लघु–कथा

साहित्यकला मन्दिर र अक्षरङ्ग
साहित्य, कला र संस्कृतिको समृद्धि, विकास र विस्तारका लागि २२ फागुन २०५१ का दिन विधिवत्रूपमा स्थापना भएको हो, श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर । त्यसयता कवि बसन्त चौधरीको अध्यक्षतामा अविच्छिन्न अढाइ दशकभन्दा लामो निविघ्न यात्रा पूरा गरिरहेको छ यस साहित्य कलामन्दिरले । पिता लूनकरणदास र माता गङ्गादेवीको शीतल र वात्यल्यपूर्ण संरक्षणको छहारी पाएर यो आफ्नो उद्देश्य प्राप्ति गतिशील भएर लागिरह्यो ।
पिता लूनकरणदास विशुद्ध उद्योग–व्यवसायी हुनुहन्थ्यो तर सिर्जनशील क्षेत्रप्रति उहाँको अक्षुण्ण अनुराग थियो । कुनै समय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ आदि त्यस बेलाका धुरन्धर विद्वान्हरूसँग लूनकरणदासको सत्सङ्ग हुन्थ्यो । र, आफैँले कलम नचलाए पनि उहाँले कलमको शक्ति र महŒव बुझ्नुभएको थियो । त्यसैले समग्र सिर्जनशील क्षेत्रको समुत्थाानका लागि यस संस्थाको शिलान्यास गर्नुभयो । पिता लूनकरणदासजस्तै माता गङ्गादेवी स्वयम् कलम चलाउनु हुन्नथ्यो । तर आफ्ना पतिले जस्तै आफ्ना घरमा बेलामौकामा आउने ती दिग्गज व्यक्तित्वहरूलाई देश र समाजले गरेको सम्मान र सत्कारले यी क्षेत्रको व्यापकताका लागि यस्तो संस्था आवश्यक छ भन्ने कुरा आत्मसात गर्नुभएको थियो । यसरी यी दुई वरद् हस्तीहरूको सद्भाव र आशीर्वाद प्राप्त भएकै कारण उहाँकै नाममा यस सस्थाको नामकरण र स्थापना गरियो ।
साहित्य, कला र संस्कृतिलाई जीवन्त राख्दै यी क्षेत्रहरूसँग आवद्ध सम्पूर्ण विधाहरूलाई मलजल गर्दै हुर्काउनु, बढाउनु र सिर्जनाको एउटा फलदायी वटवृक्ष उभ्याउनु यस संस्थालाई जन्माउनुको मूल अभीष्ट थियो । यीमध्ये विभिन्न भाषाका कृतिहरूलाई नेपाली र अन्य भाषाहरूमा अनुवाद गरी प्रकाशित गर्नु एक अभीष्ट थियो । यस संस्थाका संस्थापकहरूमा क्रमशः कवि बसन्त चौधरी (अध्यक्ष), रङ्कर्मी हरिहर शर्मा (उपाध्यक्ष), सङ्गीतकार सुश्री ज्योति भण्डारी कोषाध्यक्ष तथा सदस्यहरूमा प्रा. मोहनराज शर्मा (समालोचना), प्रा. राजेन्द्र सुवेदी (समालोचना), प्रचण्ड मल्ल (रङ्गमञ्च), रामशरण दर्नाल (सङ्गीत विशेषज्ञ) र विष्णुविभु घिमिरे (कविता) हुनुहन्छ । यस्तै कवि राजेन्द्र शलभ कार्यकारी निर्देशक तथा गीतकार÷पत्रकार रमण घिमिरे सचिवालय प्रमुख हुनुहुन्थ्यो ।
स्थापनाको अर्को वर्ष अर्थात् २०५२ मा आफ्नो उद्देश्यअनुरूप तीनजनाहरू क्रमश आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘सरस्वतीसम्मान’, गणेशबहादुर भण्डारीलाई ‘नारायणगोपाल सङ्गीतसम्मान’ र ज्ञानमणि नेपाललाई ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’ द्वारा सम्मानित गरेका थियो ।
अहिले यही अभीष्टलाई मूर्तरूप दिन ‘अक्षरङ्ग’ अनलाइन पत्रिकाको प्रकाशनारम्भ गरिएको हो । ‘अक्षरङ्ग’ ले नेपालीलगयात नेपालभित्र प्रचलित विभिन्न भाषा, साहित्य र संस्कृतिको प्रकाशन गर्ने छ । यस अर्थमा यसले नेपाली भूमिमा प्रयुक्त सबै प्रकारका साहित्य, कला र संस्कृति–संवाहकको भूमिका निर्वाह गर्ने छ । यो कुनै एक भाष, साहित्य र संस्कृतिको सीमामा बाँधिने छैन । यसले सिर्जनाका सम्पूर्ण आकाशमा यात्रा गर्नेछ ।
(यस स्तम्भमा साहित्यकला मन्दिरका गतिविधिहरू क्रमशः प्रकाशन गरिने छ ।)