्वाइ न पाइको कैलो कपाल हेर्दै लुटेराजस्ती छस् । तँलाई नलगे कसलाई लग्छ त ?’ डीएसपीले पनि फन्केर भन्यो ।
‘मान्छेको इच्छा हो नि, फेसन ग-यो भन्दैमा चोर नै हुन्छ भन्न मिल्छ र ?’
‘मिल्दैन तर धेरैजसो चोर र ड्रग लिनेहरूले नै यस्तो फेसन गर्छन् । अनि अनुसन्धानको पहिलो तारो तिमीहरू बन्छौ ।’ डीएसपीले पुनः उसको नाक समात्यो र हल्कासँग मुन्द्री तानिदियो ।
‘भो भो पुलिस कस्तो हुन्छ मलाई राम्रोसँग थाह छ । आफ्नो नाकको मुन्द्री समातेकोे डीएसपीको आँैला हटाउँदै उसले भनी ।

‘थाह छ भने चुपलागेर बस !’ डीएसपीको औँला फेरि उसको नाक समातेर मुन्द्री तान्न अग्रसर भयो ।
‘ऐय्या कति चलेको ?’ उसले आँखा तर्दै भनी ।
यो बीचमा डीएसपी स्त्रीशरीरको निकै नजिक भइसकेको थियो । उनीहरूबीच मुख र हात दुवैको संवाद बराबर चलिरहेको थियो । खाने, पिउने, घुम्नेलगायतका विषयले प्रवेश पाइसकेका थिए । डीएसपीको हात स्त्रीशरीरका साप्रा, ढाड, काँध हुँदै पटक टक नाकसम्म पुगिरहेको थियो । ‘तपाईं तिमी’ बाट डीएसपी एल श्रेष्ठ ‘तँ’ र ‘काली’ मा झरिसकेको थियो ।
‘तर मलाई एकपटक जेल हेर्न मन छ ।’ भैरहवा पुग्नैलाग्दा लाडिएको शैलीमा मुन्द्रीवालीले भनी ।
‘हेर्नै मन भए कुनै साँझ भेटिएस्, म देखाइदिऊँला । यसै पनि जेल जाने हुलिया छ तेरो ।’ डीएसपीले हाँस्दै भन्यो ।
‘हुलियाको भरमा जेल हाल्न पाइन्छ ? यो मुन्द्री त हाम्रो पुरानो परम्परा हो नि, बाजे बराजुको पाला देखिको ! जसलाई रक शैलीमा मैले लगाएकी हुँ । विदेशीले हाम्रो परम्पराको सिको गर्न हुने एक बारडान्सरले परम्पराको सिको गर्न नहुँने ?’ उसले कड्केर भनी ।
‘होटेल सलोजाले यस्तै हुलियामा बोलाएको छ । त्यहाँ थुप्रै विदेशीहरू छन् । त्यहाँ हेर्न जानु न कति खैरेहरूले हाम्रो परम्परागत बुलाकीलाई मुन्द्री बनाएर लगाएका छन् । हामी रक गीतमा नाच्ने भएकाले हुलिया रिमिक्स हुनैपर्छ क्या !’ मुन्द्रीवालीले आफ्नो मुन्द्रीको इतिहासलाई आधुनिक शैलीमा सप्रसङ्ग ब्याख्या गरी ।
‘जिजुआमा र हजुरआमाहरूले लगाउने बुलाकी र यी युवतीहरूले लगाउने मुन्द्री खासमा उस्तै त हुन् । अझै पनि पश्चिम पहाडतिर हरेक स्त्रीको नाकमा बुलाकी देख्न सकिन्छ । यही लगाएको भरमा किन मैले यत्रो अपराधी सोचेँ ?’ यतिबेला लेखक बडो आश्चर्यमा प-यो । समयअनुसार मानिसको टेस्ट, विचार र अनुभूतिमा भिन्नता हुनु स्वाभाविकै त हो । गाडी चढेदेखि दिगमिगाइरहेको लेखकको मनस्थिति अब भने बिपरीत ध्रुवमा कुद्न थाल्यो ।
रातको दस बजे गाडी भैरहवा पुग्दा सडकहरू शान्त देखिन्थे । होटेल सलोजा मुन्द्रीवाली स्त्रीले लिएको होटेलको नाम थियो । लेखकको मनमा त्यही होटेलमा आजको रात बिताउने बिचार उत्पन्न भयो ।
