स्रष्टा र सृजना - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

स्रष्टा र सृजना

प्रकाश थापा

प्रकाश थापा

‘दुङाल’ले पाठकलाई अन्तरहृदयबाट भावुक बनाउने छ-
मालिका केशरी

कृति चर्चामा रहे पनि आफुलाई प्रचारमा ल्यायन नचाहने आख्यानकार हुन्, मालिका केशरी । पुनरूत्थान, सुवर्णलतापछि उनको नयाँ उपन्यास आउँदै छ, दुङाल । तीनवटा आख्यान लेखिसक्दा पनि उनी प्रचारप्रसारको मानेमा निस्पृह छन् । प्रायः नारीप्रधान आख्यान लेख्न रूचाउने उनी गहन विचारलाई सरल र सरस भाषाशैलीमा प्रस्तुत गर्छन् ।
प्रेम, यौन, अध्यात्म, मनोविज्ञान आदि कथामार्फत बुद्ध वाणीलाई बोधगम्य बनाउँछन् केशरी । जीवनका यथार्थ र जटिलताबारे सुन्दर अभिव्यक्ति दिन्छन् । उनको आख्यानमा पाठक अलमलिने या भड्किने कुनै सम्भावना छैन । आख्यान साहित्यमा उनको उपस्थिति आशालाग्दो छ । नयाँ उपन्यास आउन लागेको सन्दर्भमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

पछिल्लो समय आख्यान बजारमा बिक्न थालेपछि तपाईं आख्यान लेखनमा लाग्नुभएको हो ?
त्यसो होइन, बरू मैले लेख्न थालेपछि आख्यानको बजार बढ्न थालेको पो हो कि ? (हाँसो)

साहित्यमा अनेक विधा छन् । तपाईले आख्यान नै किन रोज्नुभयो त ?
कविता मलाई मनपर्ने विधा हो । म विशेष गरेर छन्द कविताहरू सुन्ने गर्छु । छन्द कविता सुन्ने चाहना पूरा गर्न कोभिड आउनुअघि म उपत्यकामा हुने कविगोष्ठीहरूमा धाउने गर्दथे । तर मेरा रचनाहरू आख्यान केन्द्रित छन् । आख्यानमा शब्दको सीमिततामा बाँधिनु पर्दैन । जुन स्वतन्त्रता कविता रचनामा सायद छैन । त्यसैले म आख्यान रचनामै रमाएँ ।

आख्यान लेखनमा साँच्चै रमाइ रहनुभएको छ त ? लेखनमा कति सन्तुष्ट हुनुहुन्छ ?
मैले विशेषतया उपन्यासहरू लेखेको छु । जसले मेरो मनमा लामो समयसम्म प्रभाव पारिहेको हुन्छ, त्यही विषय छनोट गरेर त्यसैलाई खोतल्दै जाँदा साँच्चिकै रमाइलो अनुभूति हुन्छ । मलाई लाग्छ, लेखनमा सन्तुष्ट हुने ठाउँ आइसकेको छैन । लेख्न अझै धेरै बाँकी छ ।

आख्यान बेचेर आर्थिक अवस्था सुढृड बनाउन कति सम्भव छ ?
असम्भव नै त होइन । केही साथीहरू लेखेरै जीवन राम्रोसँग चलाइरहेका छन् ।

प्रकाशकहरूले त लेखकका कृति प्रकाशित गरेर आफूले पैसा कमाउने तर लेखकलाई दिँदैनन् रे नि ?
मैले पनि यस्तो सुन्ने गरेको छु । लेखकलाई पारिश्रमिक दिने हैन, उल्टो लेखकसँग रकम लिएर प्रकाशित गर्ने प्रकाशकहरू छन् भन्ने सुनिन्छ । मेरो यसअघिको दुई वटा उपन्यास पुनरूत्थान र सुवर्णलता सांग्रिला बुक्सबाट प्रकाशित भएको थियो । अब प्रकाशित हुन लागेको उपन्यास दुङाल पनि सांग्रिला बुक्सबाट नै आउन लागेको हो । सांग्रिला बुक्सले यसअघिको पारिश्रमिक सहमति अनुसार नै उपलब्ध गराएको थियो भने अबको पनि पक्कै दिनेमा म विश्वस्त छु ।

तपाईले लेख्दा विषयवस्तुको छनौट कसरी गर्नुहुन्छ ?
मेरो लेखनका लागि विषय यही नै हुनुपर्छ भन्ने कुनै विशेष मापदण्ड त छैन । जुन विषयले मलाई भित्रबाट छुन्छ । जुन विषयमा वास्तममै लेख्नुपर्ने हो भन्ने लाग्छ, त्यसैलाई नै विषय बनाउने गर्दछु ।

तपाईंका अघिल्ला उपन्यासमा नारी पात्रभित्र निकै डुबेको पाइयो ? नारी पात्रभित्र डुब्न सक्ने तपाईंको अन्तर्य क्षमता के हो ?

