• २०८१ बैशाख १३ बिहीबार

फुटेको ऐना

विक्रमपवन परियार

विक्रमपवन परियार

किन झारेकी हौ गुलाबी आँसु ?
किन झेरेकी हौ आफ्नै आँसुको भर्याङबाट
नझर्नु पर्ने थियो आँखाबाट प्रेम
नखस्नु पर्ने थियो
खस्यो हाँगाबाट बुँदहरूको पृथ्वी
नछुट्नु पर्नेथियो, छुट्यौ
नदुखाउनु पर्नेथियो- दुखाइदियौ
तिमी नै छुटेपछि
छुट्दो रहेछ- हिड्ने बाटो पनि

रूखबाट पात छुट्दै गएपछि
उजाड हुँदो रहेछ पहाडको बैँस
कसरी छुट्न सक्यौ तिमी ?
तिम्रो छुट्ने निर्णय सुनेदेखि
अचेल न भोक लाग्छ
नप्यास लाग्छ
धेरै दिन भैसकेको छ अगेनोमा आगो निभेको
तिमी छुटेदेखि
मेरो घरमाथि आकाशको बाटो भएर
कहिल्यै हिँड्दैनन् जून र घाम

तिमीले दिएको चोट
किन यसरी फैलिँदैछ झन् झन् ?
बार्दलीमा बसेर-
हिमाल नियाल्दै मुस्कुराउन खोज्छु- आँसु खसी दिन्छ
नदी हेर्दैँ जीवन पढ्न खोज्छु- पानाहरू बगी दिन्छन्

म आफैँ बग्नु थियो- नदी भएर
म आफैँ उभिनु थियो- पहाड भएर
म आफैँ बाँच्नु थियो- सालिक भएर
म आफैँ फैलनु थियो- आकाश भएर
म आफैँ उड्नु थियो- चरा भएर
म आफैँ हाँस्नु थियो- तिमी भएर
तिमी छुटेदेखि छुट्दै छुड्दै गए रहरहरू ।

तिमी छुटेदेखि-
छुटेका छन् हिँड्ने बाटोहरू
छुटेका छन् कविताहरू
छुटेका छन् जीवनका कथाहरू
छुटेका छन् बाटोभरि पैतालाहरू
छुटेका छन् कामुक आवाजहरू ।

नभत्कनु भत्किएपछि
पुनर्निर्माण गर्नै नसक्ने गरि भत्किँदो रहेछ प्रेमको सम्बन्ध ।

मनमाया !
मनमा माया नभएपनि
आऊ एक पटक हेरि देऊ
यो छुटेको अनुहार
र भनिदेऊ कि !
मतिम्रो अगाडि अझैँ कतिबर्ष बाँचु ?
उदास भएर ?
या कविता भएर ?


(रामेछाप, निवासी परियार चर्चित कवि हुन् ।)
[email protected]