‘तपाईंले भनेको सलोजा होटेलमा रुम पनि पाइन्छ ?’ माइक्रोबाट ओर्लिदै गर्दा उसले मुन्द्रीवालीलाई सोध्यो ।
‘पाइन्छ नि ! त्यत्रो ठूलो होटेलमा पनि नपाए कहाँ पाइनु ?’ उसले भनी ।
‘पाइन्छ सर, पाइन्छ । आज म पनि त्यही बस्छु । यसको डान्स पनि हेर्नु प-यो, कस्तो डान्स गर्दिरहिछे ।’ डीएसपी एल श्रेष्ठले फेरि उसको मुन्द्रीमा हात पु¥यायो ।
‘छि ! कति मात्तिएको मान्छे हो ! तपाईंले आज मेरो नाकमा रगत निकाल्ने नै हुनुभयो ।’ उसले भनी ।
‘डीएसपी भनेर के गर्नु, आखिर पुलिसको जात प-यो ।’ धेरै जसो शान्त रहेर लखेकछेउमा बसेकी मुन्द्रीवालीले डीएसपी एल श्रेष्ठको मुन्द्रीमोहलाई कटाक्ष गर्ने गरी बोली ।
‘आच्या यो पनि बोल्छे ? पख न आज तिमेरको मुन्द्री ननिकाली कहाँ छोड्छु र म ।’ डीएसपीले धम्क्याउने शैलीमा भन्यो ।
त्यसपछि उनीहरू होटेल सलोजामा प्रवेश गरे । दुई मुन्द्रीवालीलाई एउटा मानिसले लिएर अघि बढ्यो । डीएसपीको झोला अर्को मानिसले समातेर अघि बढ्यो ।
बाँकी रह्यो लेखक । केही नौलो अनूभूतिसँगै लेखक काउन्टरमा पुग्यो । कोठाको दर–रेट बुझेपछि एउटा फारम भरेर मात्र उसले २०२ नम्बर कोठाको साँचो पायो । रुममा पुगेपछि एकछिन बेडमा पल्टियो । मुन्द्रीवाली र डीएसपीलाई सम्झियो ।
यो दुनियाँभर दुइ चीजको मूल्य रहेछ । एउटा स्त्रीशरीरको, अर्को हतियार सम्पन्न सत्ताको । यति सोचेर ऊ उठ्यो । फ्रेस भएर हल्का लुगा लगायो र तल बारमा ओर्लियो ।

होटेल रङ्गीन थियो । डान्सबारमा पहिलेदेखि नै नृत्य चलिरहेको थियो । दुई अङ्ग मात्र छोपिएका अर्धनग्न स्त्रीशरीर र धेरै जसो विदेशीहरूले भरिएको डान्सबारमा रङ्गीबिरङ्गी लाइटका किरणहरू छरिएका थिए । एउटा बियर मगाएर लेखक पनि एउटा टेबलमा बस्यो । ‘गाडीमा सँगै आएका आधुनिक मुन्द्रीवाली कता होलान् ?’ उसको दिमागमा डीएसपीको हातले तान्दै गरेको मुन्द्री र मुनद्रीवालीको दृश्य पटककटक नाचिरह्यो ।
‘तपाईंले सुरु गरिसक्नुभयो ? अब भेट हुँदैन होला भनेको’ डीएसपी श्रेष्ठ टुप्लुक्क आइपुग्यो ।
‘हो, तपाईं त स्पेसल बिजी हुनु भो कि भन्ने लागेको थियो ।’
‘म ३०५ नम्बरमा छु । यो होटेलको सबभन्दा महङ्गो रुममा । प्रहरी हुनुको फाइदा नि !’ देब्रे आँखा झिम्क्याउँदै उसले भन्यो ।
‘अनि तपाईंका आधुनिक मुन्द्रीहरू खोइ त ?’ लेखकले दिउँसोको गतिििवधिमाथि व्यङ्ग्य गर्दै सोध्यो ।
‘ यतै होलान् । हेर्दै जाऊँ एकछिनमा हाम्रै अगाडि आइपुग्छन् ।’
‘सर यो लार्ज पेग ह्विस्की सर्भ गरेँ । अरू चाहिए माग्नु होला । ह्याकुला फ्राइ आउँदै छ । इन्जोए गर्दै गर्नूस है सर !’ वैैटर विनम्र भएर उभियो ।
