वसन्तवेला

समय आफैँमा प्रश्न हो
र,
समय आफैँमा उत्तर हो
जसरी पलाउँछ पात झरेका हाँगाहरूमा
जसरी फर्किन्छ चरा रित्ता गुँडहरूमा
प्रकृति रिसाएर कहाँ चलेको छ र संसार ?
आमा रिसाएर कहाँ बनेको छ र घर ?
आऔँ हामीले उखेलेका तमाम पानीहरू रोपौँ
आऔँ हामीले रोपेका तमाम आगोहरू उखेलौँ
र, कम से कम मानवता मर्न नदिऔँ
यो स्वार्थैस्वार्थका रोबोटको बजारमा
प्रकृति र आमाको सत्यलाई बचाउन
आऔँ समयलाई संवेदनासहित बग्ने बनाऔँ
पृथ्वी साझा घर हो
घाम, पानी र आराम बिसाउन
समय कहिल्यै सुतेको छैन
हामी समयलाई थुन्ने होडबाजीमा
कतै पिञ्जडा त भएनौँ ?
र, समयले हामीलाई कतै
सुनको पिञ्जडामा त थुनेर गएन ?
समय चराहरू स्वतन्त्र उडेको मन पराउँछ
र, समय प्रकृतिको गीत गाऊँछ
के तपाईँले समयको चीत्कार सुन्नु भयो ?