पसिनाको मदिरा - Aksharang
  • २०७८ माघ ६ बिहीबार

पसिनाको मदिरा

बाबुराम न्यौपाने “उत्स”

बाबुराम न्यौपाने “उत्स”

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँका बासिन्दा कुलप्रसाद र टंकबहादुर बालसखा थिए । कुलप्रसाद चतुर थियो । ऊ एउटा राजनीतिक पार्टीको सक्रिय सदस्य बन्यो । हेर्दाहेर्दै सांसद बन्यो । ऊ राजधानी छिर्यो ।
कुलप्रसाद मन्त्री बनेको समाचार सुनेर टंकबहादुरले हर्षका आँसु खसायो ।उसका सपनाहरू कुलप्रसादसँग जोडिएर फु्ल्न थाले ।
“सानी, म राजधानी जानुपर्यो । कुलप्रसादलाई भेटेर देशको विषयमा धेरै कुरा गर्नुछ । यसले केही राम्रो काम गर्छ ।”
सानीले दाहिने हातको बुढी औंला देखाउँदै, पति तर्फ फर्किएर ओठ लेप्राइन् । टंकबहादुर राजधानी पुग्यो । कुलप्रसादले बसस्टेण्ड सम्मै उसलाई लिन गाडी पठाइदियो ।
“मेरो मन्त्रालयमा बैठक छ । खाना खाएर आराम गर्दै गर् हेै टंक भरे म आएपछि भलाकुसारी गरौंला ।”
कुलप्रसाद अगिपछि सुरक्षाबल सहित साइरन बजाउदै मन्त्री निवासबाट बाहिरियो । टंकबहादुरले केहीबोल्ने मौकै पाएन ।
साँझ कुलप्रसाद तामझाम साथ निवास भित्रियो । कुरा गर्दैगर्दा टेबुलमा खानेकुरा सजिए । चाँदीको कलात्मक गिलासमा मदिरा पनि भरियो ।
“इन्जोय गर् टंक ! यस्तै हो मानिसको जीवन । कहिले बगरको बास, कहिले गद्दीको आश ।”
टंक बोलेन । गम्भीर बन्यो ।
“कुलप्रसाद, तैँले गिलासको पानीमा केही देखिनस ।” टंकको प्रश्नलाई कुलप्रसादले हल्कारूपमा पन्छायो ।
“अझ नियाल् । केही न केही देख्नुपर्छ तैँले ।” कुलप्रसादले एकप्याक घुट्क्याइ सकेको थियो ।
उसले भन्यो ।
“गिलास भित्र आनन्द देखिरहेको छु टंक । सुनको महलको वैभव देखिरहेको छु ।”उसले अरू पेग पनि निल्यो ।
“ल भन् त टंक तैंले यो गिलासभित्र के देखिस् । के तँ अमृत जल पिउँदैनस् ?” कुलप्रसादले टंकबहादुरलाई प्रश्न गर्यो । टंकले सबै कुरा बुझिसकेको थियो ।
तर पनि बाल्यकाल देखिको साथी सम्झेर भन्यो ।
“तैँले गाउँको दुःखपीडा र गरीबी बिर्सी सकिछस् कुलप्रसाद । राम्ररी हेर् त ।
मदिराको बुँदबुँदमा गरीब जनताको पसिना र आँसु छल्किएको छ । आमजनताका सपना डुबीरहेका छन् ।
चरम दुःखले पिलिएको रगत घोलिएको छ ।
मलाई निर्दोष जनताको श्राप लाग्दैन । म निर्लज्ज बनेर कसरी पसिना र आँसुको मदिरा पिउँन सक्छु ।”


©बाबुरामन्यौपाने “उत्स”, दमक, झापा
neupanebrutts@gmail.com