‘ए भाइ सुन, अर्को पेग पनि ल्याऊ… उहाँ सरलाई !’ डीएसपीले लेखकतिर हेर्दै भन्यो ।
‘माफ गर्नुहोला म बियर मात्र लिन्छु, त्यो पनि सिर्फ एक बोटल । जुन मैले अघिदेखि नै लिइरहेको छु ।’
‘खाऊँ न सर खाऊँ मरिलानु के छ र जिन्दगीमा । साँच्चै भन्ने हो भने रवीन्द्र अधिकारी सर गएपछि मलाई पनि जुनसुकै बेला मर्छु जस्तो लागि रहेको छ ।’
‘होइन सर मेरो कोटा नै यति हो । र म यसमा पूरै अनुशासित छु ।’
‘साँच्चि तपाईं के गर्नु हुन्छ ? गाडीदेखि नै सोध्न चाहेको थिएँ बल्ल मौका मिल्यो ।’ डीएसपीले सोध्यो ।
‘म कथा लेख्छु ।’ लेखकले आफनो परिचय छोटकरीमा दियो ।
‘अहो सर तपाई त लेखक पो हुनुहुँदोरहेछ । यो मेरो एरिया हो । तपाईंलाई के कुराको आवश्यकता पर्छ ढुक्कले भन्नुहोला । म सकेको सहयोग गर्नेछु ।’
‘धन्यवाद ! आज म यी आधुनिक मुन्द्रीको कथा लेख्ने विचारमा छुु ।’
‘ढुक्कले लेख्नूस्, यिनीहरूको कथा लेख्नैपर्छ सर ! त्यसको लागि के गर्नुपर्छ गर्नूस् ।’ ऊ व्यङ्ग्यपूर्वक हास्यो । उसको हाँसोमा लेखकले पनि हाँसो मिसायो ।

डान्सबारमा नृत्य चलिरहेकै थियो । छिनछिनमा डान्सर फेरिने क्रम पनि जारी थियो । केही बेरपछि माइक्रो बसमासँगै आएका आधुनिक मुन्द्रीहरूको अर्धनग्न शरीर नृत्यका लागि डान्सबारमा उपस्थित भयो ।
‘देख्नु भो । यिनिहरू नै हुन् । तर आज म त्यसको मुन्द्री थुतेरै छोड्छु ।’ उनीहरूलाई बारमा देखेपछि डीएसपी उत्तेजित भयो ।
‘विस्तारै सर ! एउटा पुरुषले स्त्रीशरीरलाई प्रेम गरेको नै सुहाउँछ ।’ लेखकले भन्यो ।
‘लेखकहरू बलात्कार र हत्या पनि प्रेमपूर्वक गर्छन् आफ्ना पुस्तकमा ।’ डीएसपी हाँस्यो ।
‘डीएसपी सा’ब, आज मलाई उसको कथा लेख्नुछ ।’ हाँसो रोकिएपछि लेखकले चारैतिर आँखा डुलाउँदै डीएसपीलाई भन्यो ।
इसाराइसारामा उभिएका अर्धनग्न शरीरहरू विस्तारै कम हुँदैथिए । विभिन्न भाषी पुरुषहरूबीच अर्धनग्न शरीरको विनिमयमा प्रतिस्पर्धा चलिरहेको थियो ।
एक अङ्ग्रेजी भाषीले गरेको डिस्काउन्टको माग पूरा नभएपछि गनगनाउदै दिउँसो लेखकको छेउमा बसेकी आधुनिक मुन्द्रीलाई लिएर हिँड्यो । यो दृश्य नियालिरहेको लेखक ट्वाँ परिरहेको थियो ।
‘देख्नु भो यिनीहरूको काम नै यही हो । त्यसैले त म यस्तालाई भाउ दिन्नँ । सीधै तँ भन्छु । डीएसपी आफ्नो भाषिक उशृङ्खलतालाई जायज तुल्याउने प्रयत्नमा लाग्योे ।
‘डान्सबार लगभग रित्तो भइसकेको थियो । दिउसो सँगै आएकी मुन्द्रीवाली नाच्दानाच्दै थकित हुँदैथिई ।
‘अब यो मुन्द्री मसँग सुत्न आउँछे । अनि म यसको मुन्द्री थुतिदिन्छु । खुब परम्पराको धाक दिएकी होइन ?’ रक्सीको नशा चढ्दै गरेको डीएसपी थप उत्तेजित भयो ।
‘आज मलाई यसैको कथा लेख्नुछ, डीएसपी सा’ब !’
