• २०८१ बैशाख ७ शुक्रबार

गर्भाशय

कात्यायन

कात्यायन

म गर्भाशय भित्र थिएँ
ध्यानको अद्भुत मूद्रामा थिएँ
चेतनालाई उज्य ल्याउँदै थिएँ
जब ज्ञान चरमोत्कर्षमा पुग्यो
र, बन्न पुगें शिशु  !
शिशुको चिच्याहट
चिहानको परिकल्पना थिएन
जीवनमा आउन सक्ने विसङ्गतीको थिएन
शिशुको रोदन
गर्भाशय सङ्गको बिछोडको थियो
चेतनाको अवसानको थियो
गर्भाशयको सामुन्ने
आकाश त आँखीझ्यालबाट देखिने सङ्कीर्ण परिवेश झैँ लाग्छ
गर्भाशय भित्रको मौनताको तुलनामा
बुध्दको शान्ति त अपूर्णझैँ लाग्छ
गर्भाशय भित्रको ज्योतिको अगाडि
वेदका ज्ञान अर्थहिन् झैँ लाग्छ
उम्दा गर्भाशय भित्रको
म उम्दायुग्मक थिएं
रजबीजको सम्योजन
युगद्रश्टा !
जब शिशु भएर आएँ  ! रोएँ !
त्यो युग सम्झेर रोएँ !
गर्भबाट अलग भएर रोएँ !
रुन सकियो भनेर रोएँ !
ध्यान भग्न भयो भनेर रोएँ !
जब आँखा खोलें
वर्तमान सामुन्ने थियो, रमणीय थियो !
भविष्य सामुन्ने थियो, उज्यालो थियो !
सन्सार ! सङ्गतीपूर्ण थियो !
गर्भाशय !
कुनै धर्महरूले बुझ्न नसक्ने धर्म हौ तिमी  !
धर्महरूमा विसङ्गतीबाट मुक्तीको मार्ग सिकाइएको हुन्छ
गर्भाशय !
तिमी त स्वयं सङ्गत योग्य छौ !
र त, धर्मभन्दा माथि छौ !
अनुपम ध्यानको मूद्रा–गर्भावस्था !
अजस्र ज्ञानको स्रोत–गर्भाशय !
प्रणाम छ तिमीलाई !
लौकिक तीर्थाटन गराउँदै
अलौकिक बनाउँदै छौ !
अमर बनाउँदै छौ !
आमा ! प्रणाम !
त्यो अलौकिक गर्भाशय तिम्रै थियो !


कात्यायन, काठमाडौं
[email protected]