पेरूङ्गो - Aksharang
  • २०७७ चैत २९ आइतबार

पेरूङ्गो

उदय निरौला

उदय निरौला

कहिलेकाहीँ त मलाई पनि घामको वैशाखी टेकुँजस्तो लाग्छ
तर धेरै अल्गनु पनि हुन्न
ती जो अल्गिरहेका छन्
घाम अलिकति बादलले छोप्नेबित्तिकै गम्र्याम्म तलै झर्छन्
अलिकति तुवाँलो उठ्नेबित्तिकै खाँदतिरै पुग्छन् ।

घामको वैशाखी हालेर उभँदा इज्जत बढ्ने ठानेको त !
आजकाल बरू अग्लो बाँसको वैशाखी टेक्नेहरू पो
इज्जतिला देखिन्छन्
कम से कम कलालाई बलात्कार त गर्दैनन्
कम से कम कलालाई आक्षेपको पगरी त गुथाउन्नन्
सभा-समारोहमा ।

घामको वैशाखी टेकेर अल्गनेहरू
माइक हातमा पर्नासाथ
मञ्चमा आसीन हुनासाथ
धोती खुस्केको थाहा पाउँदैनन्
बाम माछा बनेको पनि थाहा पाउँदैनन्
नटेक्नु घामको वैशाखी
तातेर उखुम हुन्छ
विनाएसी बस्न कठिन हुन्छ
गाँउमा पट्याँसको फिरफिरे हम्कनेले एसी तापेपछि
उन्माद चड्दोरहेछ
उखुम हुँदोरहेछ, जो देखियो ।

हुन त वैशाखी टेकेर उभिनु नै सापटीमा उभिनु हो
आजकल सापटी र अनुदानको जमाना छ
अर्काकै खाने र अर्काकै काम गर्ने जमाना छ
जो सजिलो पनि भयो !

समानता नामको पेरूङ्गो आजकल
वैशाखी टेक्नेहरूको ढाडमा बोकेको देखिन्न
कता फालेछन्
सोचे होला नाथे बाँसका चोयाको पेरूङ्गो के बोक्नु
समानताको नाममा आउने भारी जाबो पेरूङ्गोले के थामोस्
यो सेयरको र बैङ्कको जमानामा
यो मोबाइलको र एटिएमको जमानामा
बगाइदिए पेरूङ्गो अपर कर्णाली र अरूणमा
कसैले गण्डकीमा
कसैलाई महाकालीमा
जाबो पेरूङ्गो ।


(निरौला स्थापित साहित्यकार हुन् ।)
udayarajniroula@gmail.com