‘हत्तेरी तपाईं पनि, अरू कसैको कथा लेख्नूस् न । मलाई यसको मुन्द्री उतार्नु छ के !’
‘विश्वास गर्नूस तपाईंको मुन्द्री सुरक्षित रहने छ । मलाई मुन्द्रीमा होइन, उसको जीवनकथामा रुचि छ ।’ लेखकले भन्यो ।
‘त्यसो भए ठीक छ । तपाईं आफ्नो रुममा जानूस्, म तपाईको सेवामा यो आधुनिक मुन्द्रीलाई हाजिर गराउने छु ।’ डीएसपी श्रेष्ठले हॉस्दै भन्यो ।
त्यसपछि लेखक आफ्नो रुममा गयो ।
एकछिनमा ढोका ढकढकाउँदै आधुनिक मुन्द्रीवाली आइपुगी । दिउँसोको फोहोरी रायपाटे अनुहार अहिले पूरै मेकअपले सजिएको थियो । रक्सीको बासी गन्धको ठाउँमा अत्तरको कडा डोज चलिरहेको थियो । ऊ भित्र छिरेपछि कोठाको ढोका लाग्यो । झ्यालको सिसा पनि लाग्यो, पर्दा तानेर बाहिरबाट पर्ने दृष्टिलाई निषेध गरियो । त्यसपछि बल्यो एउटा मधुरो बत्ती । बत्तीको त्यही मधुरो प्रकाशमा लेखकले नियालेर मुन्द्रीवालीको अनुहारमा हे¥यो । उसले दिउँसो लगाएको मुन्द्री परिवर्तन गरेकी थिई ।

‘तिम्रो नाम के हो ?’ बेडमा पल्टँदै लेखकले सोध्यो ।
‘नाम मे क्या रखा है जनाव, आप काम किजिए ।’ अर्धनग्न शरीरका ओठहरू हिन्दीमा चले ।
‘नाम के बाद ही तो काम आसान रहेगा ।’
‘जिन्दगी में जीवन के अलवा सब कुछ आसान है महाशय ।’ उसले भनी ।
‘दिउँसो मलाई तपाईं ड्रग एडिक्ट अथवा चोरजस्तो लागेको थियो ।’
‘लाग्न त जे पनि छुट छ तर लागेकै सब हुन्छ भन्ने कहाँ लेखिएको छ र ? मलाई पनि तपाई यो ठाउँमा पुग्ने मानिस हो जस्तो लागेको थिएन । तर तपाइँं…।’ उसले वाक्य पूरा गरिन ।
‘माइक्रोबाट झर्ने बेलामा मुन्द्रीको इतिहास जसरी सम्झाउनुभयो त्यो सुनेर म मोहित भए । मलाई तपाईंको कथा लेख्न मनलाग्यो ।’
‘के कथा लेख्ने हो छिटो लेख्नु महाशय । दिभरिको यात्रा र दुई घण्टाको नाचले म धेरै थाकेकी छु ।’ यति भनेर त्यो अर्धनग्न शरीर लेखकको छेउमा पसारियो । र मन नलागीनलागी लेखकको अङगतिर उसको हात बढ्न थाल्यो ।
‘मलाई यो सब गर्नु छैन । आफूतिर बढिरहेको उसको हात लेखकले च्याप्प समात्यो ।’
‘त्यसो भए किन बोलाएको त ?’ ऊ जुरुक्क उठेर प्रश्न गरी र बेडमै पल्टिई ।
‘भनिसके त कथा लेख्न । मलाई तपाईंको जीवनकथा जान्न मन छ ।’
‘के कथा जान्न चाहनुहुन्छ तपाईं ? म कसरी बार डान्सर भएँ, किन यो बुलाकीलाई मुन्द्रीको रूपमा धारण गरेँ अथवा यस समाजले हामीलाई कति घृणा गर्छ, त्यो पुलिस भनाउँदाले हामीलाई कसरी हरेक दिन वेश्या बनाउछ, भन्नूस् महाशय कुनचैँ कथा लेख्न चाहनुहुन्छ तपाईं ?’
