म समय - Aksharang
  • २०७७ चैत २९ आइतबार

म समय

समिना खनाल (पृथा)

समिना खनाल (पृथा)

चराहरूको चिरबिर छ
शान्त छ प्रफुल्लित छ
खुलेको छ धर्ती
आफ्नै रूपमा

ज्वाजल्यमान कान्ति बोकेर
फैलिएको छ भानु
आफ्नै धर्तीलाई आलिङ्गन गर्न
बाधा छैन उसलाई
न धूलो छ न धूवाँ
सुन्नु परेको छैन कोलाहलको ध्वनि
सुमधुर ध्वनिको स्पर्शमा डुबेको छ
कहर छैन गुलेलीको चिरबिरहरूलाई

चेतनाको भण्डार बोक्ने
सिकारीको फैलावट छैन
ढुक्क छ, स्वतन्त्र छ
गगन स्वागतार्थी भएको छ
न बारुद, न बन्दुक
आफैँले निर्माण गरेको शान्ति छ
आफ्नै गगनचुम्बी पिञ्जडाहरूमा कैद छ
सबभन्दा कमजोर छ, निरीह छ  त्यो चेतना
डर बोकेरे त्रसित छ
मुत्युलाई जित्न नसक्ने, त्यो मान्छे
कोरोनाको लक्षमणरेखाभित्र
एउटा कहर बोकेर लडिरहेछ
विफल लडाइँ

मेरा स्वतन्त्रता खोसेर
बाँध्न खोज्दैथियो पिञ्जडामा
आफ्नै स्वतन्त्रता गुमाइरहेछ
पलपल झस्किएर
आफ्नै श्वाससँग सशङ्कित हुँदै
एउटा जीवन बाँचिरहेछ
अन्धविश्वास भन्दै बगाएका
खोज्दैछ संस्कार र परम्परा
चोखो नितोको अर्थ जान्दैछ
के छैन र मसँग
घमण्डको पहाड चढ्दै थियो
तर प्रेमविहीन रहेछ चेतना
खोक्रो आवरण टल्काउन व्यस्त रहेछ ऊ
आफू टल्किन जान्दाको परिणति
साँधुरो रेखाले बाँधिदियो
सर्वश्रेष्ठ मानवीय चेतनालाई

म मान्छेका विवश चेतनालाई
नियाली रहेछु
उसैको गलत प्रयोगलाई भोगिरहेछु
म त्यही चेतनाको परीक्षा हुँ
म समय हुँ ।


(पृथा चर्चित साहित्यकार हुन् ।)
saminakhanal4@gmail.com