• २०८१ भाद्र २७ बिहीबार

प्रश्न ईश्वरलाई

नीरा शर्मा

नीरा शर्मा

कुनै दिन
कहीं कतै भेटेँ भने
मान्छे बनाउने ईश्वरलाई
सोध्नेछु म
कस्तो छ
उनको अदालतमा
न्यायको परिभाषा?

झर्छन् कस्को आदेशमा
ढकमक्क फुल्नै नपाई
कलिला हाँगाबाट
झुप्पा झुप्पा अबोध कोपिलाहरू ?

किन खोसिन्छन्
जिन्दगी भोग्नै नपाई
आमाको खोकिलाबाट
अस्तित्व पाउनेबित्तिकै
एक-एक गर्दै चिचिला नानीहरु?

अनि किन मेटिन्छन्
गाढा हुन नपाउँदै
रंगीन सिउँदोबाट
सिन्दुरका डोबहरु ?
किन बलत्कृत हुन्छन्
आफन्तबाटै अवलाहरू ?

र फेरि प्रश्न गर्नेछु
किन पेलिन्छ मन आफ्नै मान्छेको कोलमा
र निस्किन्छ आँसुको तेल घरीघरी ?

सोध्नेछु नबिर्सी फेरि
तिनै ईश्वरलाई
जसले बनाए मान्छेसँगै
यो सिर्जनशील पृथ्वी
यो अनन्त आकाश
र यी विशाल समुद्रहरू
कि –
काकाकुल धर्तीको क्रन्दन नसुनी
किन उडिरहन्छ बादल
पानी बोकेर आकाश-आकाश ?
किन डुबाउँछन्
समुद्रका उत्ताउला छालहरूले
आफै दलदलमा भासिएको धर्तीलाई ?

अनि किन पार्छन्
तहसनहस
ओइरिएर माटो र पानी
बाढी र पहिरोसँगै
लसलस पसेझैँ
मत्ता हात्ती
मान्छेका बस्तीहरूमा ?

र अझै सोध्नेछु म उनलाई
साँच्चि सदियौंदेखि
किन मौन छौ
मान्छेले बनाएका मन्दिरभित्र
शक्तिहीन भएर कैद बसेका
हे सर्वशक्तिमान् ईश्वरहरु ?
किन ?