सायद नारी पात्र चयन गर्दै गर्दा मैले आमाको वात्सल्य, दिदीको स्नेह र श्रीमतीको प्रेमलाई आत्मबोध गर्दै सुरू गर्छु, त्यसैले हो कि ?

फेरि नयाँ कृतिको तयारीमा हुनुहुन्छ कस्तो बनेको छ नयाँ कृति ?
पक्कै पनि राम्रो गरेको छु भन्ने लागेको छ । मैले पहिलो कृति पुनरूत्थानको पहिलो ड्राफ्ट जम्मा बाह्र दिनमा तयार गरेको थिएँ । ड्राफ्ट तयार हुनासाथ प्रकाशन गर्ने हतारो थियो । धन्न मेरो हतारो र कमजोर प्रस्तुति हुँदा पनि पाठकले माया गरिदिनु भयो र मलाई अगाडि बढ्ने प्रेरणा मिल्यो । म तेस्रो कृतिसम्म आइपुग्दा त्यो हतारोमाथि विजयी भएको छु । मैले लगभग तीन वर्ष लगाएर यो कृति तयार पारेको छु । पक्कै पनि राम्रो कृति बनेको छ भन्नेमा मलाई लागेको छ ।

पाठकले तपाईंको उपन्यास दुङालबाट के कुरा नयाँ पाउछन् ?
नेपाली साहित्यमा पूर्ण नयाँ त होइन तर नौलो प्रयास हुनसक्छ । मैले पुरै उपन्यास पत्रका रूपमा लेखेको छु । दोस्रो कुरा, पाठकले सुनेको तर बेवास्ता गरिएको शरणार्थीको कथा रहेकाले पाठकका लागि यो कृति पक्कै नवीन स्वादको हुनेछ ।

‘दुङाल’ शब्द अनि त्यसको भित्री विषयवस्तुमा पाठक रमाउलान् ?
पक्कै रमाउने छन् । पहिलो दुङाल शब्द नै पाठकको लागि नयाँ शब्द हुनेछ । दोस्रो शरणार्थीको विगत, वर्तमान र भविष्यको कल्पनाले पाठकलाई पक्कै अन्तरहृदयबाट भावुक बनाउने छ ।

तपाईंको लेखनीमा बुद्ध दर्शनको झुकाव पनि देखिन्छ, किन बुद्ध दर्शनको झुकाव छ तपाईंमा ?

हो मेरा पुस्तकहरूमा बुद्ध दर्शन भेट्न सकिन्छ । मलाई बौद्ध दर्शन सबैभन्दा उत्कृष्ट दर्शन हो भन्ने लाग्छ । आजको समाज बुद्धले प्रदर्शन गर्नुभएको मार्गमा हिँड्न अस्वीकार गरेकाले नै भौंतारिएको छ । समाजमा व्याप्त यो बेथितिलाई व्यवस्थित गर्न पनि बौद्ध दर्शनलाई फैलाउन आवस्यक छ भन्ने मलाई लाग्छ । त्यसैले मैले कुनै न कुनै पात्र वा घटनाको माध्यमबाट बुद्धले सिकाउनुभएका वाणी समावेश गर्ने गरेको छु ।

तपाईंले लेखनीमा आफ्नो भोगाइ कति हुन्छ र कल्पना कति हुन्छ ?
आख्यान भन्नासाथ काल्पनिक उडान हो भन्ने बुझाइ पाइन्छ । वास्तममा आख्यान यथार्थमा उभिएर गरिने काल्पनिक उडान हो भन्ने मलाई लाग्छ । म मात्र होइन, प्रत्येक लेखकको भोगाइ कुनै न कुनै रूपमा उसको लेखनीमा आउनु स्वाभाविक हो ।

दुङालबाट तपाईंले उठाउन खोजेको विषयवस्तले कस्तो मोड लिन्छ होला, केही अनुमान गर्नु भा छ ?
पक्कै पनि पाठकलाई शरणार्थीको पीडा, उनीहरूको विवशता बुझ्न दुङाल सहयोगसिद्ध हुनेमा म विश्वस्त छु । राजनीति, युद्ध, गृहयुद्ध आदि कारणबाट लाखौं मानिस आफ्नै देशमा वा अन्य परदेशमा शरणार्थी बन्न बाध्य छन् । नेपालमा पनि तिब्बती, भुटानी, म्यान्माका रोहिङ्गा लगायतका शरणार्थीले आश्रय लिइरहेका छन् । अधिकांश भुटानी शराणर्थी त तेस्रो मुलुकमा स्थान्तरण गरिए । अझै पनि ठूलो संख्यामा तिब्बती र रोहिङ्गा शरणार्थीहरू हाम्रो देशमा जीवन खोज्दैछन् । पक्कै पनि यो उपन्यासले मानवअधिकार, मानिसका पीडा र व्याथा बुझेर उनीहरुलाई सम्मान गर्न सिकाउनेमा म विश्वस्त छु ।


प्रकाश थापा
pabhilashi@gmail.com