मूर्छित सौभाग्य - Aksharang
  • २०७७ चैत २९ आइतबार

मूर्छित सौभाग्य

डीआर न्यौपाने ‘सूर्य’

डीआर न्यौपाने ‘सूर्य’

खै कहाँ छ
मेरा इच्छा, चाहना
र आकाङ्क्षाको कदर
खै कहाँ छ तिम्रो नैतिक जिम्मेवारीको बहन
खै कहाँ छ नितान्त अपरिहार्य
ममताको कदर
खै कहाँ छ मानसिक सन्तुष्टि
र आत्मीय महत्त्वको मनन ?

सोच्छौँ  बिहान बेलुका खान दिनुले नै
मेरो हर चीजको
आवश्यकता पूरा गरेको छ
यज्ञको सात फेरो
अनि सिन्दुरको धर्सोको आडमा
शारीरिक रसास्वादनको परिपूर्ति नै
जोईपोइको साइनो हो ?

चुल्ठो नबाँधेको छत्रे केश
चुरा नभएको नाडी
जवानीमै फुङ्ग उडेको अनुहार
प्यार खोज्दै भौँतारिएको मन
गाजल नदेखेका नयन
मुस्काउन नसकेका ओठ
पट्ट फुटेका हातगोडा
शिरफूल, क्लिप नदेखेको कपाल
तर
एक चिम्टी सिन्दुर देखेको शिर
कहिलेसम्म
तिम्रो नाममा रमाउन सक्ला ?

अग्निकै फेरो
सिन्दुरकै धर्सो
र नामकै सम्बन्धले
जीवन निर्धारण गर्छौ भने
हटाइदेऊ त्यो प्रथा
मेटाइदेऊ रङको साइनो
छुटाइदेऊ नामको नाता
म पवित्र शब्दभित्रको
अपवित्र नाता बोकी
त्यो सुन्दर आवरणभित्र
जकडिएका
प्रदूषित उत्तेजनाहरूको
प्रहार सहेर
सिन्दुरपोतेको हत्कडी लगाई
विक्षिप्त आत्मा बोकेर
कहिलेसम्म बाँचूँ  ?


(हाल दक्षिण कोरियामा कार्यरत ‘सूर्य’ चर्चित साहित्यकार हुन् ।)
neupanedr40@gmail.com