• २०८० असोज ६ शनिवार

श्रीमतीको अस्वस्थतामा

किशोर पहाडी

बट्टाबाट चियाको
चिया झिकेर
हालेछु तरकारीमा
मसला पो भनी ठानेछु ।

समात्दा समात्दै चिप्लेर
कचौरा टाङ्गराङ्ग
खसेछ भुइँमा
पोखियो चारैतिर छररर…

आलु काटेको
किन आकार भिन्दै छ ?
आलु साँच्चिकै
आलु भएछ—
तेलमा हालुं कि नहालूँ भएछ्र

दालमा पानी हाल्ने ?
कि पानीमा दाल ?
तरकारीमा नुन कति हाल्ने ?
यो खोर्सानीको धूलो हो कि बेसारको ?
जिराको कि धनियाँको ?

तिमी बिरामी हुँदा
पसेको छु भान्छामा,
कहाँदेखि शुरु गर्ने —
यो नियमित काम तिम्रो ?
स्वाद पुगेन भन्न सजिलो
नुन धेरै भयो भन्न सजिलो
स्वाद र नुन राख्न नै
गाह्रो भइरहेछ भाँडोमा,

सिसीबाट नुनको
नुन झिकेर हालेछु चियामा
चिनी पो भनी ठानेछु ।