• २०८१ बैशाख ७ शुक्रबार

प्रेमको कोभिड-एकीकृत मुटुको क्वारिन्टिन

रामगोपाल आशुतोष

रामगोपाल आशुतोष

त्यो झरी थियो कि तिम्रो यादको हुरी
रातभर
एकतर्फी फायरिङ गरिरह्यो ।
मेसिञ्जरमा पठाएको छु निमन्त्रणा
आऊ
दोहोरो भिडन्त गरौँ !

तिमीलाई-झरीमा भिज्न मन पर्छ
मलाई-झरी बनेर तिमीलाई भिजाउन
झरीले बहिर भिजाएर तृष्णा जगाउने छ
मैले-भित्रसम्म भिजाएर तिर्खा मेटाइदिन्छु ।

अनि
बाहिर फैलिने छ
तिम्रो र मेरो प्रेमको कोविड ।
निस्कौँ
र, तोडौँ आइसोलेइशनको घेरा

इन्स्टामा पोस्ट गरौँला-“लव बाइट“ का तस्बिर
फेसबूकमा हालौँला-“क्वारेन्टिनमा प्रेम“शीर्षक कविता
साझा ट्विट गरौँला-साँस्कृतिक एकीकरण पछि हामी !

पहिले
संक्रमित दूरी मेट्नुपर्छ
त्यसपछि
पिसिआर वा एन्टिजेन परीक्षण गरी
निर्धक्क भएर खोल्नुपर्छ हृदयको लकडाउन

फरक भूगोलको सम्मान गर्दै
एकीकृत मुटुजस्तै
आफ्नै घरको क्वारेन्टिनमा बस्ने प्रण गरौँ ।

परजीवी
भाइरसले ग्रसित भौतिक दूरीलाई
सानिटाइज गरौँला स्वाधीन समझदारीले

ज्यान,
युद्धको विकल्प युद्ध होइन
समता,
सिर्जना, शान्ति,
स्वस्थ्य सभ्यता र संस्कृति
समान समृद्धि र समान पहिचानका लागि
प्रेमको विकल्प छैन ।


(रामगोपाल आशुतोष चर्चित कवि हुन्)
[email protected]