यो सुनेर लेखक मौन भयो ।
‘म एक बारडान्सर हुँ । तर मलाई हेर्ने दर्शकका आँखाले कसैसँग नसुते पनि वेश्या बनाउँछ । यो देशको सुरक्षाव्यवस्थाले यी यसरी नै, हरेक दिन वेश्या बनाउँछ, लेखक ! मैले गरेर खाएको यो राज्यव्यवस्थालाई स्वीकार छैन । तिमीलाई केही कथा लेख्नुछ भने मेरो शरीरका हरेक अङ्गहरू छामेर लेख, स्तन, जाँघ, नाइटो, नितम्बको उचाइ र गुप्ताङ्गको गहिराइ सबै लेख ! तर मेरो वाध्यता नलेख, अस्वीकृती, अन्याय र यातना नलेख ! किनभने त्यसमा कसैले विश्वाश गर्दैन ।’ शरीरमा बाँकी रहेको लुगाहरू फुकाल्दै बोलिरहेकी उसको शरीर शिथिल भयो । सायद थकाइले चुर भएकी ऊ निन्द्रादेवीको काखमा पुगी । उसको कुरा सुनेर मौन भएको लेखकले उसलाई शिरदेखि पाउसम्म हे¥यो । अहँ उसका कुनै पनि अङ्गहरूले लेखकलाई निमन्त्रण गर्न सकेनन् । बरु लेखकको दृष्टी अर्धनग्न शरीरको नाकमा टल्किरहेको त्यही मुन्द्रीमा गएर टक्क अडियो । उसको मथिङ्गलमा बुलाकी लगाएका जिजुआमा र हजुरआमाका थुप्रै तस्बिरहरू आउँदै–जाँदै गरे । अर्धनग्न शरीर मस्त निन्द्रामा पुगेर घुर्न थाल्यो ।
‘तिम्रो समस्याको सबैभन्दा ठूलो जड यही मुन्द्री हो स्त्री, जुनदिनदेखि तिमीलाई मुन्द्री, बुलाकी कङ्गन र कल्लीहरू पहि-याइयो त्यही दिनदेखि सुरु भयो यो अन्यायको यात्रा । जतिसुकै आधुनिक बनाएर यो मुन्द्री तिमीले नाकमा लगाऊ या नाइटोमा यो तिम्रो रगत र मासुमै झुन्डिने छ । र झुन्डिने छ एउटा सिङगो पुरुषसभ्यता तिम्रो मुन्द्रीमा ।’ लेखकको औँलाहरू बिस्तारै अगाडि बढे । उसले त्यो स्त्रीशरीरको नाकबाट नदुखाईकन उसले लगाएको आधुनिक मुन्द्रीलाई निकालिदियो र एउटा कागजमा राख्यो ।
र त्यही कागजमा मोटो अक्षरले लेख्यो– ‘मलाई माफ गर्नुहोला डीएसपी सा’ब । मैले मुन्द्रीवालीको जीवनकथा लेख्न सकिनँ र यो मुन्द्रीको कथा लेखेँ । जसलाई नछुने वाचा मैले तपाईसँग गरेको थिएँ ।’